चित्र मिजार
सिन्धुपाल्चोक, जेठ ९ गते । विसं २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका निरन्तरका परकम्पका कारण पूर्ण रूपमा ध्वस्त बनेका सिन्धुपाल्चोकका सयौँ गुम्बाको पुनर्निर्माण भइरहेको छ । तीमध्ये दर्जनौँ गुम्बाको पुनर्निर्माण भइसकेको छ । भारतलगायतका देशको आर्थिक सहयोगमा ऐतिहासिक गुम्बाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको हो ।
हेलम्बु गाउँपालिकाका भूकम्पले पूर्ण रूपमा ध्वस्त भएका पाँच सय वर्ष पुराना ऐतिहासिक गुम्बा पुनर्निर्माण पूरा हुने चरणमा रहेका हुन् । भारत सरकारको आर्थिक सहयोग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राष्ट्रियस्तरको भवन निर्माण एकाइले पाँच वर्षअघि ठेक्का आह्वान गरेर ऐतिहासिक गुम्बाहरूको पुनर्निर्माण थालेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
भारत सरकारले प्रत्येक गुम्बालाई १० करोड रुपियाँभन्दा बढी सहयोग गरेको छ । नेपाल सरकारले ठेक्का आह्वान गर्दा रकम घटाएर टेन्डर गरेको थियो । चिरी गुम्बा पुनर्निर्माणका लागि छ करोड ४५ लाख, सेर्माथाङ गुम्बाका लागि पाँच करोड ५० लाख, तार्केघ्याङ गुम्बाका लागि सात करोड रुपियाँमा ठेक्का सम्झौता गरिएको थियो । उक्त गुम्बाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । ज्यादै पुराना गुम्बामध्ये चिरी गुम्बामा गजुर राख्ने, गुम्बाभित्र मूर्ति प्रतिस्थापन गर्ने, पेन्टिङ र विभिन्न कलाकृतिको काम सम्पन्न भइसकेको उक्त गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सितार लामाले बताउनुभयो । सो गुम्बामा १५८ घरपरिवारले नियमित पूजा गर्ने गरेका छन् ।
भोटेकोशी गाउँपालिका–१, लिस्तीकोटमा रहेको चार सय वर्ष पुरानो ज्याङ्तेर लिस्ती पावो गुम्बा भारतीय सरकारको नौ करोड ८३ लाख रुपियाँमा पुनर्निर्माण भइरहेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सीमागाउँस्थित सो गुम्बासहित छगाममा विसं १९६० मा स्थापित आनी गुम्बा पनि छ । यस गुम्बामा १२० जना तिब्बती शरणार्थी बस्दै आएका छन् । भूकम्पपछि हेलम्बु, पाँचपोखरी थाङ्पाल, इन्द्रावती गाउँपालिकामा गुम्बा पुनर्निर्माणले गति लिएको छ । सहरी विकास तथा भवन आयोजनाको केन्द्रीय एकाइले जिल्लाभर सात वटा गुम्बा पुनर्निर्माण गरिरहेको छ । गुम्बैगुम्बाको सहरका रूपमा परिचित हेलम्बुमा शताब्दीऔँ पुराना गुम्बा र सांस्कृतिक महŒव बोकेका सम्पदामध्ये केही अन्तिम चरणमा भए पनि अझै धेरै गुम्बा अलपत्र रहेको ह्योल्मो सांस्कृतिक अनुसन्धादाता टासिदोङ्बा ह्योल्मोले बताउनुभयो । भूकम्प गएको साढे छ वर्षसम्म पनि ७५ प्रतिशत गुम्बा त्रिपाल र टेकोकै भरमा थिए ।
बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिको तथ्याङ्कमा भूकम्पले जिल्लाका २५२ गुम्बामध्ये २०५ वटा क्षतिग्रस्त भएका थिए । भारत सरकारको सहयोगमा सात वटा र अन्य केही स्थानीय आफैँले ऋणधन र चन्दा सङ्कलन गरेर ठड्याउँदै छन् । बाँकी गुम्बा पुनर्निर्माण अभावमा भग्नावशेषमा परिणत भएका छन् । यसअघि समुद्री सतहबाट तीन हजार ७७० मिटरको उचाइमा रहेको प्रसिद्ध हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमा क्षेत्रका तीर्थस्थल आयाङ्ग्री गुम्बा तार्केघ्याङकी स्थानीय पेमा लामा ह्योल्मो परिवारको अगुवाइमा तार्केघ्याङवासी र अन्य ह्योल्मो समुदायको सहयोगमा ठड्याइएको थियो ।