• १६ जेठ २०८२, शुक्रबार

दुई हप्तामा डेंगु सङ्क्रमण बढ्ने

blog

काठमाडौँ, जेठ १२ गते । नेपालमा पछिल्लो केही वर्षयता डेंगु सङ्क्रमण जनस्वास्थ्य समस्याका रुपमा देखा पर्दै गइरहेको छ । सन् २०१९ देखि देशका विभिन्न स्थानमा डेंगु सङ्क्रमण महामारीका रुपमा देखा पर्दै आइरहेको छ ।

मनसुन सुरु भएसँगै नेपालमा किट जन्य रोगको जोखिम बढ्ने गर्छ । यो वर्ष पनि डेंगु सङ्क्रमण अन्य वर्षको तुलनामा बढी देखिने आँकलन गरिएको छ । सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले यो वर्ष प्रिमनसुनमा नै धेरै पानी परेकाले अन्य वर्षको तुलनमा बढी डेंगु सङ्क्रमण पुष्टि हुने जानकारी दिनुभयो ।

अबको दुई हप्तामा डेंगु सङ्क्रमण बढ्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो वर्ष धेरै पानी पर्ने आँकलन गरिएकाले डेंगु सङ्क्रमण अन्य वर्षको तुलनामा बढी देखिन सक्छ । अबको दुई हप्ताबाट विस्तारै डेंगु सङ्क्रमण बढ्न सक्छ ।”

घाम लाग्ने पानी पर्ने मौसममा डेंगु गराउने लामखुट्टेले फुल पारेर बच्चा निकाल्ने अनुकूल वातावरण हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का किट रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले गत वर्षको तुलनामा हालसम्म निकै कम सङ्क्रमित पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यो वर्ष डेंगु सङ्क्रमण बढ्छ कि भन्ने अनुमान गरेको भए पनि गत वर्षको तुलनामा डेंगु सङ्क्रमितको सङ्ख्या आधाभन्दा कम पुष्टि भएको छ । उहाँ भन्नुहुन्छ, “तीन वर्षको तथ्याङ्क हेर्दा यो वर्ष अहिलेसम्म कम डेंगु सङ्क्रमण पुष्टि भएको छ । पानी पर्न थालेको १५ दिन भयो अहिलेसम्म डेंगु 'आउन ब्रेक'  भएको सुन्नमा आएको छैन ।”

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अघिल्लो वर्षको तुलनमा हाल डेंगुका बिरामी कम छन् । अस्पतालका निर्देशक डा.युवानिधी बसौलाले चैत र वैशाखमा सात जना डेंगुका बिरामी अस्पतालमा भर्ना भएर उपचार गराएको जानकारी दिनुभयो ।

इडिसिडीको तथ्याङ्क अनुसार सन् २०२५ को सुरुवातदेखि हालसम्म ७१ जिल्लाबाट एक हजार ८० मा डेंगु सङ्क्रमण पुष्टि भएको छ । गत वर्ष यो समयमा दुई हजारभन्दा बढी डेंगुका बिरामी पुष्टि भएको थियो ।

डेंगु फैलिन नदिन सरकार के गर्दै छ

डा.दाहालले पुसदेखि हालसम्मको तथ्याङ्क हेरेर डेंगु सङ्क्रमण बढ्न थालेका पालिकामा पत्राचार गरेर खोज र नष्ट गर अभियान सञ्चालन गर्नुका साथै सतर्कता अपनाउन निर्देशन दिएकोे जानकारी दिनुभयो ।

पाँच वटाभन्दा बढी डेंगुको केश देखिएका पालिकालाई पत्राचार गरेर लामखुट्टे खोज र नष्ट गर अभियान सुचारु गर्न पत्राचार गरेको डा.दाहालको भनाइ छ । उहाँका अनुसार सरकारले डेंगु नियन्त्रण गर्न चार सय २० वटा पालिकामा चालु आर्थिक वर्षमा बजेट विनियोन गरेको छ । उहाँले भन्नुभयो, “डेंगु नियन्त्रण गर्न स्थानीय तहमा आठ करोडभन्दा बढी बजेट विनियोजन गरेका छौँ । यदि यो रकमले पुगेन भने स्थानीय तहको स्रोतलाई परिचालन गर्न निर्देशन दिएको छौँ ।”

उहाँले आगामी आर्थिक वर्षका लागि डेंगु नियन्त्रण गर्न बजेट बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग पहल गरेको बताउनुभयो । तीन वर्षको तथ्याङ्क विश्लेषण गरेर बढी डेंगु पुष्टि भएका स्थानीय तहमा अनुमानित बजेट छुट्याउन काम अगाडि बढाएको उहाँको भनाइ छ ।

सङ्क्रमित उपचार हुने अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जटिल प्रकृतिका डेंगु देखियो भने कसरी उपचार र व्यवस्थापन गर्ने भन्ने विषयमा तामिल सम्पन्न गरेको उहाँको भनाइ छ ।

उहाँका अनुसार इडिसिडीले तथ्याङ्क विश्लेषणका आधारमा कुन स्थानीय तहमा डेंगु सङ्क्रमित बढी देखिएका स्थानमा नियन्त्रणका उपाय अपनाउन र सतर्कता अपनाउन स्थानीय तह र प्रदेशमा पत्राचार गर्ने काम गरिसकेको छ । उहाँले प्रदेशका सबै जिल्लामा यो वर्ष दुई लाख बजेट पठाएको जानकारी दिनुभयो ।

रोगबारेमा जनचेतना फैलाउने तथा खोज र नष्ट गर्नका लागि जिल्लासँग दैनिक रुपमा सम्पर्कमा रहेको उहाँको दाबी छ । साथै उहाँले डेंगु परीक्षण गर्ने ५० हजार डेंगु किट किनेर सातवटै प्रदेशमा पठाइसकेको र केही किट केन्द्रमा स्ट्रक राखेको जानकारी दिनुभयो ।

त्यसका अलाव इडिसिडीले डेंगु नियन्त्रण गर्न पौरवी गर्दै आएका सरोकारवाला निकाय र विज्ञसँग कसरी डेंगु नियन्त्रण गर्ने भन्ने विषयमा छलफल गर्दा योजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव आएको उहाँले जानकारी दिनुभयो । डेंगु यो वर्ष फैलन नदिन मन्त्रालयलसँग छलफल गरी योजना बनाएर अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।