• ५ असोज २०८१, शनिबार

सुदूरपश्चिम प्रदेश सरकारकाे नीति तथा कार्यक्रममाथि छलफल जारी

blog

अविनाश चौधरी

धनगढी, जेठ २५ गते । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल जारी रहेको छ । 

बुधबार लगातार तेस्रो दिन पनि नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल गरिएको हो । छलफलमा भाग लिनुहुँदै निवर्तमान मन्त्रीसमेत रहनु भएका प्रदेश सभा सदस्य लालबहादुर खड्काले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो रहेको प्रतिक्रिया दिनुभयो । ‘यसमा केही कुरा छुटेका छन्, थपेर अझ राम्रो बनाउनुपर्छ’, उहाँले भन्नुभयो । 

प्रदेश सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि बढाउने कुरा अत्यन्त राम्रो रहेको उल्लेख गर्नुहुँदै खड्काले प्राविधिक विश्वविद्यालय सञ्चालन गर्ने गरी नीति आएको भए अझै राम्रो हुन्थ्यो भन्नुभयो । ‘किनभने, ऐन तयार छ । सहयोगीहरु पनि सहयोग गर्न तयार छन् । प्रदेश सरकारले सहमति पनि दिइसकेको छ’, उहाँले भन्नुभयो । 

यसैगरी, नीति तथा कार्यक्रमले मुक्त हलियालाई समेटे पनि कञ्चनपुरको आरक्ष पीडितलाई समेट्न नसकेको खड्काको भनाइ थियो । ‘१४ शिविरमा दुई हजार ४७३ आरक्ष पीडित छन्’, उहाँले भन्नुभयो । ‘आरक्ष पीडितले विभिन्न समस्या खेपिरहेकाले नीति तथा कार्यक्रममा उनीहरुका लागि केही कुरा आउनु पर्दथ्यो ।’

यस्तै, अर्का प्रदेश सभा सदस्य महेशदत्त जोशीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सुदूरपश्चिमको लागि निकै उपयुक्त रहेको बताउनुभयो । ‘यो धेरै वर्षसम्म चल्ने नीति तथा कार्यक्रम हो’, उहाँले भन्नुभयो । ‘असार १ गते आउने बजेटले नीति तथा कार्यक्रम अनुसारको कार्यक्रम गर्न पुग्दैन । १० वर्षसम्मै जाने नीति तथा कार्यक्रम हो ।’ 

उहाँले प्रदेशको ८८ वटै स्थानीय तहमा सरकारले होमस्टे सञ्चालन गर्ने गरी बजेट छुट्टयाउन आवश्यक रहेको औंल्याउनुभयो । यसैगरी, धार्मिक संस्थाहरुलाई पनि नीति तथा कार्यक्रमले समेटेको भन्दै जोशीले अगाडि थप्नुभयो–‘मठमन्दिर, चर्च, गुम्बा कसैको पनि लेखा प्रणाली छैन । प्रदेश सरकारले धार्मिक संस्थालाई बजेट विनियोजन गरेपछि त्यसमा सार्वजनिक सुनुवाइ हुने व्यवस्था गर्नुपर्छ ।’  धार्मिक संस्थाहरुमा रुपियाँ पैसाको कुनै लेखाजोखा नहुने गरेको उल्लेख गर्नुहुँदै उहाँले सकेसम्म नीति बनाएर यस्ता संस्थालाई लेखा प्रणालीमा ल्याउनु पर्नेमा जोड दिनुभयो । यसैगरी, ज्येष्ठ नागरिक आवास गृह बनाउनु पर्ने र रैथाने प्रजातिको बीउ संरक्षण गर्नु पर्नेमा उहाँले जोड दिनुभयो 

यस्तै, प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधित्व गरिरहनुभएका प्रदेश सभा सदस्य मालामति राना थारुले सरकारले ल्याएको नीति तथा कार्यक्रम योजनावद्ध रुपमा कार्यान्वयन हुन नसक्ने बताउनुभयो । उहाँले विगतका विषयवस्तुलाई नै तोडमोड गरेर नीति तथा कार्यक्रममा राखिएको बताउनुभयो । ‘पहिलेकै विषयहरुलाई तोडमोड गरेर नीति तथा कार्यक्रम ल्याइएको छ’, रानाले भन्नुभयो । ‘घुमाउरो पारामा शंसोधन गरी आएको नीति तथा कार्यक्रम दीर्घकालीन हुन सक्दैन ।’ 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा युग सुहाउँदो विकासको कुरा एक प्रतिशत पनि नरहेको उहाँको आरोप थियो । 

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभा सदस्यहरु दुर्गाकुमारी कामी, माया भट्ट, कुन्ती जोशी, मालामति राना, दिव्यश्वरी शाह, अर्चना गहतराज, कुमारी नन्दा बम माया बोहरा तामाङले भाग लिनुभएको थियो ।