• ७ मंसिर २०८१, शुक्रबार

सम्पदा संरक्षण सामाजिक दायित्व

blog

हरेक मुलुकको आफ्नै मौलिक सभ्यता, संस्कृति र संस्कार हुन्छ । सभ्यता, संस्कृति, सम्पदा र इतिहास नै त्यो मुलुकको परिचय र राष्ट्रिय गौरवको विषय पनि हो । विश्वका अति प्राचीन मुलुकमा पर्ने नेपालको आफ्नै विशेषता छ । नेपालको भौगोलिक वनावट, धर्म, संस्कृति, परम्परा, इतिहास र पौराणिक कालसम्म जोडिएको चर्चा र परिचयले हाम्रो सभ्यता स्रोतको गहिराइ अनुमान गर्न सकिन्छ ।

यहाँका हरेक ढुङ्गामा देवताको बास छ, प्रत्येक नदीमा धर्मको सुगन्ध छ । यहाँका प्रत्येक डाँडा थुम्कामा आस्थाको प्रतीक छ । नेपालको सभ्यता यिनै नदी, पहाड र थुम्काबाट जोडिएर आधुनिक कालसम्म आइपुगेको छ । हाम्रो सभ्यतालाई चुनौती दिनसक्ने हैसियत कसैमा छैन तर हामीले हाम्रो सभ्यताको धरोहर सम्पदा संरक्षणमा पटक्कै चासो दिएका छैनौँ । 

मानव सभ्यता नदी र पहाडको सङ्गमबाट भएको मानिन्छ । इतिहासमा वर्णन गरिएका विश्वका ठूला सभ्यताले यसै भन्छ । नेपालको सभ्यताको सुरुवात कहाँबाट भयो त ? हाम्रो सभ्यता कसैले स्थापित गरिदिएको हैन । हाम्रो सभ्यता सृष्टिसँगै सुरु भएको पूर्वीय दर्शनका ज्ञाताहरूको दाबी छ । यसलाई पुष्टि गर्ने अनेक आधार हामीसँग छ । समस्या यसको खोजी र थप अनुसन्धान नहुनु हो । महाभारतकालसम्म सजिलै जोडिएको आधुनिक नेपालको इतिहास गर्वलायक पक्ष हो । त्यस्तै विभिन्न शास्त्रमा नेपाललाई ज्ञानभूमिका रूपमा वर्णन गरिएको छ । ऋषि–महर्षिले तप गर्ने थलो नेपाल नै थियो भनिन्छ । 

यसर्थ पनि नेपाल सम्पदा, सभ्यता र संस्कृतिले भरिएको मुलुक हो तर हामीले हाम्रो सम्पदा, सभ्यता र संस्कृतिको संरक्षण गर्न सकिरहेका छैनौँ, यसलाई मुलुकको समृद्धिसँग जोड्न पनि सकेका छैनौँ । अन्य मुलुकले कृत्रिम संरचना बनाएर लाखौँ पर्यटक आकर्षित गरिरहेका छन् तर हामीकहाँ हजारौँ वर्ष पुराना संरचना खण्डहर बनाइएका छन्, कुरूप पारिएका छन् र भीमकाय बङ्गला बनाएर त्यसलाई ओझेलमा पारिएका छन् । सम्पदा संरक्षण समृद्धिको आधार हो भन्ने बुझ्न र बुझाउन सकिएको छैन ।

काठमाडौँ उपत्यका आफैँमा एउटा सङ्ग्रहालय हो । विदेशीका पुस्तकमा समेत काठमाडौँलाई मन्दिरै मन्दिरको सहर भनिन्थ्यो । त्यस्तै नेपाल नदी र तालतलैयाका पनि देश हो । यहाँका छ हजारभन्दा बढी नदी हाम्रो सम्पदा र विकासका मुहान हुन् । ५०० भन्दा बढी तालतलैया र उत्तरतिरको उतुङ्ग हिमशृङ्खला पनि यसैको प्रतीक हुन्, यी सब हाम्रा सम्पदा हुन् ।

यसका अतिरिक्त भौतिक रूपमा खडा गरिएका हजारौँ वर्ष पुराना सम्पदा नेपालको आर्थिक विकासको आधार र विश्व मानचित्रमा अलग्गै परिचयको विम्ब हो । आजभोलि सम्पदा संरक्षणको नारा जति घन्किन्छ, त्यसको एक छेउ पनि काम हुन सकेको छैन । काठमाडौँ उपत्यकाका तीन दरबार क्षेत्र, पशुपतिनाथ, बौद्धनाथ, चाँगुनारायण, स्वयम्भूनाथ विश्व सम्पदा सूचीमा सूचीकृत छन् तर यिनको पौराणिकता आजभोलि झल्कँदैन । यी सम्पदालाई चारैतिरबाट आधुनिक महलले घेरेको छ ।

