बालबालिकालाई कक्षामा विषयवस्तुको ज्ञान सिकाउने नयाँ शैली र प्रविधि प्रयोग गर्ने शिक्षकबाट नै बालबालिकाले लाभ उठाउँछन् । प्रविधिको प्रयोग गरेर प्रत्यक्ष देखाएर पढाउँदा छिटो सिक्ने र सम्झने हुन्छन् । विद्यार्थीलाई प्रविधिको प्रयोग गरी पढाउने शिक्षक आफूलाई फुर्सद हुने वित्तिकै सिकाइ सामग्री तयार गर्नेतर्फ लागिहाल्छन् ।
सिकाइका नयाँ तरिका र सामग्री खोजीका लागि शिक्षकले इन्टरनेटको मद्दत लिने गर्छन् । यस्ता शिक्षकले विद्यार्थीलाई उत्प्रेरित गर्न र सिकाइप्रति ध्यान केन्द्रित गराउन कुनै कुनै बेला शैक्षिक सान्दर्भिक डकुमेन्ट्री पनि देखाउने गर्छन् । विद्यालयमा हरेक विद्यार्थी केही सिक्न भनेर आएका हुन्छन् । प्रायः हाम्रा बालबालिका सिक्नुभन्दा पनि किताबका कुरा रटेर वा घोकेर पढ्ने र परीक्षामा पास हुने उद्देश्य राख्छन् । यसले गर्दा बुझेर पढ्ने र मनमा लागेका कुरा लेख्ने क्षमता कमजोर बन्दै गएको छ ।
बालबालिकामा निहीत प्रतिभालाई परिवार र विद्यालयबाट प्रस्फुटन गराउने हो तर कतिपय अवस्थामा घर र विद्यालयको भाषा एवं संस्कृतिबीच देखिने भिन्नताले केटाकेटीको सिकाइमा असहज उत्पन्न हुन सक्छ । तिनलाई विद्यालयको वातावरण फरक लाग्न सक्छ । यो परिस्थिति लामो अवधिसम्म रहँदैन । सिकाइ प्रक्रियालाई सार्थक तुल्याउने केटाकेटीले बुझ्ने र मनपर्ने भाषा र व्यवहारबाट सिकाइ प्रक्रिया सुचारु ग-यो भने त्यो सकारात्मक पक्ष हुनेछ ।
बाल अवस्थामै पनि आफ्नो सामाजिक परिवेशबाट धेरै कुरा सिकेका हुन्छन् र तीनलाई आफ्नो जीवनको दैनिक अनुभवबाट आफ्नो समुदायसम्म बुझ्ने प्रयास गर्छन् । बालबालिकाले आफ्ना परिवारबाट स्वयं बोल्न सिक्छ, हिँड्न जान्छ । जसले आफ्नो परिवारभित्र शिक्षित परिवेश पाएका हुन्छन् तिनले विद्यालयपूर्व नै केही न केही पढ्न लेख्न पनि सिकिसकेका हुन्छन् । अनि जे बोलिन्छ त्यो लेख्न पनि सकिन्छ र त्यसलाई पढ्न सकिन्छ भन्ने बुझ्छन् । यस्ता केटाकेटीलाई विद्यालय प्रवेश भएपछिको वातावरण सहज हुन्छ । विद्यालयमा अरू थप रमणीय वातावरण पाउँदा तीनको मस्तिष्क विकासमा बल पुग्छ । तिनका लागि विद्यालयको सिकाइ रचनात्मक प्रक्रिया बन्नपुग्छ ।
बालबालिकाले हाँसेर खेलेर, रमाएर कक्षाकोठामा सिक्ने वातावरण तय गरिनु पर्छ । तिनलाई अनुशासनका नाममा नियन्त्रणमा राख्ने प्रयास गरिनु हुँदैन । बालबालिकामा स्वअनुशासनको भाव विकसित गराउनु पर्छ । तिनलाई त्रास देखाउनु हुँदैन । कतिपय अभिभावक तथा शिक्षकहरू शारीरिक यातना वा दण्ड सजाय दिएर तह लगाउने प्रयास गर्छन् । यस्ता बालबालिकाको मनोबल खस्ने र विकृति उत्पन्न हुने मात्र गर्छ । बालबालिकालाई शारीरिक दण्ड सजाय दिँदा उनीहरू उच्छृङ्खल र उद्दण्ड बनेका थुप्रै उदाहरण छन् ।
