काठमाडौँ, जेठ ३ गते । नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।
भारतको अरुणाञ्चलस्थित गोल्डन जुब्ली रङ्गशालामा शुक्रबार भएको सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग २–१ गोलले स्तब्ध बन्यो ।
बङ्गलादेशको जितमा अशिकुर रहमानले ७४औँ र कप्तान नज्मुल हुदा फैसलले ८१औँ मिनेटमा गोल गर्नुभयो । नेपालका लागि सुजन डङ्गोलले ८७औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो ।
नेपाल समूह ‘बी’ को उपाविजेता र बङ्गलादेशले समूह ‘ए’ को विजेतामा रुपमा सेमिफाइनलमा स्थान बनाएका थिए ।
बङ्गलादेशले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नैछ । भारतले अर्को सेमिफाइनलमा माल्दिभ्सलाई ३–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।