• २२ वैशाख २०८२, सोमबार

पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिने

blog

सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग छलफल पछि ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री आचार्य ।

सन्तोष दहित

दाङ, वैशाख २२ गते । लुम्बिनी प्रदेश सरकारले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पोषण सुधारका लागि समेत सक्रिय रूपमा परिचालन गर्ने रणनीति तयार गर्ने भएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घ (नेभा) लुम्बिनी प्रदेशका प्रतिनिधिहरूसँगको भेटमा प्रदेश सरकारले मातृ मृत्युदर, बाल मृत्युदर घटाउने र पोषण सुधार गर्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने योजना बनाउने जानकारी दिनुभयो ।

‘सामुदायिक स्वास्थ्य प्रवर्धनमा महिला स्वास्थ्य स्वयंसेविकाहरू मेरुदण्डको भूमिकामा हुनुहुन्छ । प्रदेश सरकारले तपाईंहरूबाट प्रदान हुने सेवालाई थप प्रोत्साहन गर्ने योजनासहित सेवा निवृत्त हुँदा सम्मान गर्ने कार्यक्रम सञ्चालन गरिरहेका छौं’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘आगामी दिनमा पोषण सुधारसँग सम्बन्धित कार्यक्रममा समेत तपाईंहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न रणनीति बनाउने छौँ ।’

लुम्बिनी प्रदेशमा मातृ मृत्यु, बाल मृत्यु तथा कुपोषणको समस्या बढ्दो क्रममा रहेको छ । यस्ता समस्या समाधानका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई अझ प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा सरकारले योजना बनाउने भएको हो ।

नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घ (नेभा) लुम्बिनी प्रदेशले विभिन्न माग समेटिएको ७ बुँदे ज्ञापनपत्र मुख्यमन्त्रीलाई बुझाएको छ । सङ्घकी प्रदेश अध्यक्ष सुनिता शर्माको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले २०४६ सालदेखि कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूले अझै पनि सेवा दिइरहेकाले प्रोत्साहनका लागि सरकारले नीति निर्माण गर्नुपर्ने माग राखेको छ ।

मुख्यमन्त्री आचार्यले महिला स्वास्थ्य स्वयंसेविकालाई अनिवार्य स्वास्थ्य बिमा कार्यक्रममा समावेश गर्ने तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनेगरी स्वास्थ्य मन्त्रालयलाई योजना बनाउन निर्देशन दिनुभएको छ । लुम्बिनी प्रदेशमा हाल ८ हजार ९ सय ७ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।

सङ्घले सेवा निवृत्तपछि अवकाश जीवन सहज बनाउन प्रतिवर्ष ३० हजार रुपियाँको दरले एकमुष्ट रकम उपलब्ध गराउनुपर्ने, क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिम र गोष्ठीको व्यवस्था गर्नुपर्ने, राष्ट्रिय अभियानमा दिइँदै आएको भत्ता वृद्धि गरी १ हजार ५ सय रुपियाँ पुर्‍याउनुपर्ने,  सामाजिक सुरक्षा कोषमा समावेश गरिनुपर्ने लगायतका माग राखेको छ ।