• २५ जेठ २०८२, आइतबार

हावाहुरीले ३३ केभीको विद्युत टावर ढल्दा बाँकेमा विद्युत अवरुद्ध

blog

कोहलपुर–नेपालगन्ज प्रसारण लाइनअन्तर्गतको ३३ केभीको ढलेको टावर । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, जेठ ७ गते ।
बुधबार बिहान आएको हावाहुरी र वर्षाले कोहलपुर–नेपालगन्ज ३३ केभी प्रसारण लाइनको विद्युत पोल र टावरमा क्षति पुर्‍याएकाले बाँकेका विभिन्न स्थानको विद्युत सेवा अवरुद्ध भएको छ ।

३३ केभीको टावर ढलेपछि कोहलपुर–नेपालगन्ज प्रसारण लाइन अवरुद्ध हुँदा जिल्लाको विद्युत् सेवा पूर्ण रूपमा ठप्प भएकोमा मर्मत सम्भार गरी अधिकांश स्थानमा विद्युत सुचारु गरिए पनि केही ठाउँमा अझै अवरुद्ध रहेको विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले अनुसार विद्युत अवरुद्ध भएको केही घण्टामै तीव्र गतिमा काम गरेर खजुरा र ग्रामीण फिडर बाहेक अन्य क्षेत्रमा लाइन सुचारु गरिएको बताउनुभयो ।

प्रमुख लामिछानेका अनुसार क्षतिग्रस्त टावर मर्मतका लागि प्राविधिक टोली खटिएको छ । “३३ केभीको टावर ढलेको छ, त्यसको मर्मत कार्य तीव्र गतिमा भइरहेको छ,” उहाँले भन्नुभयो, “छिट्टै लाइन पुनः सुचारु हुने छ ।”

नेपालगन्ज नो–लाइट मर्मत शाखाका इन्चार्ज विष्णु खत्रीले हावाहुरीले गर्दा धेरै ठाउँको पोलहरुमा क्षति भएकाले फल्ट खोज्ने कार्य र मर्मत सम्भार दुबै एकै साथ चलिरहेको बताउनुभयो ।

उहाँले हावाहुरीले विद्युत टावरमा समेत क्षति पुर्‍याएकाले मर्मत सम्भारमा समय लाग्ने देखिएको जनाउँदै प्राविधिकहरुले सकेसम्म चाँडो सेवा पुनः सञ्चालन गर्ने गरी काम गरिरहेको बताउनुभयो ।

उता, हावाहुरीका कारण रत्न राजमार्गअन्तर्गत बाँकेको चिसापानीमा सडकमै रुख ढलेकाले नेपालगन्ज–सुर्खेत सडक खण्डमा चल्ने यातायात अवरुद्ध भएकाले रुख हटाउने कार्य गरिएपछि यातायात सुचारु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले हावाहुरीले बिद्युत पोलहरुमा क्षति पुरयाउनुका साथै केही ठाउम रुखहरु ढालेको तथा केही घरहरुमा पनि क्षति पुरयाएको जानकारी आएकोले बिबरण संकलन गर्ने कार्य भइरहेको बताउनुभयो ।