अस्मिता पोखरेल
धादिङबेँसी, पुस ६ गते । धादिङबेंसीमा सम्पन्न मोतीविन्दु शल्यक्रिया शिविरमा एक सय सात जनाको सफल शल्यक्रिया गरिएको छ । शिविरमा ४६ जनाको फेको प्रविधिबाट र ६१ जनाको एसआइसिएस प्रविधिबाट शल्यक्रिया गरिएको तिलगङ्गा सर्जिकल आँखा केन्द्र धादिङका प्रमुख सुपेन्द्र ताम्राकारले जानकारी दिनु भयो ।
ताम्राकारले मोतीविन्दु उमेरसँग मात्र सम्बन्धित नभई चोटपटकका कारण तथा बालबालिकामा जन्मजात रूपमा समेत देखिन सक्ने जानकारी दिनुभयो । उहाँले यस्ता जटिल अवस्थाको उपचार भने अस्पतालमै गरिनुपर्ने स्पष्ट पार्दै आँखाको सुरक्षाका लागि चोटपटकबाट बच्न, स्वस्थ जीवनशैली अपनाउन तथा धूम्रपान र मदिरा सेवन नगर्न आग्रह गर्नु भयो।
तिलगङ्गा आँखा अस्पतालबाट सर्जरीका लागि सहभागी डाक्टर किपा बैद्यका अनुसार शिविरमा आएका अधिकांश बिरामीमा उमेरका कारण मोतीविन्दु देखिएको थियो। मोतीविन्दु प्रायः उमेर बढेसँगै आँखाको लेन्स क्रमशः धमिलो हुँदै जाने समस्या भएको उल्लेख गर्दै समयमै शल्यक्रिया गरी कृत्रिम लेन्स राखेपछि बिरामीले पुनः स्पष्ट दृष्टि पाउने डा. बैद्यले बताउनु भयो।
नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान तथा तिलगङ्गा सर्जिकल आँखा केन्द्र, धादिङको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको शिविरबाट सेवा लिने अधिकांश बिरामी नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाका थिए ।
शिविरका क्रममा मस्ट मण्डली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि. र सिम्खडा कल्याणकारी कोष, धादिङले बिरामी तथा कुरुवाहरूका लागि निःशुल्क जाउलो वितरणमा सहयोग गरेको थियो।
शिविरमा दी फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोग रहेको थियो भने नीलकण्ठ बहुमुखी क्याम्पसको युवा रेडक्रस सर्कल र नेपाल आर्मी कलेजका जनस्वास्थ्य तेस्रो वर्षका विद्यार्थीको स्वयंसेवक सहयोग रहेको थियो ।