काठमाडौँ, वैशाख २५ गते। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उच्च सङ्क्रामक रोग नियन्त्रण प्रयोगशाला एकाइ स्थापना भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय प्रयोगशालामा उच्च सङ्क्रामक रोग नियन्त्रण प्रयोगशाला एकाइ स्थापना गर्नु भएको हो। प्रयोगशालाका उपप्रमुख तथा सूचना अधिकृत सन्तोष सुवेदीले उक्त एकाइबाट रोगको नमुना सङ्कलन तथा परीक्षण गर्न सहयोग पुग्ने बताउनुभयो।
उहाँ भन्नुहुन्छ, “उक्त एकाइबाट भविष्यमा कोभिडजस्तै उच्च सङ्क्रामक महामारी भित्रियो भने वातावरण, समुदाय तथा परीक्षणमा संलग्न प्रविधिकमा सङ्क्रमण सर्ने अवस्थाको पूर्णरूपमा अन्त्य हुने विश्वास छ।”
सोही क्रममा राष्ट्रिय अत्यावश्यक निदानात्मक परीक्षण सूचीको अनावरण गरिएको थियो। साथै विश्व स्वास्थ्य सङ्गठनले प्रयोगशालाको उपकरण हस्तान्तरण गरेको थियो। विश्व स्वास्थ्य सङ्गठनले प्रयोगशालाललाई महामारी कोषबाट उक्त उपकरण सहयोग गरिएको हो।
विश्व स्वास्थ्य सङ्गठनले हस्तान्तरण गरेका प्रयोगशाला उपकरण कुनै पनि सङ्क्रामण रोगको पहिचान (कल्चर) गर्न प्रयोग हुने प्रयोगशालाका निर्देशन डा. रञ्जनराज भट्टले जानकारी दिनुभयो। हाल रोगको कल्चर गर्ने उपकरण केही ठुला सरकारी अस्पतालमा मात्र उपलब्ध छन्। प्राप्त उक्त उपकरण ५० बेडका अस्पतालका प्रयोगशालामा पठाउने उहाँले जानकारी दिनुभयो।
उहाँ भन्नुहुन्छ, “प्राप्त उपकरण केही केन्द्रीय प्रयोगशालामा रहने छन् भने केही प्रादेशिक जनस्वस्थ्य प्रयोशालामा पठाउँछौँ। केही उपकरण छानिएका ५० बेडका अस्पतालका प्रयोगशालामा पठाउने योजना छ।”
यो उपकरणबाट हुने कल्चर परीक्षण दूर दराजका बिरामीको पहुँचसम्म पुग्नुका साथै प्रतिजैविक प्रतिरोध निगरानीकार्यको दायरा बढ्ने उहाँको विश्वास छ।
राष्ट्रिय अत्यावश्यक निदानात्मक परीक्षण सूची देशभरमा रहेका प्रयोगशालाको परीक्षणमा एकरूपमा ल्याउन मद्दत पुग्ने सुवेदीको भनाइ छ। यसले प्रयोगशालाका कर्मचारीको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने उहाँको भनाइ छ। सुवेदीका अनुसार बिहीबार अनावरण भएको गाइडलाइनले ५÷१०÷१५÷बेडको अस्पतालमा नमुना परीक्षणमा एकरूपता हुनुपर्नेमा जोड दिएको छ।
मन्त्री पौडेलले प्रयोगशालाको दायरा फराकिलो हुँदै गएमा आम नागरिकलाई सहयोग पुग्ने बताउनुभयो। केन्द्रीय प्रयोगशालामा हुने परीक्षण देशैभरी बनाउन सकियो भने मात्र केन्द्रीय प्रयोगशाला भनेर गर्व गर्न सकिने मन्त्री पौडेलको भनाइ छ। प्रयोगशालाको क्षेत्र व्यापक भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उहाँको ठहर छ। उहाँले प्रयोगशालालाई यो वर्ष बजेट बढाउने योजना हुँदा हुँदै पनि बढाउन नसकेको बताउनुभयो।