यस्ता कुरामा विगतदेखिकै अध्ययनले गलत साबित गरेको छ । दण्ड र सजायले कालान्तरमा बालबालिकाका लागू औषध सेवन वा अपराधी गतिविधिमा लाग्ने गरेका र अन्य मानसिक समस्याको सिकार बन्न पुगेका छन् । शारीरिक यातनाले मानसिक चोट, आत्माग्लानि, हिनता बोध वा बदलाको भाव आदि विकास हुन सक्छ । यसर्थ अभिभावक तथा शिक्षकले बालबालिकालाई आज्ञाकारीभन्दा स्वनिर्णय क्षमता अभिवृद्धितर्फ लगाउनु पर्छ । यसो हुन सकेको खण्डमा बालबालिकामा असल गुणका साथै विवेकी र सद्गुणी बन्न सक्ने हुन्छ ।
यसैले सबै बालबालिकालाई स्तरीय शिक्षाको पहुँच हुनुपर्छ भन्ने आम धारणा बन्दै आएको छ । सन् १९९० मा थाइल्यान्डको जेम्टेनमा विश्व शिक्षा मञ्चले आयोजना गरेको विश्व सम्मेलनमा आधारभूत तथा प्राथमिक शिक्षामा सबैको पहुँच पुग्नुपर्छ भन्ने प्रतिबद्धता जनाएका थिए । यसका लागि सम्बन्धित राष्ट्रले आफ्नो अनकूलता मिलाई समान रूपमा आधारभूत शिक्षाको अवसर हरेक बालबालिकासम्म पु-याउने नीति र कार्यक्रम तय गरिनु सबै सम्बन्धित राष्ट्र सहमत भए ।
यसैगरी, अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको तìवावधानमा बालहितसम्बन्धी सम्मेलनमा पनि सबैका लागि शिक्षा जोम्टेन घोषणापत्रलाई समर्थन जनाउँदै विद्यालय जाने उमेरका सबै बालबालिकालाई अनिवार्य शिक्षा प्रदान गर्ने र महिला शिक्षा र विशेष शिक्षाको प्रबन्ध मिलाउने प्रतिबद्धता जनाएका थिए । यसैगरी, सन् २००० मा सेनेगलको डकार सम्मेलनले गरिब तथा कम विकसित क्षेत्रमा सबैका लागि शिक्षा लक्ष्य पूरा गर्ने सामूहिक प्रतिबद्धता भन्ने वाक्यलाई स्वीकार ग-यो । यो लक्ष्यको कार्यान्वयन २०१५ सम्म पूरा गर्ने अठोट लिए पनि निर्धारित समयपछि पनि निरन्तरता दिँदै आएको छ ।
नेपालले पनि सबै नागरिकलाई शिक्षाको पहुँच सुनिश्चित गर्ने कार्यक्रमसहित अघि बढिरहेको छ । तथापि शैक्षिक गन्तव्यमा पुग्न हाम्रो आर्थिक अभाव र फितलो योजना र सरोकारवालाको प्रतिबद्धताको कमी आदि कारणले हाम्रो शिक्षा व्यवस्थित ढङ्गले अघि बढ्न सकिरहेको छैन । अझै अन्योल र अव्यवस्थित अवस्थामा छ । पहिलेदेखि शिक्षा नीति स्पष्ट हुन सकेको छैन । जसले गर्दा शिक्षालाई एकातर्फ खुला रूपमा व्यापारीकरण र अर्कातर्फ राजनीतीकरण गर्दा सरकारले ल्याएका नीति र कार्यक्रमसमेत असफल भएका छन् ।