जबसम्म नागरिकमा सम्पदाको महत्त्व प्रकट हुँदैन, तबसम्म कुनै एक निकाय वा संस्थाको जोडबलमा मात्र केही हुँदैन । सम्पदाको महìव घरदेखि विद्यालयसम्मै पु-याउनु आवश्यक छ । विद्यालय तहदेखि नै सम्पदाको संरक्षणका विषयमा अनिवार्य रूपमा पाठ्यक्रम तयार गरेर पठनपाठन गर्नु आवश्यक छ । यसो गर्न सकियो भने हाम्रा सम्पदाले पुनः जीवन पाउने छन् । बालबालिकालाई इतिहास, सम्पदा र यसको महìव दर्शाउन सके भविष्यका लागि देशको आर्थिक विकासको एउटा दह्रो आधार पर्यटनबाटै खडा हुन्छ । 

आजभोलि मन्दिरै मन्दिरको सहर काठमाडौँका पवित्र नदीमा पानी हैन, ढल बग्छन् । मन्दिर क्षेत्र पनि त्यस्तै छ । नदी र मन्दिर हाम्रो सभ्यता, संस्कृति र इतिहासको प्रतीक भएकाले यसको सफाइ, पर्यावरणीय शुद्धता तथा ऐतिहासिकता कायमै राख्नुपर्छ । मन्दिर केवल पूजा गर्ने, घण्ट र शङ्ख बजाउन मात्र हैन, मानिसको मन शान्त पार्ने पवित्र स्थल पनि हो । यसैले पनि काठमाडौँलाई मन्दिरै मन्दिरको सहर भनिएको हो । विश्वका पौराणिक सहरमध्येमा पर्ने काठमाडौँ उपत्यकामा अहिले अव्यवस्थित सहरीकरणले मन्दिर र नदी अतिक्रमणमा मात्र परेको छैन कि संरक्षणको समेत प्रचुर अभाव छ । यो हाम्रो सभ्यता, संस्कृति र संस्कारमा नसुहाउने विषय हो ।

हामी सबैको दायित्व भनेको मन्दिर, नदी संरक्षण र सरसफाइ गर्नु हो । नदी सफा हुँदा त्यसले वरिपरिको वातावरण पनि स्वच्छ हुन्छ र रोगब्याधी लाग्दैन । आज विष्णुमती, बागमती, रुद्रमतीजस्ता नदी सफा हुन्थे भने उत्यकामा खानेपानीको यति साह्रो अभाव पनि हुने थिएन । अहिले हरेक शनिबार बागमती सफाइ महाअभियान चलिरहेको छ र यस क्रममा उपत्यकाका अन्य नदीका साथै उपत्यकाबाहिर पनि सफाइ अभियान चलिरहेको छ तर यसलाई राष्ट्रिय अभियान र कार्यक्रम बनाउन सकिएको छैन ।

यो एउटा पक्ष हो भने सम्पदा संरक्षणको नयाँ अध्याय सुरु गर्ने बेला भइसकेको छ । सभ्यता, संस्कृति र सम्पदा संरक्षणमा अब युवा विद्यार्थीलाई योजनाबद्ध रूपमा अघि सार्नुपर्छ, यसका लागि विद्यालयले चासो दिनुपर्छ र सरकारले सोहीअनुसारको पाठ्यक्रम पनि बनाउनुपर्छ । हाम्रा सम्पदा विदेशीले अनुदानमा संरक्षण गरिदिने वा पुनर्निर्माण तथा मर्म गरिदिने हैन कि त्यस्तो अवस्था नै आउन नदिने गरी संरक्षण हुनुपर्छ । नदी र मन्दिर सभ्यता नै हाम्रो सभ्यता हो र हामी फोहोरी हैन, विश्व मानव इतिहासकै अग्रणी हौँ भन्ने देखाउनुपर्छ, त्यसलाई सावित गर्नुपर्छ । 

