• ३० वैशाख २०८१, आइतबार

तीन सर्जकलाई मधुपर्क सम्मान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २६ गते । यस वर्षको मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मानका लागि तीन जना सर्जक छनोट हुनुभएको छ । लेखक तथा साहित्यकार पुरुषोत्तम बस्नेत, साहित्यकार गणेश रसिक र युवा सर्जक मोमिला जोशी सम्मानित हुनुहुने भएको हो ।

सर्जक बस्नेतलाई मधुपर्क सम्मान (गद्य) २०७९ प्रदान गरिने भएको छ । उहाँले मधुपर्क प्रकाशनको सुरुदेखि नै यस मासिक तथा अन्य विभिन्न प्रकाशनमार्फत नेपाली साहित्यमा विशिष्ट योगदान दिनुभएको छ । कथा, कविता, निबन्ध, संस्मरण, राजनीतिक लेखनमा कलम चलाउनुभएका बस्नेतले सिउँडी, मुकुट, कल्पना, नेपाल पुकारजस्ता ऐतिहासिक प्रकाशनको सम्पादन गर्नुभएको छ । 

नेपाली कांँग्रेसको इतिहास (दुई भाग) प्रकाशित गर्नुभएका उहाँले नेपाली राजनीतिक इतिहासका विभिन्न विषयमा फुटकर तथा अनुसन्धानात्मक लेख प्रकाशन गर्दै आउनुभएको छ । 

त्यस्तै, अर्का सर्जक गणेश रसिकलाई मधुपर्क सम्मान (पद्य), २०७९ प्रदान गरिने भएको छ । उहाँले मधुपर्क मासिक तथा अन्य विभिन्न प्रकाशनमार्फत नेपाली साहित्यमा विशिष्ट योगदान दिनुभएको छ । उहाँ कविता, गीत, संस्मरण, उपन्यास र गायनमा सुपरिचित हुनुहुन्छ । 

युवा पुस्ताका सर्जक मोमिला जोशीलाई मधुपर्क प्रतिभा सम्मान–२०७९ प्रदान गरिने भएको छ । उहाँका रचना मधुपर्क मासिकलगायत विभिन्न पत्रिकामा प्रकाशित छन् । कविता, निबन्ध र सम्पादनमा उहाँको कलम सशक्त मानिन्छ । उहाँहरूलाई सम्मानसहित जनही ३५ हजार रुपियाँ प्रदान गरिनेछ । 

सम्मान प्रदान गरिने सर्जकको नाम सिफारिस गर्न गोरखापत्र संस्थानले वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमको संयोजकत्वमा मधुपर्कका सम्पादक जयदेव भट्टराई (सदस्य) र नायव कार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्ले (सदस्यसचिव) रहेको सिफारिस समिति गठन गरेको थियो । 

उहाँहरूलाई यही जेठ ३० गते मधुपर्कको ५५औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा सम्मान प्रदान गरिने जनाइएको छ । विक्रम संवत् ०५९ देखि प्रदान गर्न थालिएको उक्त सम्मानका लागि मधुपर्क मासिकमार्फत साहित्यिक योगदान पु¥याएको व्यक्ति हुनुपर्ने मापदण्ड तय गरिएको छ ।