जनार्जन खत्री
सर्लाही, जेठ ४ गते। सर्लाहीको सीमावर्ती क्षेत्रस्थित पर्सा गाउँपालिका ५ मा सुँगुरको खोरभित्र थुनेर कुटपिट गरेको घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
स्थानीय तस्लिम अन्सारीलाई सुँगुरको खोरभित्र थुनेर कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ। प्रहरीले सो घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।
राजेन्द्र साह सोनार, छोरा कमलेश, पप्पुकुमार यादव र राहुलकुमार महतोसँगै तस्लिम अन्सारी र राजेन्द्र साह सोनारबिच सुनचाँदीको गरगहना बनाउने विषयमा विवाद भएको बुुझिएको छ।
प्रारम्भिक अनुसन्धानमा दुवै पक्षबाट हातपात तथा कुटपिट भएको पाइएको र यस सम्वन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो। राजेन्द्र पक्षका चार जनालाई अमानवीय व्यवहार र धर्म सम्बन्धी कसुरमा तथा तस्लिमविरुद्ध अभद्र व्यवहारमा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डिएसपी राईले बताउनुुभयो।
तस्लिम र राजेन्द्र पक्षबीचको विवादपछि गाउँमा पञ्चायती बसेको थियो। सुँगुरको खोरमा थुनेको भिडियो जताततै फाइरल भएपछि प्रहरीले दुवै पक्षका पाँच जनालाई नियन्त्रणमा लिएर कानुनी कारवाही प्रक्रिया अघि बढाएको हो।
घटना शनिबार भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ।