• १९ वैशाख २०८२, शुक्रबार

शालिग्राम लोप हुने अवस्थामा

blog

मुस्ताङबाट बिक्री गर्न लगिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको शालिग्राम । तस्बिर सौजन्य : मुस्ताङ प्रहरी

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), वैशाख १९ गते । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, का वडाध्यक्ष कर्मा ग्याछो गुरुङ कागबेनीमा आउने भक्तजनलाई घरायसी प्रयोजनबाहेक शालिग्राम नलैजान अनुरोध गर्नुहुन्छ । पितृको नाममा श्राद्ध तथा पिण्ड दिनाले मोक्ष प्राप्ति हुने र पितृ उद्धार हुने जनविश्वासका साथ आउने भक्तजनलाई चोरीनिकासीले शालिग्राम लोप हुन थालेको भन्दै संरक्षणमा तीर्थालुकै सहयोग माग्ने गर्नुभएको छ । दामोदरकुण्डदेखि कागबेनी क्षेत्रमा सङ्कलन गरी व्यापक रूपमा चोरीनिकासी हुने वडाध्यक्ष गुरुङले बताउनुभयो ।

वडाध्यक्ष गुरुङ भन्नुहुन्छ, “व्यापारीले यसलाई अवैध बिक्री गरी कमाउन थालेका छन्, चोरीनिकासी नियन्त्रणका प्रयास प्रभावकारी हुन सकेनन् ।” कागबेनी क्षेत्रमा शालिग्राम अन्यत्रभन्दा धेरै पाइन्छ । आफ्नो वडामा रहेको कागबेनीमा आउने तीर्थालुले घरमा पूजा गर्ने कालो चिल्लो शालिग्राम चिनोका रूपमा लैजाने गरे पनि अहिले चोरीनिकासी बढेकाले यसको नियन्त्रणमा सघाउन सार्वजनिक रूपमा अनुरोध गर्ने गरेको बताउनुभयो । 

उहाँका अनुसार कालीगण्डकी नदीमा मात्रै पाइने बहुमूल्य शिला शालिग्राम अवैध रूपमा गरिएको व्यापक नदी दोहनका कारण मासिँदै जान थालेका छन् । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित कालीगण्डकी नदीको मुहान मानिने दामोदरकुण्डबाट बगेर आउने शालिग्राम शिलालाई अवैध व्यापारीले बिक्रीका लागि ठुलो परिमाणमा सङ्कलन गरी मुस्ताङबाहिर पठाउने गरेका छन् । 

शालिग्रामभित्र सुनलगायतका बहुमूल्य धातु हुने भन्दै नेपालका विभिन्न जिल्लाबाट स्थानीयलाई मगाउने र केही व्यापारीले सवारीसाधनको प्रयोग गरी बोरामा हालेर पठाउने गरेको पाइन्छ । मुस्ताङबाट अवैध रूपमा लैजाने गरिएको शालिग्राम नेपालका विभिन्न धार्मिक स्थलका साथै भारत हुँदै तेस्रो मुलुकसम्म पुग्ने गरेका छन् । 

मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले भगवान् विष्णु पतिव्रता वृन्दाको श्रापका कारणले शिलास्वरूप भई गण्डकी क्षेत्रमा रहनुभएकाले शालिग्रामलाई भगवान् विष्णुको अंश मानेर हिन्दु धर्मावलम्बीले पूजा 

गर्ने गरेको बताउनुहुन्छ । शालिग्रामको जल, कुशको आसन, मुखमा तुलसी रहेमा जतिसुकै पापी भए पनि त्यो व्यक्तिको पुनर्जन्म नहुने धार्मिक किंवदन्ती छ । पुजारी सुवेदीका अनुसार पञ्च तत्वले बनेको मानव शरीर संरक्षण र संवर्धन गर्न गणेश, शिव, विष्णु, देवी, सूर्यस्वरूप पूजा गरिने भएकाले व्यापारिक दृष्टिकोणबाट भइरहेको अवैध निकासीलाई रोक्ने कार्यमा सहयोग गर्नुपर्ने बताउनुहुन्छ ।

बर्खाको समयमा माथिल्लो क्षेत्रबाट बगाएर कागबेनीमा ल्याउने शालिग्राममा प्राकृतिक रूपमा नै शङ्ख, चक्र, गदा, पद्म आकार कुदिएको पाइन्छ । कालीगण्डकीको माथिल्लो क्षेत्रबाट चोरीनिकासी हुने र बग्दै म्याग्दी, पर्वत आउने शालिग्राम नदीमा जथाभाबी डोजर र एक्साभेटरको प्रयोगले लोप हुने गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी विशाल अधिकारीका अनुसार तीर्थालुले व्यक्तिगत प्रयोजनका लागि लैजाने शालिग्रामलाई कुनै अवरोध नभए पनि ठुलो परिमाणमा चोरीनिकासीलाई सुराकी र जाँच गरी नियन्त्रणमा लिने गरेको बताउनुभयो ।

गत वर्ष जेठमा १५ वटा बोरामा चार सय केजी र चैतमा ३४ वटा बोरामा ८९४ केजी शालिग्राम शिला जफत गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “मुस्ताङ प्रवेश र बाहिरिने क्रममा चेकपोस्टमा मोटरसाइकल तथा अन्य सवारीसाधन जाँच हुन्छ । प्रहरीको निगरानीले मात्रै पनि चोरीनिकासी नियन्त्रणको सम्भावना छैन ।” जफत गरिएका सवारीसाधन, शालिग्रामसहित चालक, व्यापारीलाई एक्यापलाई हस्तान्तरण गर्ने गरिएको उहाँले बताउनुभयो । 

हालसम्म एक्याप जोमसोमले पोखरामा रहेको केन्द्रीय कार्यालयमा आवश्यक कारबाहीका लागि पठाउने गरेको छ ।  शालिग्रामको अवैध निकासीलाई प्राकृतिक स्रोतसाधनको दुरुपयोग अन्तर्गत नै कानुनी प्रक्रिया अगाडि बढाइए पनि अहिलेसम्म कुनै पनि कारबाही भएको छैन ।