निजी विद्यालय र सरकारबीच सामुदायिक विद्यालय र सरकारबीच सहमति भएर पनि कैयाँै कार्यान्वयन हुन सकेका छैनन् । अझ निजी विद्यालयहरू त हामीले भनेबमोजिम हुनुपर्छ भन्दा पनि सरकार मूकदर्शक बनेको देखिन्छ । सामुदायिक विद्यालयमा शिक्षकहरू राज्यबाट सकेसम्म धेरै सुविधा लिनुपर्ने तर आफ्ना केटाकेटीलाई आफ्ना विद्यालयमा वा पायक पर्ने अन्य सामुदायिक विद्यालयमा पढाउन नचाहने प्रवृत्तिले पनि आजको शिक्षाको अराजक स्थिति निम्त्याउन मद्दत पुगेको हो ।
सामुदायिक विद्यालयका बालबालिका विद्यालय पुगेर पनि त्यहाँको शिक्षक र शैक्षिक वातावरणका कारण बीचैमा अध्ययनबाट बाहिरिने गरेका छन् । बालमैत्री सहभागितामूलक सिकाइ शिक्षण क्रियाकलापका बारेमा जति सैद्धान्तिक कुरा गरे पनि व्यवहारमा शिक्षक र विद्यार्थी एक अर्काप्रति नकारात्मक भएका प्रशस्त घटना छन् । यसरी शिक्षा नीति र व्यवहारमा पहिलेदेखि नै विरोधाभास देखिँदै आएको छ ।
बालबालिका बढी जिज्ञासु र उत्सुक हुने हँुदा जुनसुकै बेला पनि शिक्षकलाई कुनै पनि कुरा सोधिरहन सक्छन् । यसमा शिक्षकले पनि आफ्नो उत्तम जवाफ उसलाई नै प्रति प्रश्न सोध्नु हो । जुन प्रश्नले बालबालिकामा मौलिकताको विकास गराओस् । अनि सहज तरिकाले मूल्याङ्कन गर्न पनि सजिलो बनोस् । मूल्याङ्कन
केबल त्रैमासिक र वार्षिक मात्र नभएर मूल्याङ्कन निरन्तर गरिरहने प्रक्रिया होस् । सिकाइ शिक्षण विधि र मूल्याङ्कनसँग सँगै चलिरहने प्रक्रिया हुन् जसले बालबालिकालाई उत्सुक र जागरिलो बनाउँछ ।
हाम्रो शिक्षामा बालबालिकाको पहुँच बढे पनि गुणस्तर बढेन । उद्दार कक्षोन्नतिले तल्लो तहबाट सबैजसो बालबालिका माथिल्लो कक्षा चढ्दै गए । यसले गर्दा सामान्य एक हरफ लेख्न नसक्ने राम्रोसँग फरर पढ्न नसक्नेहरू पनि माध्यमिक तहसम्म पुग्न थाले । यसरी आउँदा माथिल्ला कक्षासम्म सहजै पहुँच पुग्न थाल्यो । यो स्थिति हेर्दा गुणस्तर अरू खस्कने डर उत्पन्न गरायो तर उद्दार कक्षान्नोतिको नीति नेपालमा मात्र होइन कैयौँ अरू विकसित मुलुक पनि पहिलेदेखि नै लागू गरिसकेका कुरा हुन् ।
सन् २०२१ बाट कोभिडको मारमा पनि धेरै जसो देशका विद्यालयका बालबालिका नै परे । नेपालमा पनि विद्यालय, विश्वविद्यालयका विद्यार्थी नै लकडाउनको मार भोग्न पुगे । अहिले कोरोनाको सङ्क्रमण दर अत्यन्त न्यून छ । भविष्यमा यस्तो कुनै पनि महामारी आएमा सम्बन्धित निकाय चनाखो हुनुपर्छ ।