ठाकुरसाद आचार्य
म्याग्दी, जेठ ३ गते । म्याग्दीको धवलागिरि गाउँपालिकामा पुर्ख्यौली नृत्य प्रतियोगिता आयोजना गरिएको छ । शनिबार गाउँपालिका केन्द्र मुनामा आयोजना गरिएको पुर्ख्यौली नृत्य प्रतियोगितामा विभिन्न पाँच समुहले भाग लिएका छन् ।
संस्कृतिको संरक्षण, स्थानीय कलाकारहरूलाई प्रोत्साहन र समाजमा मौलिक कला संस्कृतिको बारेमा चेतना जगाउने उद्देश्यले पालिकाले पुर्ख्यौली नृत्य प्रतियोगिता आयोजना गरेको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । मगर तथा छन्त्याल समुदायको मौलिक कला संस्कृतिको रूपमा रहेको पुर्ख्यौली नाचको संरक्षण र प्रचारप्रसार र नयाँ पुस्तामा कला संस्कृतिको पुस्तान्तरणमा प्रतियोगिताले टेवा पुर्याउने पालिका अध्यक्ष पुनले विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद २५ हजार, दोस्रो हुनेलाई २० हजार, तृतीय हुनेलाई १५ र सान्त्वना हुनेलाई १० हजार रुपियाँ नगद र प्रमाणपत्र वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताउनुभयो ।
पुर्ख्यौली नाच पुन मगर समुदायमा मौलिक संस्कृतिका रूपमा रहेको छ । पछिल्लो समय पुर्ख्यौली नाच युवा पुस्ताले अगाडि बढाउन नसक्दा संस्कृतिनै लोप हुने जोखिम बढेकाले गाउँपालिकाले पुर्ख्यौली नाचको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।
उहाँले भन्नुभयो, "नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने माध्ययमका रूपमा पालिकाले प्रतियोगिताको आयोजना गरेको हो । मगर तथा छन्त्याल समुदायमा लोप हुन लागेको आफ्नो संस्कृति संरक्षण हुने विश्वास छ ।"