रमेश विश्वकर्मा
गुल्मी, जेठ ७ गते । गुल्मीका स्थानीय तहको बेरुजु १५ करोडभन्दा बढी देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार यस जिल्लाका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहमा आर्थिक वर्ष २०८०/०८१ मा १५ करोड ७४ लाख ६४ हजार रुपियाँ बेरुजुु देखिएको हो । यस जिल्लाका स्थानीय तहबाट १५ अर्ब २१ करोड ४५ लाख छ हजार रुपियाँको लेखापरीक्षण भएको हो । आर्थिक वर्ष २०७९–०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा बेरुजुको सामान्य सुधार भएको पाइएको छ । यस जिल्लाका स्थानीय तहमा आर्थिक वर्ष २०७९/०८० मा २९ करोड २३ लाख ६० हजार रुपियाँ बेरुजु देखिएको थियो ।
विगतमा यहाँका स्थानीय तहको बेरुजुको अवस्था डरलाग्दो रहे पनि पछिल्ला वर्षहरूमा केही कम हुँदै गएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा यस जिल्लाको मुसिकोट नगरपालिकामा एक अर्ब ४९ करोड ५६ लाख ६८ हजार रुपियाँको लेखापरीक्षण गरिएकोमा एक करोड ७० लाख रुपियाँ बेरुजु देखिएको छ । जसमा १.१४ प्रतिशत बेरुजु देखिएको पाइन्छ । रेसुङ्गा नगरपालिकामा एक अर्ब ४७ करोड ४६ लाख ७८ हजार रुपियाँको लेखापरीक्षण गरिएकोमा दुई करोड ६८ लाख १६ हजार रुपियाँ बेरुजु देखिएको छ । जसमा १.८२ प्रतिशत बेरुजु देखिएको हो ।
इस्मा गाउँपालिकामा एक अर्ब आठ करोड ४९ लाख ८२ हजार रुपियाँको लेखापरीक्षण गरिएकोमा एक करोड २५ लाख ८९ हजार बेरुजु देखिएको पाइन्छ । जसमा १.१६ प्रतिशत बेरुजु देखिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । कालीगण्डकी गाउँपालिकामा एक अर्ब १८ करोड ४० लाख ८२ हजार रुपियाँको लेखापरीक्षण गरिएकोमा ९४ लाख ६३ हजार बेरुजु देखिएको छ । जसमा ०.८० प्रतिशत बेरुजु भएको पाइन्छ । गुल्मीदरबार गाउँपालिकामा एक अर्ब १२ करोड ३६ लाख ९७ हजार रुपियाँको लेखापरीक्षण गरिएकोमा दुई करोड ४३ लाख २६ हजार रुपियाँ बेरुजु देखिएको छ । जसमा २.१६ प्रतिशत बेरुजु भएको देखिन्छ ।
चन्द्रकोट गाउँपालिकामा एक अर्ब १६ करोड ९८ लाख ४५ हजार रुपियाँको लेखापरीक्षण गरिएकोमा दुई करोड २७ लाख ७७ हजार रुपियाँ बेरुजु देखिएको छ । जसमा १.९५ प्रतिशत बेरुजु भएको हो । छत्रकोट गाउँपालिकामा एक अर्ब २७ करोड ५२ लाख ५६ हजार रुपियाँको लेखापरीक्षण गरिएकोमा एक करोड ७१ हजार रुपियाँ बेरुजु देखिएको छ । जसमा ०.७९ प्रतिशत बेरुजु भएको पाइन्छ । धुर्कोट गाउँपालिकामा एक अर्ब ३५ करोड २२ लाख २० रुपियाँको लेखापरीक्षण गरिएकोमा ५० लाख ३५ हजार रुपियाँ बेरुजु भएको छ । जसमा ०.३७ प्रतिशत बेरुजु भएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । मदाने गाउँपालिकामा एक अर्ब २० करोड ७२ लाख १७ हजार रुपियाँको लेखापरीक्षण गरिएकोमा ८१ लाख १४ हजार रुपियाँ बेरुजु आएको देखिएको छ । जसमा ०.६७ प्रतिशत बेरुजु रहेको पाइन्छ । मालिका गाउँपालिकामा एक अर्ब २३ करोड २० लाख ४६ हजार रुपियाँको लेखापरीक्षण गरिएकोमा ३१ लाख १६ हजार रुपियाँ बेरुजु देखिएको छ ।
जसमा ०.२५ प्रतिशत बेरुजु भएको पाइन्छ । रुरुक्षेत्र गाउँपालिकामा एक अर्ब सात करोड २३ लाख २६ हजार रुपियाँको लेखापरीक्षण गरिएकोमा ७५ लाख १७ हजार रुपियाँ बेरुजु भएको छ । जसमा ०.७० प्रतिशत बेरुजु भएको देखिएको छ । सत्यवती गाउँपालिकामा एक अर्ब ३४ करोड ९४ लाख ३९ हजार रुपियाँको लेखापरीक्षण गरिएकोमा एक करोड छ लाख ४० हजार रुपियाँ बेरुजु भएको छ । जसमा ०.७९ प्रतिशत बेरुजु भएको महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आर्थिक प्रशासनलाई जबाफदेही र पारदर्शिताको माध्यमबाट आर्थिक प्रशासनमा सुशासन कायम गर्न लेखापरीक्षणको क्रममा देखिएको त्रुटि वा अनियमितता बेरुजु भएको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो । उहाँले बेरुजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेश्की बाँकी बेरुजुको रूपमा वर्गीकरण गरिएको बताउनुभयो ।
सार्वजनिक निकायमा उल्लेख भएको बेरुजुलाई फछ्र्यौट गरी आर्थिक अनुशासन कायम गर्नु सार्वजनिक निकायको दायित्व रहेको बताउनुभयो । उपलब्ध स्रोत र साधनलाई नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यताका आधारमा प्रयोग गर्न जरुरी छ ।
बेरुजु बढी हुनु सुशासन र वित्तीय अनुशासनका दृष्टिले नराम्रो भएको भन्दै खर्च गर्ने विधि र नियमको पालना नगर्ने, पेश्की फछ्र्यौट नगर्ने कागजात नमिलाई आफूखुसी खर्च गर्ने, खर्च गर्न नमिल्ने ठाउँमा खर्च गर्ने र सरकारी रकमको दुरुपयोग गरी गरिएको खर्च र भुक्तानीले पनि बेरुजु बढ्न सक्ने भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताउनुभयो । खर्च गरिने सबै प्रणालीमा सुधार गर्न जरुरी रहेको भन्दै उहाँले जिल्लाका १२ पालिकामध्ये सात पालिकाको बेरुजु एक प्रतिशतभन्दा कम हुनु राम्रो पक्ष भएता पनि प्रत्येक वर्ष जिल्लामा करोडौं बेरुजु थपिँदै जानु तर बेरुजु फस्र्यौट र नियमित गर्नेतर्फ सम्बन्धित तह जिम्मेवार नहुनु दुःखद पक्ष भएको बताउनुभयो ।