गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १९ गते । अबदेखि स्वास्थ्य बिमाबाट हुने उपचारको प्रस्थानविन्दु अस्थायी बसोबास गरिरहेको स्थानबाट समेत हुने भएको छ । यसअघि स्थायी बसोबास गरेको ठाउँबाट मात्र स्वास्थ्य बिमा गर्ने र उपचारको प्रस्थानविन्दु पनि स्थायी बसोबास हुने ठाउँमा मात्र हुने गर्दथ्यो ।
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघु काफ्लेले अबदेखि अस्थायी बसोबास रहेको ठाउँबाट पनि बिमा गर्न सकिने र उपचारको प्रथमविन्दु पनि अस्थायी ठाउँमा हुने जानकारी दिनुभयो । उहाँले यो सुविधाले धेरै राहत हुने बताउनुभयो । अस्थायी रूपमा बसोबास गरिरहेकै स्थानमा प्रस्थानविन्दु कायम गर्ने प्रावधान मन्त्रीपरिषद्ले पास गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा नियमावली संशोधन गरेर उक्त प्रस्ताव गरेपछि मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको हो ।
“स्वास्थ्य बिमा लिन प्रथमविन्दु (गाउँ गाउँ) नै पुग्नुपर्ने झन्झटिलो प्रावधान हटेको छ,” डा. काफ्लेले भन्नुभयो, “अब स्वास्थ्य बिमामा धेरै जना आबद्ध हुन पाउने छन् । अब आफू बसेकै स्थान (अस्थायी ठेगाना) मा प्रथमविन्दु छनोट गरी सोही अनुसार सेवा लिन सकिन्छ ।” स्वास्थ्य बिमाको सेवा लिनका लागि तीन महिना पर्खनुपर्ने व्यवस्था गरिएकोमा त्यसलाई घटाएर एक महिनाभित्रै सेवा लिन सकिने बनाइएको छ ।
स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी बिकेस मल्लले स्वास्थ्य बिमा गरेको वा नवीकरण गरेको एक महिनामै सक्रिय हुने र सोही अनुसार सेवा लिन सकिने बताउनुभयो । यस्तै सबै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु कायम गर्ने व्यवस्था गरिएको छ । बिमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले सुविधा लिँदा त्यहीँबाट ‘रेफर’ गराउनुपर्ने बाध्यता थियो जुन प्रावधानका कारण सेवा झन्झटिलो भएको गुनासो थियो ।