कृष्णबहादुर धामी
दार्चुला, जेठ ३ गते । सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलामा हुलाक डेस्क स्थापना गरिएको छ । जिल्लाको ग्रामीण बस्तीबाट सदरमुकाम खलङ्गा आउने सेवाग्राहीको समस्यालाई मध्येनजर गरी जिल्ला प्रशासनको अनुरोधमा हुलाक डेस्क स्थापना गरिएको जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख बिरेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।
सरकारी कामकाजका लागि सेवाग्राहीलाई हुलाक टिकट आवश्यक हुने तथा गर्मी सिजनमा हिडडुल गर्नुपर्ने बाध्यताको अन्त्य गर्न डेस्क स्थापना गरिएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयको एउटा कोठा लिएर हुलाक डेस्क स्थापना गरिएको छ ।
सो डेस्कबाट सेवाग्राहीलाई हुलाक टिकट उपलब्ध गराएको बताइएको छ । हुलाक डेस्क स्थापना गरी जेठ १ गतेबाट सेवा दिन थालिएको निमित्त कार्यालय प्रमुख धामीले बताउनुभयो । सेवाग्राहीले हुलाक डेस्कबाट पाँच, दस, पन्ध्र र बिस रुपियाँ अङ्कित मूल्यका हुलाक टिकट प्राप्त गर्न सक्ने छन् ।
जिल्लाका नौ वटा स्थानीय तहमध्ये आठ स्थानीय तहमा यसअघि नै पालिका हुलाक कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको उहाँले जानकारी दिनुभयो । दार्चुलामा एक वर्षको अवधिमा सातदेखि आठ लाखको हाराहारीमा हुलाक टिकटको बिक्री हुने गरेको बताइएको छ ।