• १० पुस २०८१, बुधबार

फोहोरबाटै प्राङ्गारिक मल

blog

नेपाल कृषिप्रधान देश हो । यहाँका ६१ प्रतिशत जनता कृषिमा आधारित छन् । हिमाल, पहाड र तराईमा विभाजित हाम्रो देशका सबै भाग स्रोतसाधनले सम्पन्न छन् । ठाउँअनुसार आफ्नै किसिमका विशेषता छन् । त्यसको पहिचान र सदुपयोग हामीले कतिसम्म गर्न सकेका छौँ भन्नेमा निर्भर छ ।

आफूमा भएका सहस्र गुणका बारेमा अनभिज्ञ भई अरूलाई मात्र राम्रो देख्ने हाम्रो स्वभाव छ । वनजङ्गल, समथर भू–भागका साथै प्रकृतिले हामीलाई धेरै उपयोगी चिज दिएको छ । भू–गर्भमा खानी भएको पनि जानकारी आइरहन्छ । स्रोतसाधनमा हामी धनी छौँ । यसको पहिचान र उपयोग हुन नसकेका कारण गरिब भएको महसुस हामीलाई भइरहेको छ । अरूका अगाडि आफूलाई गरिब भन्न गौरव मान्छौँ ।

हामी जनता स्वावलम्बी र मेहनती बन्न सक्यौँ र हाम्रो नेतृत्व पनि दूरदर्शी र निःस्वार्थ बन्न सक्यो भने मात्र हामी र हाम्रा सन्तति सुखी र समृद्ध बन्नेछन् । यो हाम्रो पहिचान युगान्तसम्म रहिरहनेछ । हाम्रा सन्तति परिवार पाल्नैका लागि विदेसिनुपर्ने छैन । सरकार पनि देश चलाउन आफ्ना नागरिक विदेश पठाएर आउने विप्रेषणको आशामा बस्नुपर्ने छैन । हाम्रा सन्तति विदेसिँदा हामीलाई जति पीडा हुन्छ, त्यत्ति नै पीडा नेपाल आमालाई पनि हुन्छ । 

कृषि उपजका लागि मल आवश्यक पर्छ । किसानले गाईबस्तु पालिरहेका छन् । बोटबिरुवा, वनजङ्गल, पाखापखेरा हाम्रोमा प्रशस्त छन् । अब हामीले किसानलाई कम्पोस्ट मल बनाउने सीप सिकाउनुपर्छ, घरघरमा गएर । वनजङ्गलमा स्याउला पाइन्छ । त्यो स्याउला ल्याएर गाईभैँसीको गोठमा ओछ्याउने र त्यसलाई गोबरसहित मलखाडीमा फालेपछि राम्रो मल बन्छ । यो पुरानो प्रचलन हो ।

विगत फर्केर हेरौँ, नेपालमा द्वन्द्वकाल सुरु भयो । त्यसपछि सुरक्षाका कारणले बाध्यतावश नेपाली जनजीवन सहरकेन्द्रित  हुन गयो । गाउँघरका खेतीयोग्य जमिन बाँझो रहन थाल्यो । खाद्यान्नलगायतका विभिन्न समस्या नेपालीले भोग्नुप-यो । केही वर्षअघिसम्म नेपालले निर्यात गर्ने खाद्यान्नलगायतका वस्तु दैनिक आवश्यकता परिपूर्तिका लागि आयात गर्नुपर्ने बाध्यता भयो । युवा वैदेशिक रोजगारीमा आकर्षित हँुदै गए । हाम्रा सन्तति पनि सहरकेन्द्रित भई गाउँघरको परिवेशबाट अनभिज्ञ हुँदै गए । त्यसपछि नेपालीका दुःखका दिनगन्ती, पनि सुरु हुन थाले । यसबाट हामीले पाठ सिक्नुपर्छ ।

