• ९ जेठ २०८२, शुक्रबार

दुई घण्टादेखि पूर्व पश्चिम राजमार्गमा चक्काजाम

blog

सर्लाहीको रानिगन्जमा पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्दै गरेका स्थानीय। तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, जेठ ९ गते। पूर्व पश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानिगन्जका स्थानीयले दुई घण्टादेखि पूर्व पश्चिम राजमार्ग ठप्प पारिरहेका छन्। 

गएको सोमबार रानिगन्जको घिमिरे चोकमा बसले म्याजिकलाई ठक्कर दिँदा मृत्यु भएकी स्थानीय २२ वर्षीया सोना पन्तको परिवारलाई यातायात व्यवसायीले उचित राहत रकम प्रदान गर्नुपर्ने माग राख्दै स्थानीयले शुक्रबार दिउँसो पौने-२ बजेदेखि राजमार्गमा चक्काजाम गरिरहेका हुन्। चक्काजामका कारण पूर्व पश्चिम राजमार्गमा सवारी साधनको लामो जाम लागेको छ। 

प्रहरी पुगेर आन्दोलित स्थानीयलाई दुुई घण्टादेखि नै सम्झाइबुुझाई गरे पनि चक्काजाम भने खुल्न सकेको छैन्। सोमबार अपरान्ह रानिगन्जको घिमिरे चोकमा पूर्व पश्चिम राजमार्ग विस्तार गर्न डाइभर्सन बनाएको ठाउँमा यात्रु ओरालेर भाडा उठाइरहेका बेला ना. १ ज २६४५ नम्वरको म्याजिकलाई विराटनगरबाट सर्लाही सदरमुकाम मलङ्गवाका लागि छुटेको ना. ६ ख ७२२७ नम्वरको बसले ठक्कर दिँदा ओर्लन लाग्दै गरेकी युवती पन्तको मृत्यु भएको थियो। 

स्थानीय वासिन्दाले शुक्रबार पन्तको मृत्यु भएको स्थानमै भेला भएर “हामीलाई न्याय देऊ” लेखिएको ब्यानरसहित चक्काजाम गरिरहेका हुन्। मृत्यु भएको चार दिन भइसक्दा समेत पन्तको शव प्रादेशिक अस्पताल मलङ्गवामा नै रहेको छ। 

मृतकको परिवारले बस व्यवसायीसँग उचित राहत रकमको माग गर्दै पन्तको शव बुुझ्न अस्वीकार गरिरहेका छन्। दुर्घटनामा पन्तको मृत्यु र म्याजिकमा सवार अन्य नौ जना यात्रु घाइते भएका थिए।

घाइते अधिकांश डिस्चार्ज भएर घर गइसकेका छन्। प्रहरीले दुर्घटनामा परेको बस र म्याजिक तथा त्यसका चालकलाई नियन्त्रणमा लिएर कानुनी कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ।