• ९ जेठ २०८२, शुक्रबार

भारतीय सेनाको टोलीद्वारा कञ्चनजङ्घा आरोहण

blog

कञ्चनजङ्घा आरोण गर्न सफल भारतीय सेनाको टोली । तस्बिर सौजन्य : आरोही ग्रुप

चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ ९ गते ।
भारतीय सेनाको आरोही टोलीले ताप्लेजुङस्थित नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आरोहण गरेको छ । भारतीय सेनाका कर्नेल रणभीरसिंह जमवाल नेतृत्वको टोलीले कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेको हो ।

काठमाडौँको ट्रान्सेन एड्भेन्चर प्रालिमार्फत गएको भारतीय सेनाको टोलीले आठ हजार ५८६ मिटर रहेको कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेको हो । ट्रेकिङ कम्पनी ट्रान्सेन एड्भेन्चर प्रालिका निर्देशक दावा शेर्पाका अनुसार शेर्पासहित नौ जनाले कञ्चनजङ्घाको सफल आरोहण गर्नुभएको छ । भारतीय सेनाको पाँच जनाको टोली एकैपटक कञ्चनजङ्घाको चुचुरोमा पुग्नुभएको निर्देशक शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतीय सेनाको आरोही टोलीसँगै अन्य चार जना शेर्पाले कञ्चनजङ्घाको आरोहण गर्नुभएको छ । कञ्चनजङ्घा आरोहण गर्नेमा भारतीय सेनाका कर्नेल जमवाल, नेहपाल सिंह, केवल क्रिसान, छेवाङ चोसगइल र सुशील कुमार रहनुभएको छ । जमवालबाहेक चारजना पनि भारतीय सेनामै कार्यरत रहनुभएको छ ।

यस्तै, डेन्सा भोटेसहित चारजना शेर्पाले पनि कञ्चनजङ्घा आरोहण गर्नुभएको उहाँले जानकारी दिनुभयो । प्रालिका अनुसार उहाँहरुले मे १८ अर्थात जेठ ४ गते बिहान ११ बजे हिमाल आरोहण अर्थात कञ्चनजङ्घाको चुचुरोमा पुग्न सफल हुनुभएको हो । भारतीय सेनाका नौ जनाको टोली कञ्चनजङ्घा हिमाल आरोहणका लागि अनुमति लिएर आउनुभएको थियो ।

यता आरोही टोलीको नेतृत्व गर्नुभएका कर्नेल जमवालले एशियाका सात देशका उच्च हिमालहरु आरोहण गरी सक्नुभएको छ । उहाँले नेपालको कञ्चनजङ्घा भने पहिलो पटक आरोहण गर्नुभएको हो । विश्वको अग्लो हिमाल सगरमाथा तीन पटक आरोहण गरी सक्नुभएको छ । उहाँले हिमाल आरोहण र ब्रह्मपुत्रको र्‍याफ्टिङमा दुई पटक विश्व रेडर्क र तीन पटक एशियन रेडर्कसमेतमा आफ्नो नाम लेखाउनुभएको बताइएको छ ।