अब हामीले विगतका अनुभवबाट ठूलो शिक्षा लिनुपर्छ । नेपाल र नेपालीको अस्तित्व र प्रतिष्ठा जोगाउने गरी सरकारले रणनीतिक योजना बनाउनुपर्छ । यसका लागि कृषिमा नयाँ प्रविधिसहितको टेवा सरकारले किसानलाई उपलब्ध गराउनुपर्छ । नेपालमा भूमिहीन र अतिविपन्न सीमान्तकृत भएका छन् ।

उनीहरूको अवस्था भयावह छ । सरकारको अहिलेको नीति उनीहरूको पहुँचमा छैन । भूमिहीन र अतिविपन्नका लागि अनुदान, टेवा र सीप दिई सरकारको कृषि कार्यक्रम वा उनीहरूको मागअनुसारको कार्यक्रमबाट आयआर्जनमा संलग्न गराउने रणनीति सरकारले ल्याउनुपर्छ । 

उदाहरणका लागि तानसेन नगरपालिका पाल्पाले गत वर्षदेखि भूमिहीन र अतिविपन्नलाई कृषि स्वरोजगारबाट आयआर्जनमा संलग्न गराउन सुरुवात गरेको छ । साना किसानलाई पनि समूहमा आबद्ध गरी उनीहरूको मागअनुसार सामूहिक तरकारी खेती कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रम अन्यत्रका लागि पनि आवश्यक छ ।

तानसेन नगरपालिकाबाट सञ्चालित सामूहिक तरकारी खेती कार्यक्रमको ठूला पँधेरा कृषक समूहले गँड्यौलाबाट मल बनाउने तालिम माग गरेको छ । यसलाई सरकारले किसान आवाजको प्रतीकात्मक सन्देशका रूपमा लिनुपर्छ । तानसेन नगरपालिकाले भूमिहीन, अतिविपन्नका लागि र साना किसानका लागि सञ्चालन गरेको कृषि कार्यक्रम सरकारले अन्यत्र पनि गराउन उत्प्रेरित गर्न जरुरी छ ।

साथै प्राङ्गारिक र गँड्यौलाबाट मल बनाउने सीप किसानलाई दिई अर्गानिक कृषिवस्तु उत्पादनमा जोड दिनुपर्छ । यसो भएमा मल बनाउने प्रक्रियामा किसान आफैँले निरन्तरता दिनेछन् ।   कृषि उत्पादन गुणात्मक रूपमा बढाउनुपर्छ, सङ्ख्यात्मक होइन । यसो गर्न सके प्राङ्गारिक मल प्रयोग र अर्गानिक उत्पादनमा बल पुग्नेछ । 

धेरैजसो दैनिक खाद्य वस्तुमा हामी भारतबाट निर्भर छौँ । सङ्कट परेका बेला भारतले झन् ठूलो सङ्कट थपिदिने गरेको तीतो अनुभव हामीसँग छ । यो समस्या अन्य देशबाट पनि  नआउला भन्न सकिँदैन । त्यसैले हामी अत्यावश्यक वस्तुमा बढीभन्दा बढी आत्मनिर्भर  बन्नुपर्छ । सरकारले पनि आत्मनिर्भर बनाउने नीति ल्याउनुपर्छ । रासायनिक मलका लागि बर्सेनि अर्बौंै नेपाली रुपियाँ बाहिरिन्छ । तैपनि मल पर्याप्त पुग्ने गरी र समयमा आउँदैन । खेती लगाउने बेलामा सधैँ मलको हाहाकार हुन्छ ।

मल पाइएन भन्ने किसानको गुनासोलाई कहिल्यै सम्बोधन भएन । रासायनिक मल खरिदमा बाहिरिने बजेट स्वदेशमै मल बनाउनका लागि प्रयोग गर्ने र किसानलाई सीप र केही टेवासमेत दिई अर्गानिक उत्पादनको प्रयोग र निर्यातमा जोड दिने दीर्घकालीन रणनीतिक योजना सरकारले ल्याउनुपर्छ । यसबाट स्वरोजगारी र रोजगारीका अवसर नेपालमा नै सिर्जना हुन्छ । सरकारले युवालाई वैदेशिक रोजगारीमा पठाउनका लागि प्रोत्साहन गर्नुहँुदैन । उनीहरूलाई आत्मनिर्भर बन्न र बनाउन सघाउनुपर्छ । 

