अखबार भनेको गोरखापत्र मात्रै हो भन्ने भाष्य थियो नेपाली समाजमा । यो भाष्य अद्यापि कायम छ । आजभन्दा १२५ वर्षअघि अर्थात्, विक्रम संवत् १९५८ वैशाख २४ गते नेपालमा पहिलो समाचारपत्रको पदार्पण भयो– गोर्खापत्रको नाममा । राणा प्रधानमन्त्री देवशमशेरको पालामा प्रकाशनमा आएको त्यही गोर्खापत्र कालान्तरमा गोरखापत्रका रूपमा निरन्तर प्रकाशित छ । यस अवधिमा नेपाली राजनीतिले धेरैखाले उतारचढाव सामना गर्यो तर गोरखापत्र सतिसाल झैँ भएर उभिएको छ, हरेक परिवर्तनको जीवन्त साक्षीका रूपमा । गोरखापत्रलाई आमनागरिकले आफू अनुकूल व्याख्या गर्न छुट पाएका छन्, जुन उनीहरूको अधिकार पनि हो । कसैले सरकारी मुखपत्रका रूपमा मात्रै बुझेका छन् भने कतिपयले नेपाली पत्रकारिताको पाठशाला नै ठानेका छन् । राणा शासन, प्रजातान्त्रिक काल, पञ्चायत प्रणाली होस् वा संसदीय शासन प्रणाली या गणतान्त्रिक व्यवस्था हरेक कालखण्डमा बेग्लै पहिचानका साथ स्थापित छ गोरखापत्र । अन्यत्र जेसुकै छापिए पनि गोरखापत्रमा नआएसम्म कुनै पनि समाचारलाई नागरिकले पत्याउने अवस्था थिएन/छैन । त्यसैले जनमानसमा अखबार भनेकै गोरखापत्र मात्रै हो भन्न छाप पर्यो । यो साख र भरोसा कायम राख्ने दायित्व र जिम्मेवारी आमगोरखापत्रकर्मीको हो ।
गोरखापत्र सधैँ अटल रह्यो, प्रशान्त महासागरका रूपमा । कतिपय नम्बर एक दाबी गर्नेहरू खहरे झैँ आए गए । रहेका पनि कनिकुथी छन् । गोरखापत्र सदैव एउटै लयमा छ, शान्त, सुशील र स्थिर । कुनै पनि किसिमका उतारचढावले गोरखापत्रलाई न फरक परेको छ न त पार्छ नै । यो पहिचान आधिकारिकता र विश्वसनीयताले कायम राखेको हो । सस्तो लोकप्रियताका लागि गोरखापत्रले कहिल्यै कसैसँग सम्झौता गरेन । सधैँ सत्य, तथ्य र आधिकारिक समाचार वा समाचारमूलक सामग्री प्रकाशन नै मूल ध्येय बन्यो/बनायो । कसैलाई मन परोस् नपरोस्, आफ्नो कर्तव्यपथबाट कहिल्यै च्युत भएन । आफ्नो गति यथावत् रह्यो । यसले गर्दा आमनागरिकको विश्वासिलो साथी र सरकारको भरोसायोग्य सारथि बनेको छ गोरखापत्र ।
यतिबेला मूलधारको छापा पत्रकारिता ओझेलमा परे जस्तो भएको छ । सूचना प्रविधिले मारेको छलाङले छापा पत्रकारिता ठुलो सङ्कटमा छ । यो समस्या हाम्रो मात्र होइन, विश्वभरि नै टाउको दुखाइको विषय बनेको छ । कतै छापा माध्यम सखापै हुने त होइन भन्ने बहस नभएका होइनन् तर समयक्रमले यो सही ठहरिएको छैन । युरोपका, अमेरिका विकसित मुलुकमा समेत अखबार निरन्तर प्रकाशित भइरहेका छन् । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने चुनौतीसँगै सम्भावना पनि छन् । डिजिटल मिडियासँगको प्रतिस्पर्धा, आर्थिक कठिनाइ र पाठकको रुचि पहिचान गर्न नसक्दा छापा माध्यमले सङ्कट भने बेहोरिरहेको अवस्था छ । यसको अस्तित्व र प्रासङ्गिकता भने समाप्त भएको छैन । सामाजिक सञ्जाल वा न्युज पोर्टलमा आएका सूचनाभन्दा पाठकका लागि अझै छापा माध्यममा प्रकाशित समाचार बढी भरपर्दा छन् । गोरखापत्रले त यो अभियानको अगुवाइ गरिरहेको छ । अन्यत्र जेसुकै देखे पढेको भए पनि गोरखापत्रमा छापिएपछि मात्र ढुक्क हुने अवस्था छ ।
यो नै गोरखापत्रको मूल पुँजी हो । यसलाई जोगाउने दायित्व हामी सबैको हो । कतिपयले अब छापा माध्यमको भविष्य छैन भन्ने तर्क गर्ने गरेका छन् तर यो बिलकुलै सही होइन । बरु चुनौतीको दायरा फराकिलो भएको भने अवश्य छ । त्यसका लागि छापा पत्रकारिताले डिजिटल माध्यमसँग सहकार्य गरेर आफ्नो पहुँच र प्रभाव विस्तार गर्न सक्नु पर्छ । अधिकांश छापा माध्यमले आफ्नो अनलाइन संस्करणलाई विशेष महत्व दिएका छन् । यसबाट पाठकसँगको सामीप्य विस्तार भइरहेको छ । प्रविधिसँग डराउने वा भाग्ने होइन बरु प्रविधिसँग मिलेर अघि बढ्न सक्दा उत्तमै हुने छ । डिजिटल प्लेटफर्ममा समाचार, ब्लग, भिडियो, पोडकास्ट पोस्ट गरेर युवा जमातसँग जोडिन सहज हुने छ । युवा पुस्ताको रुचि वा चाहना सम्बोधन गर्न नसक्ने मिडियाको भविष्य सहज छैन । गोरखापत्रले पनि आफूलाई त्यही मार्गमा हिँडाउनु पर्छ ।
अब परम्परागत शैलीमा झारा टार्ने पत्रकारिताबाट छापा माध्यम चल्न सक्ने अवस्था छैन । गुणस्तरमा कुनै सम्झौता गर्ने छुट वा सुविधा छापा माध्यमलाई किमार्थ छैन । गुणस्तरीयतालाई प्राथमिकता दिने हो भने छापा माध्यमको भविष्य अझै पनि छ । स्टन्ट वा हावादारी समाचारभन्दा यथार्थ सूचना दिने पत्रिकाको पहिचान बनाउन सकियो भने छापा माध्यमप्रतिको विश्वसनीयता अझै चुलिने छ । डिजिटल मिडियामा फैलिएका गलत सूचना र अफवाहबाट छापा पत्रकारिताले आफूलाई अलग गर्न सक्यो भने पाठकको विश्वास कायम रहने छ । यसका लागि अनुसन्धानमूलक समाचारमार्फत खोज पत्रकारितालाई प्रश्रय दिन सकिन्छ । यसले पाठकको ध्यान आकर्षित गर्न सक्छ । छापा माध्यमले स्थानीय समाचार वा समाचारमूलक सामग्री महत्वका साथ प्रकाशित गर्ने हो भने पाठकको रुचि बढाउन सक्छ । इन्टरनेटको पहुँच नभएका ग्रामीण भेगमा अझै पनि छापा माध्यम नै सूचनाका भरपर्दो स्रोत हुन् । यो वर्गको रुचि र चाहना बुझेर पत्रकारिता गर्ने हो भने सम्भावना प्रबल छ ।
