काठमाडौँ, वैशाख २४ गते । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले गोरखापत्रलाई सिर्जनात्मक बनाउनु जरुरी रहेको बताउनुभएको छ । गोरखापत्र एक सय २५ वर्ष प्रवेश गरेको अवसरमा शुभकामना दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उपाध्यक्ष विमला घिमिरेको शुभकामना सन्देशमा भन्नुभएको छ, ‘‘यो भूमिका एउटा दस्तावेजीकरणको रूपमा मात्र नभएर यसलाई अझै सिर्जनात्मक बनाउनु आवश्यक छ ।’’
शुभकामना सन्देशको पूर्णपाठ :
नेपालको पहिलो अखबार, गोरखापत्र जुन त्यतिबेला अत्यन्तै नेपालीहरुले मन पराएको पत्रिका पनि हो । त्यसको १२५ औँ वर्ष पुगेको उपलक्ष्यमा म यो मिडियाकर्मी साथीहरूलाई, अखबारलाई पनि हार्दिक शुभकामना दिन चाहन्छु । यस्तै, नेपालमा गर्नुपर्ने कामहरू धेरै छन् ।
यहाँहरुले एउटा संसदीय अभ्यासमा पनि धेरै योगदान पुर्याउनुभएको छ । त्यो योगदानको पनि उच्च कदर भइरहेको छ भन्ने मलाई लाग्छ । र यसलाई पनि हामी कदर गर्न चाहन्छौं । नेपाली जनता, नेपालको हाम्रो व्यवस्था, हिजो हामीले लडेर ल्याएको जुन व्यवस्था छ, यसलाई संस्थागत गर्ने कुरामा यहाँहरूको भूमिका, अझै तीव्र गतिमा अगाडि बढ्दै जाओस् । म यो पनि शुभकामना दिन चाहन्छु । विशेषगरी, प्रेस स्वतन्त्रताको पक्षमा पनि यहाँहरु लडिरहेको हिजोदेखि हामीले त्यो देखिरहेका छौं । अहिले पनि विभिन्न खालका ठुला मिडियाहरू विशेषगरी, सामाजिक सञ्जालका माध्यमबाट केही आक्रमणहरू पनि भएका छन् । यो सिङ्गो व्यवस्थाप्रति, यो व्यवस्थाप्रति भनेको मिडियाप्रति पनि हो । त्यसकारण, अझ जिम्मेवारी थपिएको छ भन्ने लाग्छ । सिर्जनात्मक कामहरू गरिरहनुभएको छ । नेपालमा बोलिने ४५ वटा भाषामा यहाँहरुले समाचार सामाग्री प्रकाशन गरिरहनुभएको छ । यस्तै अरु सिर्जनात्मक कामहरू गर्न सकिन्छ ।
विशेषगरी, अहिलेको नेपाली युवापुस्तालाई हाम्रो व्यवस्थाप्रति जिम्मेवार बनाउने, हिजोको इतिहासबाट सिकेर वर्तमानमा केही गर्न सकिन्छ । कस्तो नेपाल आगामी पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ ? र सक्छौं भन्ने विषयमा समेत यहाँहरुको सक्रिय भूमिका रहोस् । म यो पनि आग्रह गर्न चाहन्छु । खासगरी, संसदीय अभ्यासमा यहाँहरुले पुर्याउनुभएको योगदान महत्वपूर्ण छ । एउटा दस्तावेजको रूपमा हेर्न सक्छौं, हिजोदेखिका कुराहरू । त्यो दस्तावेजमा हेर्दाखेरी गोरखापत्रमा के थियो त ? भन्ने कुराहरुले हिजो यो पत्रिकाले खेलेको भूमिका त्यहाँबाट हेर्दाखेरी पनि थाहा हुन्छ ।
यो भूमिका एउटा दस्तावेजीकरणको रूपमा मात्र नभएर यसलाई अझै सिर्जनात्मक बनाउनका निम्ति त्यहाँ बोलिने कतिपय भाषागत त्रुटी हुन सक्छन् । कतिपय माननीयज्यूका बोलिने कुराहरु हुन्छन्, कतिपय माननीय महिलाका नराम्रा कुराहरु अलि बढी हाइलाइट गरेर एकाध शब्द बिग्रिए भनेपनि त्यसलाई अलि हतोत्साहित हुने खालका अरु मिडियाहरुले त्यस्तो गरेको देख्छु । त्यसलाई पनि निराकरण गर्नपर्छ । हामी सबै समावेशी हिसाबले त्यहाँ प्रतिनिधित्व भएको छ, खास प्रतिनिधित्व भएको छ । त्योे प्रतिनिधित्वलाई पनि हतोत्साहित गर्यौं भने कसले उहाँहरूलाई प्रमोट गर्ने हो ? भन्ने कुरा पनि त्यतिकै छलफलको विषय हो । त्यसैले यस्ता कुराहरूमा पनि मिडियाले अलि हाइलाइट गरोस् । विधेयकहरू पारित गर्ने कुराहरू, विधेयकमा हुने छलफलहरूमा चाहिँ एकदमै सिर्जनात्मक हिसाबले प्रतिनिधिसभा र राष्ट्रिय सभा यो दुवै सभालाई आखिरमा विधेयक पास त दुवै सभाबाट गर्नपर्ने हुन्छ । त्यसलाई समान हिसाबले हाइलाइट गर्ने कुराहरू, कतिपय राम्रा अभ्यासहरू राष्ट्रिय सभाले गरेको छ भने भोलि हाइलाइट गर्दा प्रतिनिधिसभाले पनि आफ्नो कार्यविधि या नियमावलीमा राखेर पनि गर्न सक्छ । यस्ता कुराहरूमा अलि बढी ध्यान दिओस् भन्ने आग्रह पनि गर्न चाहन्छु ।
हामी सङ्घीयताको कार्यान्वयन राष्ट्रिय सभामा नै अलि बढी हाम्रो पोलिसीको हिसाबले, कार्यक्षेत्रको हिसाबले, हिजो हामीले प्रतिनिधित्व गरेको हिसाबले, सङ्घीयताप्रति अलि बढी संवेदनशील छौं । यो सङ्घीयताको विषयलाई कतिपय नेगेटिभ किसिमले जुन प्रचार भइरहेको छ, यो व्यवस्था हो, व्यवस्थाभित्रको प्रणाली हो । त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरा पनि यो मिडियाले अलि बढी हाइलाइट गरोस् भन्ने म शुभकामना दिन चाहन्छु ।