• १८ वैशाख २०८२, बिहिबार

गुल्मी अस्पतालमा बालरोग विशेषज्ञ सेवा

blog

बच्चाको स्वास्थ्य परीक्षण गर्नुहुँदै बालरोग विशेषज्ञ डा. प्रज्ञा शाक्य। तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, वैशाख १७ गते। गुल्मीको सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा नियमित रुपमा बालरोग विशेषज्ञ सेवा सुरु भएको छ। बालरोग विशेषज्ञ डा. प्रज्ञा शाक्य गुल्मी अस्पतालमा आउनुभएसँगै उक्त सेवा नियमित रुपमा सुरु भएको हो। गुल्मी अस्पतालमा बालरोग सेवा नियमित सुरु हुन लागेसँगै बालबालिका बिरामी भएर पाल्पा, बुटवल लगायतका अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ। 

बालबालिकामा देखिने समस्या नियमित अस्पतालबाट चेकजाँच गरिने हुँदा बालरोग विशेषज्ञ सेवाले यहाँका नागरिकलाई थप सहज हुने भएको बताइएको छ। 

कान्ति बाल अस्पताल काठमाडौँमा कार्यरत डा. शाक्य स्थायी दरबन्दीमा नियुक्ति लिएर आउनुभएसँगै उहाँले ओपिडीमा दैनिक १२/१५ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिरहनु भएको छ। यो संख्या अझ बढ्ने देखिएको छ। जन्मेदेखि १४ वर्षसम्मका बालबालिकाले वार्ड तथा ओपिडी सेवा पाउने बालरोग विशेषज्ञ डा. शाक्यले बताउनुभयो। बालरोग विशेषज्ञ सेवाले यस जिल्ला तथा छिमेकी जिल्लाका विभिन्न स्थानबाट बालबालिका उपचारका लागि आउने गरेका छन्।

अस्पतालबाट अहिले दैनिक रुपमा हाडजोर्नी, नशा तथा वाथ रोग विशेषज्ञ, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, बालरोग विशेषज्ञ र आकस्मिक तथा जनरल मेडिसिन सम्बन्धि विशेषज्ञ सेवा प्रदान गरिएको छ। अस्पतालले जटील खालको प्रसूति सेवा, माइनर अपरेसन, हेमोडायलाईसिस, अक्सिजन सेवा, नसर्ने रोगको पेन प्लस क्लिनिकबाट समेत सेवा दिँदै आएको छ। 

महिनाको एक दिन जिल्ला बाहिरबाट विशेषज्ञ चिकित्सक बोलाएर महिलाको गर्भ अवस्थामा भ्रुणमा हुनसक्ने बिकङ्गालको जाँच, मानसिक रोग विशेषज्ञ सेवा र महिलाको स्तन क्यान्सर सम्बन्धी विशेषज्ञ सेवा दिने गरिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक बोमबहादुर अर्यालले बताउनुभयो।

गुल्मी अस्पताललाई स्वास्थ्य क्षेत्रको समुन्नतिको प्रमुख आधार बनाउने उद्देश्यले निरन्तरको प्रयासबाट बालरोग विशेषज्ञ सेवा थप्न सफल भएको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो। 

उहाँले यो सेवा नियमित रुपमा प्रदान हुने भएकोले सेवा लिन सम्पूर्ण गुल्मीवासी र पायक पर्ने छिमेकी जिल्लाका नागरिकलाई समेत आग्रह गर्नुभयो। नागरिकको भावनालाई आत्मसाथ गर्दै आगामी दिनमा अस्पतालमा विशेषज्ञ सेवा थप गर्न प्रयत्नरत रहेको भन्दै उहाँले “गुल्मी अस्पताल, मेरो अस्पताल” र “हाम्रो अस्पताल, राम्रो अस्पताल” भन्ने नारालाई सार्थक बनाउन लागिएको बताउनुभयो।