• ७ पुस २०८२, सोमबार

जाडो बढेसँगै उत्तरी गोरखाका गाउँबस्ती सुनसान

blog

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – १ स्थित साम्दोमा खाली भएका घरहरु । तस्बिर : सुरेन गुरुङ

गुणबहादुर रोका 

सुलीकोट, पुस ७ गते । उत्तरी गोरखाको हिमाली गाउँबस्ती जाडो बढेसँगै फेरि सुनसान बन्दै गएका छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि कठयाङ्रग्रिने चिसो छल्न स्थानीय बासिन्दा सहरतिर झर्न थालेपछि चुमनुब्री गाउँपालिकाका उच्च हिमाली क्षेत्रका बस्तीहरु सबै रित्तिएका छन् । 

चुमनुब्री गाउँपालिका –१ र ७ का अधिकांश परिवार मङ्सिरको दोस्रो सातादेखि नै काठमाडौंतर्फ लागिसकेका छन्, गाउँपालिकाका अध्यक्ष निमा लामाले भन्नुभयो, ‘करिब ९० प्रतिशत गाउँले सहर झरिसकेका छन् भने बाँकी १० प्रतिशत जति मात्र गाउँमा घर कुरुवा, पशुपालन र खेतीपातीको रेखदेखका लागि मात्र एकाध मानिस बस्न बाध्य छन् ।’ 

अहिले गाउँका हरेक घरमा मानिस नै देखिदैनन् एउटा टोलको घर चौंरीकाे स्याहार गर्न छरछिमेकको घर हेर्न एक जना मानिस बसेका हुन्छन् । जाडो बढेपछि लेकका खर्कमा रहेका चौरी गाउँमा झारिएकाले बाक्लो भुत्ला हुने याक भने अझै माथिल्लो चरनमै रहेका स्थानीयले बताएका छन् । 

चौंरीलाई चिसो छल्न घरमै राख्नुपरेकाले पनि गाउँ पूरै खाली गर्न मिल्दैन, चुमनुब्री–७ का वडा अध्यक्ष टासी लामाले भन्नुभयो, ‘चौंरीको स्याहार सम्भारका लागि घरमा केही  आवश्यक मानिस  बाहेक प्रायः सबै घरमा ताला लगाएर सहर झर्ने गरेका छन् ।’  

चुमनुब्री गाउँपालिका –१ अन्तर्गत तिब्बतको सिमाना नजिकको साम्दो गाउँमा पनि उस्तै अवस्था छ । करिब ४५ घरधुरी रहेको गाउँमा अहिले ५–१० घरमा एकाध मात्र मानिस बसिरहेका छन् । बाँकी घरमा ताला लागेको छ । होटेल तथा लजहरु पनि प्रायः सबै बन्द भएका छन् । 

जाडोको प्रभावले शिक्षाक्षेत्रमा पनि असर परेको छ । चुमनुब्री गाउँपालिका–२ स्थित ल्हो माध्यमिक विद्यालयका विद्यार्थीहरु आरुघाट गाउँपालिका – ४ को कोखेटारमा सारिएको छ । चैतसम्मका लागि विद्यालय नै अस्थायी रुपमा तल स्थानान्तरण गरिएको विद्यालयले जनाएको छ । 

सहर झरेका स्थानीयमध्ये धेरैजसो तीर्थयात्रामा निस्कने गर्छन् । धर्मशाला, लुम्बिनी तथा विभिन्न बौद्ध धर्मगुरुको आश्रममा समय बिताउने वा काठमाडौंमा रहेका आफ्ना छोराछोरीसँग बस्ने चलन रहेको स्थानीय लोप्साङ लामाले बताउनुभयो । 

हाल सहरमा रहेका बासिन्दा ग्याल्बाे ल्होसार मनाउन फेरि गाउँ फर्कने तयारीमा छन् । जाडोले गाउँ रित्तिए पनि चाडपर्वसँगै उत्तरी गोरखाका यी सुनसान बस्तीहरु पुनः चहलपहल हुने स्थानीयको विश्वास छ ।