• २१ वैशाख २०८२, आइतबार

‘सांसदलाई सवाल’

संसदमा अल्पमतको बोली बिक्दैन : डा. वीरेन्द्रप्रसाद महतो

blog

जनता समाजवादी पार्टी, नेपालको संसदीय दलका प्रमुख सचेतक डा. वीरेन्द्रप्रसाद महतो ।

काठमाडौँ, वैशाख २० गते । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलका प्रमुख सचेतक डा. वीरेन्द्रप्रसाद महतोले संसदमा जतिसुकै विद्वान भए पनि अल्पमतको बोली नबिक्ने बताउनु भएको छ। गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्नुहुँदै डा. महतोले यस्तो बताउनुभएको हो।

‘‘संसदमा तपाईं अल्पमतको जतिसुकै ठुलो विद्वान भए पनि तपाईंको बोली बिक्दैन। बहुमत तपाईंसँग छ र त्यहाँको विद्वान सांसद हुनुभयो भने तपाईंको कुरा सुनिन्छ।’’ पूर्व वन तथा वातावरणमन्त्री समेत बनिसक्नुभएका महतोले मन्त्री बन्दाको तितो अनुभवसमेत सुनाउनु भएको छ। उहाँले भन्नुभयो, ‘‘मन्त्री नबन्दासम्म कत्रो ठुलो कुरा हो भन्ने मनमा हुन्छ। तर मन्त्री बनिसकेपछि हत्तेरिका कत्रो ठुलो पाप गरेछु भनेजस्तो हुन्छ।’’

सिराहा-४ का प्रतिनिधि सभा सदस्य डा. महतोको जन्म २०२६ साल असार २१ गते सिराहाको साविक कर्जन्हा गाविस २ (हाल कर्जन्हा नगरपालिका-९) मा बुवा रामआशिष र आमा फूलकुमारीको कोखबाट भएको हो। उहाँले गाउँकै श्री जनसेवा माविबाट औपचारिक शिक्षा आरम्भ गर्दै २०३९ सालमा एसएलसी पास गर्नुभयो।

त्रिचन्द्र क्याम्पसबाट प्रमाणपत्र तहको अध्ययन पूरा गर्नुभएका महतोले स्नातक तहदेखि रुसमा अध्यययन गर्नुभयो । व्यापार व्यवस्थापनमा स्नातक, स्नातकोत्तर गर्नुभएका महतोले अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ। २०५५ सालमा बेलारुसको स्टेस विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका महतोले २०५८ सालमा अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको हो । उच्चशिक्षा अध्ययन र विद्यावारिधिको उपाधिपछि रुस र साइप्रसमा व्यापार र बैंकिङ क्षेत्रमा काम गर्नुभएका महतो नेपाल फर्किएपछि निजी क्षेत्रमै सक्रिय हुनुभयो। 

माछापुच्छ्रे बैँक, फूलकुमारी महतो मेमोरियल ट्रस्ट, मैलिङ खोला हाइड्रोपावर कम्पनी, सोपान मल्टिपल कम्पनीको नेतृत्व लामो समय गर्नुभएका महतोसँग कान्तिपुर इन्जिनियरिङ कलेजको सञ्चालक समिति सदस्य भएर काम गरेको अनुभवसमेत छ। 

महतोको राजनीति यात्रा भने २०६५ सालबाट सुरु भएको हो। २०६२/६३ को जनआन्दोलन र त्यसपछिको मधेश आन्दोलनले उहाँलाई नेता बनाएको हो। राजनीतिमा प्रवेश गरेको पाँच वर्षपछि उहाँ २०७० सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बन्नुभयो।

संविधान जारी भएपछि बैँक र व्यापारसँगै राजनीतिमा सक्रिय उहाँ २०७९ सालमा सिराहा निर्वाचन क्षेत्र नम्बर- ४ मा जनता समाजवादी पार्टी, नेपालको तर्फबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुभएको हो । २०८० साल जेठमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नौ महिना वन तथा वातावण मन्त्री बन्नुभएका महतो अहिले प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य हुनुहुन्छ। महतोलाई जसपाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको छ। 

प्रस्तुत छ- जनता समाजवादी पार्टी (जसपा) नेपालका सचिव, पूर्वमन्त्री एवम् सिराहा क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य डा. वीरेन्द्रप्रसाद महतोसँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा दिनेश लुइटेलले गरेको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्री :