एकथरीको बुझाइ छ, अब छापा पत्रकारिता सकियो । प्रविधिमा आएको विकास र इन्टरनेटमा आधारित पत्रकारिताको बढ्दो प्रभावलाई स्विकार्ने हो भने त्यो भनाइ सत्य हो कि जस्तो लाग्छ तर गोरखापत्र जस्तो अखबारका लागि भने यो अवसर पनि हुन सक्छ । अनलाइन पत्रकारिता र सामाजिक सञ्जालमा आउने सूचनाले मानिसलाई पारेको दुष्प्रभाव अहिले विश्वव्यापी समस्या बनेको छ । एउटै सूचना आफू अनुकूल सम्प्रेषण गर्ने प्रवृत्तिले सर्वसाधारण गुमराहमा पर्छन् । यस्तो स्थितिमा छापा माध्यमले आधिकारिकता र विश्वसनीयतालाई मूलमन्त्र बनाएर पत्रकारिताको धर्म निर्वाह गर्न सक्छ । अझ गोरखापत्रका लागि त यो वरदान हुन सक्छ । किनभने गोरखापत्रले आफूलाई सधैँ आधिकारिक र विश्वसनीयताको कसीमा खरो उतारेको छ । जनमानसमा परेको छ– अखबार भनेकै गोरखापत्र हो । आफ्नो १२५ वर्से यात्रामा गोरखापत्रले कमाएको महìवपूर्ण पुँजी नै यही हो । सत्य, तथ्य र वस्तुनिष्ठ समाचार वा समाचारमूलक सामग्री मात्रै गोरखापत्रको कन्टेन्ट बन्छ । यसको निरन्तरतामा मात्रै छापा पत्रकारिताको भविष्य सुरक्षित हुने छ ।
आधिकारिकता र विश्वसनीयतासँग गोरखापत्रले जनताका समस्यालाई केन्द्रमा राखेर आफ्नो धर्म निर्वाह गरिरहेको छ । जनताको साथी र सरकारको सारथिका रूपमा आफूलाई स्थापित गर्ने मूल दायित्व नै यसको पहिलो कार्यभार हो । निजी क्षेत्रबाट प्रकाशन हुने अखबार वा सञ्चार माध्यमले लगानीकर्ताको इन्ट्रेस्टभन्दा तलमाथि गर्न सक्दैन । त्यहाँ मिसन पत्रकारिता हुन्छ, व्यावसायिक होइन । त्यहाँ काम गर्ने सबै जसो पत्रकारको सेन्सरसिप मालिकको हातमा हुन्छ । मालिकलाई फाइदा हुने समाचारले विशेष प्राथमिकता पाउँछन् । त्यो बाध्यता गोरखापत्रलाई छैन । जनताको साथी र सरकारको सारथिको भूमिका निर्वाह गर्ने घोषित जिम्मेवारी छ । त्यसैले न कसैको सेन्सरसिपको डर न त कसैको पिरलो । गोरखापत्रले जनताका मुद्दालाई केन्द्रमा राखेर सरकारसँग सेतुको भूमिका खेलेको छ । यो अवस्था आगामी दिन अझै घनीभूत हुनु आवश्यक छ ।
गोरखापत्र चुनौतीविहीन छ भन्ने पनि होइन । प्रविधिले सबै मिडियालाई अधीनस्त बनाउँदा गोरखापत्र पनि त्यसबाट अछुतो पक्कै छैन । नयाँ प्रविधिसँग तालमेल गर्न सकिएन भने युवापुस्तासँग जोडिन गाह्रो छ । त्यसका लागि युग र प्रविधि सुहाउँदो कलेवर र स्वरूपमा आफूलाई ढाल्नुपर्ने बाध्यता छ । हुन त गोरखापत्र अहिले स्मार्ट युगमा प्रवेश गरिसकेको छ । अनलाइन भर्सन उत्कृष्ट छ । दैनिक झन्डै सात लाख मानिसले गोरखापत्र अनलाइन अवलोकन गर्ने गर्छन्, त्यो पनि अर्गानिक । यसलाई गोरखापत्रप्रतिको विश्वास र आधिकारिकताको कसीमा राख्न सकिन्छ । यही गतिलाई निरन्तरता दिँदै जाने हो भने छापा पत्रकारिता, त्यसमा पनि गोरखापत्रको भविष्य थप उज्ज्वल छ ।