• ३० वैशाख २०८१, आइतबार

मोम्चो कथा सङ्ग्रहमाथि कोहलपुरमा परिचर्चा

blog


कोहलपुर, २८ जेठ । पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको मोम्चो कथासङ्ग्रह माथि कोहलपुरमा परिचर्चा गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेले शनिबार कोहलपुरमा पुस्तकमाथि छलफल कार्यक्रम राख्दै पुस्तक परिचर्चा गरेको हो ।

प्रतिष्ठानकी उपाध्यक्ष एवम् आख्यान विभाग प्रमुख सुमित्रा न्यौपानेले सङ्ग्रहका सबै कथालाई सरसर्ती व्याख्या गर्नुभयो । बक्ररेखा शीर्षकको कथा श्रुति र सभ्य भएको बताउँदै कथामा विदेश जाने केटो भनेपछि हुरुक्क हुने हाम्रो समाजको चरित्र चित्रण गरिएको उल्लेख गर्नुभयो । 

परिचर्चा कार्यक्रममा बाँकेका विभिन्न स्रष्टाले मोम्चो पुस्तकका बारेमा टिप्पणी गर्नुभयो । पुस्तकमाथि बोल्दै अर्का टिप्पणीकार विष्णु पादुकाले मोम्चो कथासङ्ग्रहका अधिकांश कथा नारीका विषयमा केन्द्रित रहेको बताउनुभयो । पादुकाले सङ्ग्रहमा रहेका ११ वटै कथाको बारेमा संक्षेपमा टिप्पणी राख्नुभयो । 

पुस्तकमाथि बोल्दै टिप्पणीकार सागर गैरेले चितवनको सीमान्तकृत चेपाङ समुदायको भाषा, जीवनशैली, परम्परा र रहनसहनलाई मोम्चो कथामा समेटिएको उल्लेख गर्नुभयो । 

लेखक वसन्त पराजुलीले मोम्चो सीमान्तीकृत चेपाङ समुदायको धर्म,  रीतिरिवाज र परम्परामा आधारित भएर लेखिएको कथा भएकोले यी समुदायसँगसँगै आम पाठकले मन पराएको बताउनुभयो । 

परिचर्चा कार्यक्रममा अतिथिका रूपमा आमन्त्रित लेखक नरेन्द्रजंग पिटरले स्वाभिमानी चेपाङको कथा व्यथालाई किताबको रूपमा प्रकाशन गरेर लेखक पराजुलीले ठूलो गुन लगाएको बताउनुभयो । 

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो। पराजुलीको यसअघि कुमाता कथासंग्रह प्रकाशित छ। पत्रकार पराजुली गोरखापत्र दैनिकका चितवन जिल्ला संवाददाता हुन् ।