गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १९ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानी अभिवृद्धिका लागि लगानीसम्बन्धी एकीकृत कानुन बनाउनुपर्ने बताउनुभएको छ । कोशी प्रदेश सरकारले पहिलो पटक विराटनगरमा आयोजना गरेको प्रदेश लगानी सम्मेलन–२०८२ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले सो आग्रह गर्नुभएको हो ।
उहाँले आगामी १० वर्षलाई लगानी दशकका रूपमा घोषणा गर्न पनि माग गर्नुभयो । ढकालले लगानीसँग सम्बन्धित कानुन वन, वातावरण र भूमिसम्बन्धी ऐन एकीकृत गरी एकीकृत लगानीसंहिता बनाउन तथा विभिन्न निकायले फरक व्याख्या गर्ने क्रमको अन्त्य गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व आवश्यकता रहेकामा जोड दिँदै उहाँले कानुनको अपव्याख्या गर्ने र एक अर्का कानुन बाझिने अवस्था अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो ।
अबको बजेट र मौद्रिक नीतिमार्फत लगानी सहजीकरणलाई केन्द्रमा राख्दै बजेटलाई नयाँ चरणको आर्थिक सुधारको प्रस्थानविन्दु बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । कम्पनी दर्तालगायत अन्य कार्य गर्दा फाइल लगानीकर्ता आफैँले डुलाउँदै हिँडनुपर्ने अवस्थाको अन्त्य गर्न अध्यक्ष ढकालले सरकारसँग आग्रह गर्नुभयो ।
कोशी प्रदेश पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, सूचना प्रविधिलगायतका क्षेत्रमा व्यापक सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले सम्मेलनमा प्रस्तुत हुने परियोजनाको सम्भाव्यता, लगानीको ढाँचा तथा प्रदेश सरकारको भूमिका स्पष्ट पारेर लगानीकर्तालाई आश्वस्त पार्न कोशी प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।