• ९ जेठ २०८२, शुक्रबार

बाढीपहिरोले धानको बेर्नामा क्षति

blog

बाढीपहिराले क्षतिग्रस्त पुर्‍याएको मार्सी धानको बेर्ना । तस्बिर : नौरते नेपाली

नौरते नेपाली
सिँजा (जुम्ला), जेठ ९ गते ।
बाढीपहिरोले जुम्ला हिमा गाउँपालिका–१ देवारगाउँका १४ जना किसानका मार्सी धानका बेर्नामा क्षति पुर्याएको छ । मङ्गलबार बेलुका अविरल वर्षापछि आएको बाढीपहिरोले खेतमा राखिएको मार्सी धानको बेर्ना (बिउ) पूर्ण रुपमा क्षति पुर्‍याएको हो ।

मार्सी धान रोपाइँको तयारीमै रहेका बेला असिनापानीपछि आएको बाढीपहिराले धानका बेर्नामा क्षति गर्दा किसनाहरु रोपाइँ नहुने चिन्तमा छन् । १४ वटा मार्सी धानका बेर्ना र पाँच वटा गौँ लगाएको बारीमा बाढीपहिरोले क्षति पुर्‍याएको वडाध्यक्ष रतन शाहीले बताउनुभयो ।

अविरल वर्षासँगै देवारगाउँको खोलामा आएको बाढीले खेतबारीसहित सिँचाइ कुलोमा समेत क्षति गरेको छ । देवारगाउँका हर्कमान सार्की, लालु शाही र गोविन्द रोकायालगायत किसानको धानका बेर्ना पूर्णरूपमा नष्ट गरेको शाहीको भनाइ छ ।

रोप्ने तयारी गरेका बेला धानका बेर्नामा बाढीपहिरोले क्षति गर्दा किसानहरु अन्य बाली लगाउने विकल्पको खोजिमा छन् । अरुले धान रोपी सकेपछि बचेको बिउको पर्खाइमा रहेको वडाध्यक्ष शाहीले बताउनुभयो । यता प्रभावित किसान हर्कमान सार्कीले यो साल धान रोप्न सकिने सम्भावना नभएको बताउनुभयो ।

अब किसान वैकल्पिक बाली लगाउने सोचमा रहेको उहाँले सुनाउनुभयो । स्थानीयका अनुसार खोलामा आएको बाढीले मार्सी धानका बेर्ना र खेतमा समेत क्षति गरेको छ । यो घटनाले देवारगाउँमा खाद्य सुरक्षामै असर पार्ने देखिएको छ ।

स्थानीय सरकार तथा सम्बन्धित निकायबाट तत्काल राहतका लागि क्षतिपूर्तिको  आशा गरेका छन् । जुम्लामा चैत १२ गते धानको बिउ भिजाउने गरिन्छ । चैत १२ गते धान भिजाउने र १६ गते उतार्ने तथा १८ देखि २० गतेको बिचमा बेर्नामा छर्ने परम्परा छ । जेठको पहिलो साताबाट रोपाइँ सुरु हुने गर्दछ । तर बाढीले बेर्ना बगाएपछि किसानहरूको मेहेनत तुसरापात भएको छ । बर्सेनि चैतको अन्त्यतिर बिउ राखी जेठ–असारमा रोपाइँ गरिँदै आएको देवारगाउँमा यस पटक धान रोपाइँ नहुने चिन्ता किसानहरूमा छाएको छ ।