जब विद्यालयमा सम्पदा, संस्कृति, सभ्यता र संस्कारको शिक्षा दिइन्छ तब उनीहरूले नेपालमा आउने हरेक पर्यटकलाई आफ्नाबारेमा बताउन सक्नेछन् । जसले देशको ख्यातिमा सघाउ पुग्नेछ, पर्यटन प्रवद्र्धनमा सहयोग हुनेछ । हरेक विद्यार्थी ‘पर्यटक पथप्रदर्शक’ बन्न योग्य हुनेछन् । आज कुनै विद्यार्थीलाई पर्यटकले पशुपतिनाथ वा स्वयम्भूनाथका बारेमा केही कुरा सोध्यो भने भन्न सक्ने अवस्था छैन । एउटा नेपाली विद्यार्थीले आफ्नै देशको सम्पदाका बारेमा विदेशीलाई बताउन सक्दैन भने उसले पाएको शिक्षाको उपादेयता के हुने ? यो महत्त्वपूर्ण पाटोलाई हेरेर पनि शिक्षामा सम्पदा, समुदाय र संस्कृति जोड्नैपर्छ ।

आज विश्व अर्थतन्त्रको एउटा भरपर्दो आधार पर्यटन हो । कोरोना महामारीका कारण दुई वर्ष पर्यटन गतिविधि ठप्प हुँदा विश्वका धेरै मुलुकले आर्थिक सङ्कट भोगे । नेपाल सम्पदा, सभ्यता, इतिहास र संस्कृति अनि प्राकृतिक स्रोतसाधनले पर्यटक आकर्षित गर्ने सबै कुरा भएर पनि राष्ट्रिय अर्थतन्त्र वा आयमा पर्यटन क्षेत्रको योगदान न्यून छ । यसलाई बढाउन हाम्रा सम्पदा संरक्षण, संवद्र्धन र प्रबद्र्धन गर्नुपर्छ । सम्पदाको दृश्यावलोकन टाढैबाट गर्न सकिने आधार तयार गर्नुपर्छ । सम्पदा क्षेत्रलाई ओझेलमा पार्ने संरचना काँटछाँट गर्नुपर्छ । यसका लागि सरकारले नीति बनाउनुपर्छ, नागरिकले जिम्मेवारीबोध गर्नुपर्छ र सामाजिक अभियन्ता तथा सम्पदाविद्ले आवश्यक चेतना जागृत गराउनुपर्छ ।

सम्पदा, संस्कृति, इतिहासका धरोहर हाम्रो आर्थिक समृद्धिको आधार बन्नसक्छ भन्नेमा विमती नभए पनि अहिलेसम्म यसको हुनुपर्ने प्रचार भएको छैन, गर्नुपर्ने संरक्षण गरिएको छैन । संरक्षणको अर्थ त्यहाँ कुनै भौतिक क्षति हुन नदिनु मात्र हैन, ती क्षेत्रलाई ओझेलमा पार्ने संरचना निर्माण हुन नदिनु पनि हो । तीन दशकअघिसम्म हनुमानढोका दरबार क्षेत्र टाढैबाट देखिन्थ्यो भने अब नयाँ सडकको गेटमा पुगेपछि मात्र देखिन्छ । यसमा सरकारको कमजोरी जति छ, नागरिकको पनि उत्तिकै छ । नागरिकले सम्पदाको महìव नबुझेर व्यक्तिगत लाभको स्वार्थमा डुबुल्की मार्दाको परिणाम हो ।

नदी, मन्दिरलगायत सम्पदाको सफाइ, संरक्षण गर्नु भनेको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र पर्यावरणीय रूपमा मजबुत हुनु हो । यसको दीर्घकालीन गुरुयोजना बनाउन ढिला भइसकेको छ । सम्पदासँग जनता जोड्ने बेला आइसकेको छ । जबसम्म जनतालाई सम्पदाको महìव बुझाउन सकिँदैन र यसको संरक्षण र प्रबद्र्धनमा महाअभियान चलाइँदैन, नाराका भरमा वा केही अभियानकारीको बलमा मात्रै खोजेजस्तो परिणाम आउँदैन ।

सम्पदा संरक्षण कुनै एक पक्षको मात्र जिम्मेवारी होइन । सम्पदा कुनै एक क्षेत्र, जात, धर्म, सम्प्रदायको मात्रै पनि होइन । नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्म रहेका ऐतिहासिक, पौराणिक सम्पदा हरेक नेपालीको साझा सम्पत्ति हो । यो साझा सम्पत्तिको संरक्षणमा पनि प्रत्येक नेपालीको साझा दायित्व रहन्छ । यो दायित्व निर्वाह गर्न सबै सचेत हुनैपर्छ । सम्पदा संरक्षणमा नागरिकको सहभागिता हुनु सामाजिक दायित्व नै हो भने यो समृद्धिको आधार र अवसर पनि हो भन्ने चेतना दिनु विद्वत् वर्गको जिम्मेवारी हो ।

Author

गीता श्रेष्ठ