• १२ असार २०८१, बुधबार

कपिलवस्तुमा नक्कली नागरिकता पेश गर्ने दुईजना पक्राउ

blog

नारद कोहार
तौलिहवा, जेठ २७ गते ।
कपिलवस्तुमा नक्कली नागरिकता पेश गरी नागरिकता बनाउन खोजेको आरोपमा दुईजना पक्राउ गरेका छन् ।

छोराको नागरिकता बनाउन आफ्नो श्रीमानले बनाएको नक्कली नागरिकता पेश गरी नागरिकता बनाउन खोजेको आरोपमा जिल्ला प्रशासन कार्यालयमा आमा छोरा पक्राउ परेका हुन् ।

जिल्लाको शुद्धोधन गाउँपालिका–५ की अबराईन खातुनले आफ्ना श्रीमान रियाजुद्दीन खान मुसलमानले बनाएको नक्कली नागरिकतासहित जिल्ला प्रशासन कार्यालय नागरिकताका लागि बिहीबार कागजातहरु पेश गर्नुभएको थियो ।

कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार छानबिन र अनुसन्धान गर्दा रियाजुद्दीनको नागरिकता नै नक्कली भेटिएपछि अबरईन र जाबेदलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको बताउनुभयो ।

रियाजुद्दीन खान मुसलमानको नागरिकता रुपेन्दहीबाट जारी गरिएको नक्कली नागरिकता प्रमाणपत्रमा देखाइएको छ । सहायक प्रजिअ पौडेले भन्नुभयो, “रियाजुद्दीनको नागरिकताको विवरण रुपन्देही प्रशासन कार्यालयसँग माग गर्दा सो नामको कुनै नागरिकता भेटिएको छैन ।”

उहाँले भन्नुभयो, ‘‘हेर्दा नै नक्कली नागरिकता जस्तो देखिएको, रुपन्देहीमा कुनै विवरण नरहेको र लोगो समते नक्कली भेटाएको थियौ ।’’ उता २०६१ सालमा अबराईनले विवाह गरेको प्रमाणपत्र पेश गर्नुभएको थियो तर उहाँले २०६३ सालमा आफू अविवाहित भनेर नागरिकताको प्रमाण लिएको भेटिएको पौडेलले बताउनुभयो ।

झुटाे विवरण पेश गरी नागरिकता बनाउन खोजेको आरोपमा नियन्त्रणमा लिएका आमा छोरालाई नै  प्रतिवेदनसहित जिल्ला प्रहरी कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो । झुटाे विवरण दिई किर्ते नागकिरता बनाउन खोजेको दुबैमाथि नागरिकता ऐन र नियमाली अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।