काठमाडौँ, जेठ ३ गते । रेस नेपालको आयोजनामा यही जेठ २४ गते शनिबार काठमाडौँ र ललितपुरका सम्पदा जोड्नेगरी नेपाल हेरिटेज रन हुने भएको छ ।
विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) को बोर्ड बैठक नेपालमा आयोजना हुनलागेको सन्दर्भ पारेर हेरिटेज रन सुरु गर्न लागिएको हो ।
विश्व सम्पदा सूचीमा परेका सम्पदाहरू जोड्नेगरी २५ किमी दुरीको दौडको रुट तयार गरिएको छ । नेपालमा पहिलो पटक हुनलागेको हेरिटेज रनले खेलाडीलाई उत्साह थप्ने अपेक्षा आयोजक रेस नेपालले लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भई सुन्धारा, न्युरोड, काठमाडौँ दरबार स्क्वायर, रानीपोखरी, दरबारमार्ग, कमलपोखरी, गौशाला, पशुपतिनाथ, तीनकुने, ग्वार्को, पाटन दरबार स्क्वायर, पुलचोक, थापाथलीहुँदै दशरथ रङ्गशाला पुगेर दौड पूरा हुनेछ ।
यससँगै विद्यालयस्तरीय विद्यार्थी र भेट्रानतर्फ ५ किमी दौड समावेश गरिएको छ । तीन वटै विधाका दौडका लागि दर्ता खुला भइसकेको आयोजकले जनाएको छ । विजेतालाई नगद पुरस्कार पनि प्रदान गरिने छ ।
एम्सको बोर्ड बैठक, कंग्रेस वा कन्फ्रेन्सका क्रममा रोड रेस गर्नुपर्ने प्रोटोकलअनुसार नेपाल हेरिटेज रन आयोजना गर्न लागिएको हो । एम्सको बोर्ड बैठक यही जेठ २१ र २२ गते ललिपुरस्थित होटल हिमालयमा बस्दै छ ।
एम्सको बोर्ड बैठकलगत्तै जेठ २३ गते शुक्रबार नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स हुँदै छ । रनिङसम्बन्धि कन्फ्रेन्स दक्षिण एशियामै पहिलोपटक नेपालमा हुनलागेको एम्स दुत तथा कन्फ्रेन्स अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो ।
‘‘निजी तथा सरकारी दुवैको उत्साहजनक साथ पाए हरेक वर्ष नेपालमा कन्फ्रेन्स र हेरिटेज रन निरन्तरता दिइने छ । धारा नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले भन्नुभयो, ‘‘अन्तर्राष्ट्रियस्तरका धावक वा आयोजकलाई नेपाल ल्याउने यो प्रभावकारी माध्यम बन्न सक्छ, यसले नेपालको खेल पर्यटनमा योगदान गर्नसक्छ, यही सोचबमोजिम कन्फ्रेन्स र हेरिटेज रन परिकल्पना गरिएको हो ।’’
विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)सँगको सहकार्यमा दौडसम्बन्धि अन्तर्राष्ट्रिय कन्फ्रेन्स दक्षिण एशियामै पहिलोपटक नेपालमा हुन लागेको हो । कन्फ्रेन्समा शिक्षा, खेलकुद र पर्यटनसँग सम्बन्धित चार वटा सेसन रहने छन् ।