काठमाडौँ, जेठ ९ गते। अर्थ मन्त्रालयले बजेट निर्माणलाई ध्यान दिएर मन्त्रालय प्रवेशमा कडाइ गरेको छ।
अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीका अनुसार बजेट निर्माणसम्बन्धी सबै पक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन्। अहिले बजेट तयारीको कार्य जारी रहेको उहाँको भनाइ छ।
उहाँले भन्नुभयो, “बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन्। अहिले तयारीका कार्यहरु जारी छन्। बजेट तयारीलाई व्यवस्थित र योजनबद्धरुपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौं।”
उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो।
यही जेठ १५ गते संघीय संसदको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२र ८३ को बजेट वक्तव्य प्रस्तुत गर्नुहुनेछ।