गाउँघरमा कम्पोस्ट मल बनाउने प्रविधि र बजारबाट निस्कने फोहोरबाट मल बनाउने प्रविधिको व्यवस्थापन सरकारले गर्नुपर्छ । कृषि क्षेत्र र पशुपालन क्षेत्रमा काम गर्ने प्राविधिकलाई दक्षताका साथ कार्यक्षेत्रमा परिचालन गर्ने नीति सरकारले ल्याउनुपर्छ । मल र फोहोर व्यवस्थापनमा नेपाललाई आत्मनिर्भर बनाउने कोसिस गर्नुपर्छ । किसानलाई गाई, भैँसी, बाख्रा, कुखुरा आदि पाल्नका लागि आवश्यकताअनुसार अनुदान वा  सहुलियत कर्जाका साथै सीप दिई प्रोत्साहित गर्नुपर्छ ।

यसबाट किसानले मलको आवश्यकता परिपूर्ति मात्र गर्दैनन् आयआर्जनको गतिलो स्रोत पनि बन्छ । युवालाई वैदेशिक रोजगारीमा पठाइ रेमिट्यान्स भिœयाउने योजना नबनाएर युवा शक्तिलाई देशमा नै खपत हुने योजना बनाउनु अबको आवश्यकता हो ।

सहरी क्षेत्रमा भएको फोहोर व्यवस्थापनबाट मल बनाउने नयाँ योजना र प्रविधि ल्याउने कार्य काठमाडौँ महानगरपालिकाको नयाँ नेतृत्वले पहल गरिरहेको छ । काठमाडौँ महानगरपालिकाको  फोहोरलाई मोहर बनाउने सोचसहितको यो रणनीतिक  योजना सबैका लागि अनुकरणीय हुनेछ । सबै पक्षले यसमा सहयोग गरेर फोहोर व्यवस्थापनबाट प्राङ्गारिक मल र यथासम्भव ऊर्जा शक्ति उत्पादन गर्ने रणनीतिक कार्ययोजना बनाई दोहोरो लाभको सिद्धान्त लागू गर्र्न आवश्यक छ । 

गाउँघरमा प्राङ्गारिक मल बनाउने र सहरी क्षेत्रमा फोहोर व्यवस्थापन रणनीति कार्यमा जोड दिई  रासायनिक मलको आवश्यकतालाई न्यूनीकरण गर्न जरुरी छ । भोलिको विकासका लागि पनि प्राङ्गारिक मल र अर्गानिक कृषि बाली उत्पादनको लक्ष्य राख्नु राष्ट्रको आवश्यकता बन्नुपर्छ । सहरकेन्द्रित नेपाली जनजीवन समस्यैसमस्यामा अल्झिएर कहालीलाग्दो भएको हुँदै गएको छ । अकासिँदै गएको महँगीले पछिल्ला दिन सहज नहुने सङ्केत देखिएको छ । 

अब सरकारले बस्ती विकासको नयाँ अवधारण ल्याई गाउँघरमा खालि भएका बस्तीमा अपुग भएका सुविधाको व्यवस्थापन गरी सहरकेन्द्रित बेरोजगार नागरिकलाई गाउँघरमा जान र आफ्नो जग्गा बाँझो नराखी अर्गानिक कृषि उपजबाट व्यावसायिक बन्न प्रोत्साहित हुने रणनीतिक योजना ल्याउन आवश्यक छ । यसो भएमा सहरकेन्द्रित बेरोजगार नागरिक आफ्नो गाउँघरमा बसी आयआर्जन गर्न र वैदेशिक रोजगारीमा गएका नागरिक पनि गाउँ फर्किएर आयआर्जन गर्न प्रोत्साहित हुने सम्भावना रहन्छ । यसो हुन सकेमा नेपाल र  नेपालीको पहिचान र प्रतिष्ठा विश्व रङ्गमञ्चमा नै उच्च  हुनेछ ।  

Author

कमला खनाल