शालिग्राम नेपाल
चितवन, जेठ ९ गते । नारायणी नदीमा नयाँ बन्ने ‘सिग्नेचर’ पुलको अन्तिम डिजाइन तयार पारी चिनियाँ विज्ञ टोलीले पुल महाशाखामा बुझाएको छ ।
एक वर्षअगाडि पुल निर्माणका लागि शिलान्यास भए पनि पहिले तयार पारिएको डिजाइन पुल महाशाखाले अस्वीकार गरेपछि निर्माण कम्पनीले चीनको विश्वविद्यालयका प्राध्यापकको नेतृत्वलाई डिजाइन गर्न दिएको थियो । पुल महाशाखा प्रमुख ललिजन खनालले भन्नुभयो, “ठेकेदारले भारतीय कम्पनीबाट डिजाइन गराएका थिए । त्यसलाई कार्यालयले अस्वीकार गरेपछि चिनियाँ विज्ञद्वारा पुलको डिजाइन गरेर ल्याइएको हो ।” “हाल पेस गरिएको डिजाइन उपयुक्त हुने देखिएको छ,” खनालले भन्नुभयो, “हामी अध्ययन गर्दै छौँ, केही समयपछि यसलाई स्वीकार गरेर निर्माण प्रव्रिmया अगाडि बढाउन निर्देशन दिने तयारी छ ।”
चीनको प्रतिष्ठित सरकारी विश्वविद्यालयका एक प्रोफेसरले पुलको डिजाइन गर्नुभएको हो । पेस गरिएको डिजाइन अध्ययनको अन्तिम अवस्थामा पुगेको छ । पुल महाशाखा प्रमुख खनालले भन्नुभयो, “पुलको डिजाइन पास भए पनि बर्सातपछि मात्र निर्माणको काम अगाडि बढ्ने छ ।” असोजबाट पुल निर्माणको काम अगाडि बढ्ने गरी कार्यालयले तयारी गरेको जानकारी उहाँले दिनुभयो ।
“ठेकेदारले पहिले भारतीय कम्पनीबाट डिजाइन गराएर ल्याएको थियो । त्यो डिजाइन उपयुक्त लागेन,” प्रमुख खनालले भन्नुभयो । डिजाइनमै समय खर्चिएपछि निर्माणको काम ढिला भएको हो । ठेक्का लागेको दुई वर्ष भइसकेको छ । एक वर्षअगाडि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिलान्यास गर्नुभएको थियो । चितवन र पूर्वी नवलपरासी जोड्ने नारायणी नदीमाथिको ‘सिग्नेचर’ पुल निर्माणको काम सुरु भएको छैन ।
‘डिजाइन एन्ड बिल्ड’ का आधारमा बन्ने यो पुलको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले मूल्य अभिवृद्धि करसहित एक अर्ब ६८ करोड ७६ लाख २३ हजार ३५४ रुपियाँमा पाएको छ । चार वर्षभित्र निर्माण सक्ने गरी पुल निर्माणका लागि सो कम्पनीसँग २०८० जेठ १९ गते सम्झौता भएको थियो । पहिलो वर्ष डिजाइनमा काम गर्ने र बाँकी अवधि तीन वर्षमा पुल निर्माणको काम सक्ने सम्झौतामा उल्लेख छ । हाल चालु अवस्थामा रहेको नारायणी नदीको पुल २०३७ सालमा निर्माण भएको हो । यसअगाडि नारायणी नदीमा फेरीको सहायताले यातायातका साधन वारपार गराइने गरिएको थियो । पुरानो पुल जीर्ण बन्दै गएपछि नयाँ निर्माणको प्रक्रिया अगाडि बढेको हो ।
नारायणगढदेखि बुटवलसम्म चार लेनको सडक विस्तार भएपछि अर्को पुल निर्माण गर्नुपर्ने बाध्यता छ । नारायणगढबाट पूर्व गोन्द्राङसम्म छ लेनको सडक निर्माण पूरा भएर चालु अवस्थामा आइसकेको छ । नदीमा नयाँ पुल बने पनि पुरानो पुल भने कायमै रहने छ । नयाँ बन्ने ‘सिग्नेचर’ पुल साढे सात मिटर फराकिलो हुने छ । त्यसमा दुई लेन र साढे तीन मिटरको फुटपाथ हुने छ । लम्बाइ भने अहिलेकै पुलको जत्तिकै ४२० मिटर हुने छ । ‘सिग्नेचर’ पुल भएको हुनाले दुई छेउमा मुख्य आकर्षक दुई पिल्लर रहने छन् । दुई पिल्लरबिच २१० मिटरको दूरी हुने छ । जम्मा चार वटा पिल्लर रहने पुलको तलबाट डुङ्गा, जेटबोट आवतजावत गर्न मिल्ने गरी डिजाइन गरिएको छ ।