• ७ भदौ २०८२, शनिबार

चलचित्र सङ्घद्वारा चार जना पुरस्कृत

blog

पुरस्कृत र सम्मानित भएकाहरू सामूहिक तस्बिर खिचाउँदै । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, जेठ ३ गते । चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुरले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर चार जनालाई नगदसहित पुरस्कृत गरेको छ। सङ्घले नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट वरिष्ठ चलचित्र पत्रकार अनन्त वाग्लेलाई नगद राशि एघार हजार एक सय ११ रुपियाँसहित पुरस्कृत गरिएको छ । तीन दशकदेखि छापा माध्यमका सक्रिय रहेका वाग्ले विश्व घटना च्यानलमा आबद्ध छन् । 

सङ्घले मकवानपुरमा जन्मिएर चलचित्र, कला साहित्य र सङ्गितमा राष्ट्रिय स्तरमा सक्रिय रहेका चलचित्रकर्मीलाई स्व. धनमान श्रेष्ठ स्मृति कलाकर्मी सम्मान २०८२ बाट रङ्ग संयोजक रेनिस फागोलाई नगद सहित सम्मान गरेको छ । दुई सय भन्दा बढी चलचित्रमा रङ्ग संयोजन गरेका उहाँको चलचित्र प्रेम गीतका सिरिज,  काली, सेतो बाघ, १२ गाउँ, पीताम्बर, नरसिंहा अवतार चर्चित चलचित्र हुन् ।  

त्यस्तै, मकवानपुरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका रेडियो थाहा सञ्चारका स्टेसन म्यानेजर गोकुल अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत गरिएको छ । अधिकारी दुई दशक देखी रेडियोमा सक्रिय रहेका छन् ।  दिवसकै अवसरमा पहिलो पटक बोक्सीको घर चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी हेटौँडाकी बालकलाकार शुपला सापकोटालाई अभिनय यात्रामा अझै सफलता मिलोस् भन्ने हेतुले प्रशंसा पत्रले सम्मान गरिएको थियो । वि सं २०५६ जेठ ७ गते सङ्घ स्थापना दिवसको पूर्वसन्ध्यामा चलचित्र पत्रकारिता दिवस मनाउँदै आइरहेको छ । 

कार्यक्रममा चलचित्र पत्रकार सङ्घ नेपाल केन्द्रीय पूर्व अध्यक्ष शान्तिप्रिय, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाईँ, रङ्गकर्मी भोलाराज सापकोटा, उज्ज्वल शर्मा भण्डारी, चलचित्र नरसिंहा अवतारका निर्माता ध्रुव न्यौपाने, दीपक ढकाल, कलाकार राज कटुवाल लगायतको आतिथ्य रहेको थियो ।