• २३ असार २०८२, सोमबार

आठराई त्रिवेणीका पूर्वाधारमा प्रगति

blog

आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमु।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ७ गते। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमुले आफ्नो कार्यकालको तीन वर्षे अवधिमा पूर्वाधार विकासको काममा उल्लेख्य प्रगति भएको उल्लेख गर्नुभएको छ। तीन वर्षे कार्यअवधिमा गरेको प्रमुख उपलब्धि सार्वजनिक गर्दै अध्यक्ष पोमुले सबैभन्दा बढी पूर्वाधार विकासको काममा प्रगति भएको उल्लेख गर्नुभएको हो।

स्थानीय तहको निर्वाचनमार्फत आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको तीन वर्ष पूरा भएको अवसरमा मङ्गलबार पोमुले यस अवधिमा गरेका प्रमुख उपलब्धीहरू सार्वजनिक गर्नुभएको हो। पोमुले सार्वजनिक गर्नभएको उपलब्धिमा सबैभन्दा बढी पूर्वाधार विकासका काममा प्रगति भएको उल्लेख गर्नुभएको छ। 

पूर्वाधार विकासतर्फ तीन वर्षको अवधिमा करिव ६५ किलोमिटर सडकको स्तरोन्नति तथा मर्ममको काम भएको छ। पालिका कार्यालय आसपासका बाटो (सडक) कालोपत्रे गर्ने अन्तिम चरणमा पुगेको छ। ताप्लेजुङ जिल्लाबाट सुनसरी धरानसम्म जाने वैकल्पिक मार्गका रूपमा गोर्जा-सुर्के-सेलेले-भुजे गुफा सडकको ट्रयाक निर्माण सम्पन्न भएको छ।

वडा नम्बर १ निघुरादिनको लिम्बूनी पुलदेखि चोकपुर हुँदै सदरमुकाम फुङ्लिङ जोड्ने सडक निर्माणको काम सुरु भएको छ। यस्तै गाउँपालिकाको प्रशासकीय भवन सुरु गरी निर्माणको काम अन्तिम चरणमा पुगेको अध्यक्ष पोमुले उपलब्धीका रूपमा उल्लेख गर्नुभएको छ। पालिकास्तरीय बहुउद्देश्यीय कभर्डहल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ।

निघुरादिनमा सामुदायिक भवन निर्माण सम्पन्न गरी सञ्चालनमा आएको छ। त्यस्तै एक वडा एक खेलमैदान विस्तार योजनाअन्तर्गत हालसम्म वडा नम्बर १ निघुरादिनस्थित जनकल्याण आधारभूत विद्यालयको खेलमैदान र वडा नम्बर २ फूलबारीको महभिर खेलमैदान निर्माण सुरु भई अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकासतर्फ नै एक वडा एक बर्थिङ सेन्टर (प्रसूति केन्द्र) स्थापना गर्ने योजनाअन्तर्गत  वडा १ निघुरादिन, वडा ३ हाङ्पाङ र वडा ४ चाँगेमा संरचना निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ।

बर्थिङ सेन्टर स्थापनाका लागि बाँकी रहेका वडाहरूमा पनि संरचना निर्माणको काम भइरहेको अध्यक्ष पोमुले उल्लेख गर्नुभएको छ। उहाँका अनुसार १० शøयाको अस्पताल निर्माणको काम तीब्र गतिमा भइरहेको छ भने हाङ्पाङ र चाँगे जोड्ने सोबुवाखोलाको पक्की पुल निर्माणको काम पनि धमाधम भइरहेको छ।

स्वास्थ्य क्षेत्रतर्फ गर्भवती तथा सुत्केरी महिलाका लागि एम्बुलेन्स सेवा निःशुल्क रहेको छ। हालसम्म अर्थात तीन वर्षको अवधिमा ७० वर्ष माथिका ३२१ जना ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा उपहार तथा ५९ जनालाई दन्त उपहार प्रदान गरिएको छ। त्यस्तै ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिँदै आएको छ। विपन्न परिवारलाई औषधी सहायता उपलब्ध गराइएको छ भने रेविजविरुद्धको खोप वडा १ र वडा ३ बाट उपलब्ध गराउन सुरु गरिएको छ।

शिक्षातर्फ सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको निःशुल्क शिक्षा कार्यान्वयनमा रहेको छ। सामुदायिक विद्यालयको गुणस्तर सुधार तथा वृद्धि गर्न आम शिक्षा भेला, गोष्ठी र अन्तर्क्रियाहरू सञ्चालन गरिएका छन्। पालिकास्तरीय नमुना विद्यालय छनोट गरी सञ्चालनमा ल्याइएको छ भने शिक्षकलाई विगत दुई वर्षयता मासिक रूपमा तलबभत्ता उपलब्ध गराइँदै आएको छ।

यस्तै कृषि वातावरणतर्फ एक घर एक धारा अभियान सुरु भएको छ। प्रत्येक वडामा कृषि पाठशाला सुरुवात गरिएको छ। कृषक समूहलाई मल, उन्नत जातको बिउबिजन वितरण भइरहेको छ भने कृषकको प्रोत्साहनस्वरूप अनुदान रकमहरू उपलब्ध गराइँदै आएको छ। सुशासन, पारदर्शिता तथा डिजिटल सेवातर्फ पालिकाभित्रका सबै सरकारी कार्यालय र विद्यालयहरूमा फाइबर नेट जडानको काम अन्तिम चरणमा पुगेको छ।

नागरिकता, जन्मदर्ता सिफारिस अनलाइनमार्फत सुरु गरिएको छ। सुरक्षा व्यवस्था बावजुद बनाउन प्रत्येक सरकारी कार्यालय र विद्यालयहरूमा सिसी क्यामरा जडानको काम अन्तिम चरणमा पुगको छ। विद्युत् सेवा विस्तारतर्फ गाउँपालिका भरिका सबै उपभोक्तालाई निःशुल्क विद्युत् सेवा उपलब्ध गराउँदै आएको पनि तीन वर्षे कार्य अवधिको उपलब्धीका रूपमा अध्यक्ष पोमुले उल्लेख गर्नुभएको छ। 

उहाँले आफ्नो कार्यकालको तीन वर्षे अवधिमा भएका उपलब्धि र प्रगति पालिकाभित्रका जनताको विश्वास, कर्मचारीको समर्पण र जनप्रतिनिधिहरूको सक्रिय सहकार्यमा सम्भव भएको पनि उल्लेख गर्नुभएको छ। कार्यकालको बाँकी रहेको दुई वर्षमा पनि अझ प्रभावकारी सेवा, समावेशी विकास र समृद्ध गाउँपालिका निर्माण गर्ने कार्यका लागि अध्यक्ष पोमुले प्रतिबद्धता जनाउनुभएको छ। २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा पोमु नेकपा (एमाले)का तर्फबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो।