• ९ जेठ २०८२, शुक्रबार

गाजामा इजरायली हमलामा १६ जनाको मृत्यु

blog

गाजा सिटी, जेठ ९ गते । गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार इजरायली आक्रमणमा १६ जनाको मृत्यु भएको बताएको छ । त्यहाँ हालैका दिनहरूमा इजरायलले आफ्नो सैन्य आक्रमण बढाएको छ ।

‘मध्यरातदेखि गाजा पट्टीका विभिन्न क्षेत्रमा इजरायली आक्रमण’ बाट कुल १६ जनाको मृत्यु भएको एजेन्सीका अधिकारी मोहम्मद अल–मुगायरले बताउनुभयो ।

अधिकारीका अनुसार मुख्यतया क्षेत्रको मध्य र दक्षिणमा आक्रमण गर्दा दर्जनौँ मानिस घाइते भएका छन् । इजरायलले दुई महिनाको युद्धविरामको अन्त्य गर्दै मार्च १८ मा गाजामा पुनः आक्रमण सुरु गरेको हो ।

बिहीबार गाजाको स्वास्थ्य मन्त्रालयले त्यसबेलादेखि यस क्षेत्रमा कम्तीमा तीन हजार छ सय १३ जनाको मृत्यु भएको र युद्धको कुल सङ्ख्या ५३ हजार सात सय ६२ पुगेको बताएको छ ।

आधिकारिक तथ्याङ्कमा आधारित एएफपी टोलीका अनुसार हमासको सन् २०२३ अक्टोबरको आक्रमणले सुरु गरेको युद्धमा इजरायलमा एक हजार दुई सय १८ जनाको मृत्यु भएको थियो । तीमध्ये अधिकांश सर्वसाधारण थिए ।

हमास लडाकूहरूले दुई सय ५१ जना बन्धकहरू पनि लिएका थिए । तीमध्ये गाजामा रहेका ५७ मध्ये ३४ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।  रासस/एएफपी