• ९ जेठ २०८२, शुक्रबार

‘मध्यपहाडी लोकमार्ग मेरै प्रस्ताव हो’

blog

बागलुङ समाचारदाता 

बागलुङ, जेठ ९ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मध्यपहाडी लोकमार्ग आफ्नै प्रस्तावमा बनेको दाबी गर्नुभएको छ । माओवादी केन्द्रकोे मध्यपहाडी लोकमार्ग जागरण कार्यक्रम अन्तर्गत बिहीबार बागलुङको ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै दाहालले भन्नुभयो, “म पहिलो पटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गको प्रस्ताव गरेर महत्वपूर्ण कार्यको थालनी गरेको हुँ । मध्यपहाडमा बस्ने मजदुर किसान, उत्पीडित वर्ग र समुदायका निम्ति जीवनरेखा बन्न सक्ने निष्कर्षसहित २०६५ सालको मन्त्रीपरिषद्बाट मेरै प्रस्तावमा मध्यपहाडी लोकमार्गको काम अघि बढेको हो ।” 

पूर्वदेखि पश्चिमका जातजाति, भाषाभाषी र समुदायबिच सांस्कृतिक अन्तरसंवाद बढाएर राष्ट्रिय एकतालाई सुदृढ गर्दै मध्यपहाडका जनताको आर्थिक जीवनमा नयाँ गति र भरोसा पैदा गर्ने विश्वासका साथ मध्यपहाडी लोकमार्गको प्रस्ताव गरेको अध्यक्ष दाहालले जिकिर गर्नुभयो । 

लोकमार्ग उत्तर–दक्षिण जोड्ने कोरिडोर बनाएर नेपालाई एकीकृत र केन्द्रीकृत राष्ट्रका रूपमा विकास गर्नु पर्छ भन्ने मान्यताबाट प्रस्ताव गरिएको प्रचण्डको भनाइ थियो ।   पूर्वी रुकुमको कार्यक्रम सकेर बिहीबार बागलुङ प्रवेश गर्नुभएका दाहाललाई बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमानामा पर्ने पातिहाल्नेमा नेता कार्यकर्ताले स्वागत गरेका थिए । माओवादी पार्टी बलियो शक्ति बने मात्र देश बलियो बन्ने चर्चा गर्दै अध्यक्ष दाहालले वर्तमान सरकारप्रति जनताको विश्वास घटेको दाबी गर्नुभयो । 

सरकारका गलत क्रियाकलापको चिरफार गर्न मध्यपहाडी लोकमार्ग जागरण अभियान चलेको उहाँको भनाइ थियो । आफूहरू जनतामाझ आएको र उनीहरूका पीरमर्का बुझेर सम्बोधन गरिने दाहालले आश्वासन बाँड्नुभयो । राष्ट्रिय एकतालाई सुदृढीकरण गर्न आवश्यक रहेको औँल्याउँदै उहाँले भन्नुभयो, “निराश जनतालाई जागरण अभियानले जोड्ने काम गरेको छ ।”