काठमाडौँ, जेठ ७ गते । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योग धन्दाहरूमा पर्याप्त विद्युत् दिएको दाबी गर्नुभएको छ । बुधबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्नुहुँदै मन्त्री खड्काले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले यो हिउँदमा पर्याप्त विद्युत् दिन नसकेको र मङ्गलबार रातिबाट उद्योगधन्दालाई पुग्नेगरी विद्युत् दिइएको बताउनुभयो । उहाँले त्यसबाट बाँकी रहेको करिब डेढ सय मेगावाट विद्युत् निर्यात सुरु गरिएको जानकारी दिनुभयो । उहाँले सांसदहरूलाई यथार्थमा रहेको सूचना प्रचार प्रसार गर्न पनि आग्रह गर्नुभयो । सत्य सूचनाले मात्रै जनता लाभान्वित हुने उहाँको भनाइ छ । सामाजिक सञ्जालको दुरुपयोग गर्न नहुनेतर्फ पनि सचेत गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘हामीले उद्योगधन्दामा यो हिउँदमा पर्याप्त विद्युत् दिन सकिरहेको थिएन । आज रातिबाट उहाँहरूलाई पुग्नेगरी दिएर त्यसबाट पनि उब्रिएको भण्डै डेढ सय मेगावाट अहिले पनि निर्यात भइरहेको छ । यो अवस्था छ । यथार्थपरक रहेर संप्रेषण गर्न सकियो भने जनता लाभान्वित हुन्छन् । सोसल मिडियाको दुरुपयोग पनि भइरहेको छ ।’’
मन्त्री खड्काले विद्युतको बजार सुनिश्चित भएको बताउनुभयो । उहाँले आन्तरिक खपत पनि अबका १० वर्षमा साढे १३ हजार मेगावाट हुने अनुमान रहेको बताउनुभयो ।
यसैगरी, मन्त्री खड्काले लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हल्ला मात्रै भएको बताउनुभएको छ । उहाँले बजारमा आएका हल्लाहरू सस्तो लोकप्रियताका लागि आएका बताउनुभयो । उहाँले मर्मत सम्भारका लागि बाहेक अन्य कुनै पनि बहानामा लोडसेडिङ नहुने जानकारी दिनुभयो ।
उहाँले बेला बखत विद्युत् विच्छेद हुने अवस्था आजमात्रै नभई यसअघिको वर्षहरूमा पनि भएको बताउनुभयो । उहाँले गत वर्षमा पनि वर्षमा सात सय घण्टासम्म यसरी विभिन्न पटक विद्युत् गएको दाबी गर्नुभयो । कहिले हावाहुरी, कहिले ठुला ठुला पोल ढलेका कारण, कहिले मान्छेकै कारण पनि विद्युत् आपूर्तिमा समस्या भएको उल्लेख गर्नुभयो । मर्मत गरेको बेलामा विच्छेद हुने बाहेक लोडसेडिङको अवस्था नरहेको र आगामी वर्षहरूमा झनै नहुने दाबी गर्नुभयो ।
मन्त्री खड्काले भन्नुभयो, ‘बजारमा केही चर्चा भएको छ । हामीले यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत आयात गर्यौँ । आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको विद्युत बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ । अस्तिको दिनसम्म पनि हामी साढे ३ सय मेगावाट विद्युत् आयात गरिरहेका थियौँ । तर आजको रेकर्डअनुसार १ सय ५० मेगावाट निर्यात गरेका छौँ । हामीलाई विद्युत् पुगेर, उब्रिएर, निर्यात गरेका छौं । लोडसेडिङको हल्ला यो सामाजिक सञ्जालको हल्ला मात्रै हो ।’’ मन्त्री खड्काले मुलुकको भविष्य विद्युत् क्षेत्रमा रहेको बताउनुभयो ।