विश्व पत्रकारिताको इतिहास सबैतिर समान तवरले आरम्भ भएको पाइँदैन । कतिपय मुलुकमा राज्यको निरङ्कुश प्रवृत्तिलाई चुनौती दिएर सूचना क्रान्तिको संवाहक हुँदै पत्रकारिता आरम्भ भएको देखिन्छ । क्रमशः राज्यका अनेक प्रवृत्तिसित पौँठाजोरी खेल्दै कठिन सङ्घर्षबाट पत्रकारिताको उद्भव, विकास र विस्तारका मुलुकैपिच्छे अनेक तरेली छन् । विश्व पत्रकारिताको आरम्भिक अभ्यासको बिरलै इतिहास भने नेपालमा देखिन्छ । निरङ्कुश राणा शासनमै कालो बादलभित्र चाँदीको घेरा भने झैँ सुधारवादी राणा प्रधानमन्त्री श्री ३ देवशमशेर राज्यकै तर्फबाट अखबार प्रकाशन गर्ने योजनामा हुन्छन् । सत्तामा आएको एकै महिनाभित्र अखबार प्रकाशनको तारतम्य अगाडि बढ्छ । त्यसका निम्ति कानुनी र व्यवस्थापकीय बन्दोबस्तका निम्ति सनद जारी हुन्छ । पण्डित नरदेव पाण्डेको जिम्मामा छापाखाना, जनशक्ति, आवश्यक वार्षिक बजेट दिइन्छ । फलस्वरूप १९५८ साल वैशाख २४ गते अर्थात् आजकै दिन गोरखात्रको प्रकाशन आरम्भ हुन्छ । साप्ताहिक रूपमा आठ पृष्ठको गोर्खापत्र (गोरखापत्र) प्रकाशन राज्यकै तर्फबाट अखबार प्रकाशन थालेको विश्व पत्रकारिताकै बिरलै इतिहासमा पर्ने परिघटना हो । राज्य तथा देशदेशावरका सूचना सर्वसाधारण दुनियाँमा पुर्याउन प्रकाशन थालिएको गोरखापत्रमा छाप्न हुने र नहुने विषय अझ आचारसंहिताका रूपमा मननीय मान्न सकिन्छ । हाम्रा तारिफका कुरा नछाप्नू भन्ने शासकीय उर्दीले उतिबेलै स्वतन्त्र प्रेसको आभास देख्न सकिन्छ । राज्यकै तर्फबाट प्रकाशन आरम्भ भएको गोरखापत्र झन्डै छ दशकमा २०१७ फागुन ७ गते दैनिक भई देशको सार्वजनिक सञ्चारको फराकिलो मियो हुँदै अगाडि बढ्दै छ ।
सरकारी छापाखानाबाट प्रकाशन भइरहेको गोरखापत्र संस्थान ऐन, २०१९ बाट सार्वजनिक संस्थानमा सुसङ्गठित हुँदै विस्तारित भयो । अङ्ग्रेजी पाठकका निम्ति गोरखापत्र संस्थानले दी राइजिङ नेपालमार्फत छ दशकदेखि पाठकमा सेवा पुर्याइरहेको छ । नेपाली साहित्यानुरागी पाठकलाई मधुपर्क मासिकका तर्फबाट दशकौँदेखि सेवा गरिरहेको छ । युवा चेतना र खुराकका निम्ति युवामञ्च मासिकका साथै बालबालिकाको भाषा, ज्ञान र पठनसंस्कृति विकास गर्न मुना मासिक लोकप्रिय छ । सूचना र प्रविधिको युगसापेक्ष डिजिटल पत्रकारिताको फराकिलो आयाममा गोरखापत्र र दी राइजिङ नेपाल अनलाइन विस्तारित छन् । गोरखापत्र दैनिकले नेपाली भाषामा समाचार, सूचना, विचार र चेतना विस्तारको अनवरत सामग्री सम्प्रेषणसँगै देशका ४५ भाषामार्फत समेत सामग्री प्रकाशन गरी समावेशीकरणको अतुलनीय योगदान दिइरहेको छ । गोरखापत्र र यसका सहप्रकाशनले राष्ट्रिय जीवनका अनेक आयामलाई अनवरत सम्प्रेषण गरिरहेका छन् । विश्व छापा पत्रकारितामा तस्बिरको महत्वलाई विशिष्ट रूपमा हेरिन्छ । एउटै तस्बिरले हजार शब्द बोल्छ भनिन्छ । प्रकाशनको दुई दशकपछि नै गोरखापत्र दैनिकले फोटो पत्रकारितालाई आत्मसात् गर्न सक्यो । गोरखापत्र प्रकाशन गरिनुअघि १९५५ साल साउनमा सुधा सागर मासिक नेपालभित्रैबाट प्रकाशन आरम्भ भए पनि त्यो साहित्यिक थियो भने त्यसअघि भारतको बनारसबाट नेपाली भाषामा गोरखा भारत जीवन निस्कियो । ती दुवै प्रकाशन साहित्यिक सामग्रीसित सम्बद्ध भएकाले गोरखापत्र नै नेपाली अबबारी पत्रकारिताको पहिलो जग हो ।
पत्रकारितासँगै भाषा, साहित्य, संस्कृति, राजनीति तथा आर्थिक सामाजिक आयामको सिङ्गो नेपाली संस्करण हो गोरखापत्र । विगत १२५ वर्षको अनवरत प्रकाशन गोरखापत्र विश्व पत्रकारिताको इतिहासमा अलग्गै अध्याय हो । सरकारी पूर्ण स्वामित्वका कारण कतिपयले यसलाई सरकारी भनेर अलि बेग्लै आँखाले हेर्ने पनि गर्छन् । गोरखापत्रको स्थापना तथा स्वामित्व संरचना हेर्ने हो भने यो सरकारी हो तर स्थापना हुँदा हाम्रा तारिफका कुरा नछाप्नू भन्ने श्री ३ को चाहनाको मर्मले गोरखापत्र समग्र राष्ट्रकै निम्ति स्थापना भएको हो भन्न सकिन्छ । नेपाली राजनीतिको अनेक आरोहअवरोह प्रत्यक्ष साक्षी गोरखापत्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा कसरी संस्थागत हुँदै जाने भन्ने विमर्श आरम्भ भएको छ । गोरखापत्र संस्थान ऐन, २०१९ लाई विस्थापन गर्दै नयाँ ऐन निर्माणका निम्ति विधिविधानको विमर्श अत्यन्तै उचित समयमा आरम्भ भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ गोरखापत्रलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संवैधानिक मूल्य र मर्म अनुसार कानुनी संरचनामा लैजाने प्रतिबद्धतामा अग्रसर हुनुहुन्छ । लोकतान्त्रिक राज्य संरचनामा सरकारको कुनै एक निकाय मातहत सञ्चार संस्था सञ्चालन युगसापेक्ष हुन नसक्ने परिवेशमा गोरखापत्रलाई समग्र राज्यकै मिडिया बनाउन थालिएको प्रयास सराहनीय छ । गोरखापत्र र यसका समग्र प्रकाशन नवीन आयाममा लैँजादा वित्तीय रूपमा अझ सबल र सक्षम हुने मोडालिटीलाई पहिलो प्राथमिकता दिनुपर्ने छ । गोरखापत्रको ऐतिहासिक गौरवलाई स्वायत्त ढङ्गले चिरकालसम्म निरन्तरता दिँदै अगाडि बढ्नु वाञ्छनीय छ ।