मुगु समाचारदाता
मुगु, जेठ ९ गते । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीलाई मुगुका राजनीतिक दलले चारबुँदे ज्ञापनपत्र बुझाएका छन् । बिहीबार मुगु जिल्लाको सदरमुकाम गमगढीमा जिल्लाका राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (माले), नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (समाजवादी) ले समग्र जिल्लाको विकासका लागि संरचनागत समस्या सम्बोधन गर्न मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।
दलहरूले नाकच्यालाग्ना सडक निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न र चीन सरकारसँग नाका खोल्न पहल गरिदिन ज्ञापनपत्रमार्फत माग गरेका छन् । यस्तै रारा पर्यटन विकास प्राधिकरण गठन गर्नुपर्ने, गमगढी भुलभुले सडक कालोपत्रे गर्नलाई बजेट विनियोजन गर्न पहल गरिदिन, जुम्लामा रहेका सङ्घीय कार्यालय मुगुमा स्थापना गर्न पहल गरिदिन एमालेका महासचिव ज्ञवालीलाई ज्ञापनपत्र बुझाएको नेकपा (एमाले) का जिल्ला अध्यक्ष पूर्णबहादुर रोकायाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मुगुमा पर्यटन, जडीबुटी तथा अन्य विकास पूर्वाधारको सम्भावना भए पनि यो जिल्ला पछाडि परेको छ ।” उहाँले जिल्लाका राजनीतिक दलका पदाधिकारीले दिएको संयुक्त ज्ञापनपत्रलाई केन्द्रीय सरकारसँग समन्वय गरी उक्त ज्ञापनपत्रलाई सम्बोधन हुने गरी कार्यन्वयन गर्ने प्रतिबद्धता गरेको उहाँले बताउनुभयो ।
केन्द्रीय सरकारले पहुँचका भरमा योजना दिने भएकाले दुर्गमको हिमाली जिल्ला मुगुलाई राज्य कोषबाट नै उपेक्षित गरिएको स्थानीय तिलक मल्लले जानकारी दिनुभयो । सरकारले मुगाली जनतालाई पूर्वाग्राहीपूर्ण व्यवहार गर्दा यहाँका प्रसिद्ध धार्मिकस्थल छायानाथ धाम, ऋणमोक्ष तीर्थ, तामाखानी, रारा ताल, कोइकी हिमाल जस्ता पर्यटकीय स्थल ओझेलमा परेको उहाँले बताउनुभयो ।