• १५ वैशाख २०८२, सोमबार

गर्भवतीलाई निःशुल्क दिइने आइरन चक्कीको अभाव

blog

काठमाडौँ, वैशाख १५ गते । सरकारले गर्भवती, सुत्केरी लक्षित गर्दै निःशुल्क वितरण गर्दै आएको आइरन चक्की अभाव भएको छ । केही सङ्घ, प्रदेश र स्थानीय तहमा दुई महिनादेखि आइरन चक्की अभाव भएको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशन डा.विवेककुमार लालले कुनैकुनै स्थानीय तहमा आइरनको अभाव भन्ने गुनासो आएको जानकारी दिनुभयो । 

उहाँ भन्नुहुन्छ, “कतिपय स्थानीय तहमा आइरन चक्की अभाव भयो भन्ने गुनासो सुन्नमा आएको छ । धेरै जस्तो स्थानीय तहमा आइरन चक्की लक्षित वर्गले पाइरहनु भएको छ ।”

आइरन चक्की अभाव भएको ठाउँमा कुनै वैकल्पिक व्यवस्था हुन सक्छ कि भनेर मन्त्रालयबाट पहल भइरहेको उहाँको भनाइ छ । 

उहाँ भन्नुहुन्छ, “प्रत्येक वर्ष आइरन चक्की प्रदेशबाट खरिद भएर स्थानीय तहमा वितरण हुँदै आएको थियो । दुई वर्ष अगाडि सङ्घले दुई वर्ष पुग्ने आइरन चक्की खरिद गरी स्थानीय तहलाई दिएको थियो । अहिले कतिपय ठाउँमा अभाव भयो भन्ने सुनिएको छ । अभाव भएको ठाउँमा थप बजेटको पहल गर्दै छौँ ।”

आइरन चक्की अभाव भएका कतिपय स्थानीय तहले आफ्नै स्रोतबाट खरिद गरिरहेको उहाँको भनाइ छ ।

पोषण शाखाका प्रमुख लीलाबिक्रम थापाले केही आइरन चक्कीको मिति सकिएकाले केही स्थानीय तहमा आइरन चक्कीको अभाव भएको बताउनुभयो । थापाले यो वर्ष धेरै स्थानीय तहले आफ्नै स्रोतबाट आइरन चक्की खरिद गरेर वितरण गरेको बताउनुहुँदै आगामी वर्षलाई आवश्यक पर्ने आइरन चक्की खरिद गर्ने प्रक्रिया अगाडि बढाइ सकेको जानकारी दिनुभयो ।

अगामी वर्षदेखि स्थानीय तहले आवश्यक अनुसार खरिद गर्न सक्ने प्रक्रिया अगाडि बढाउन लागेको थापाले बताउनुभयो । यो प्रक्रिया सुरु गरेपछि स्थानीय तहमा जति आवश्यक पर्छ त्यो अनुसारले खरिद गर्न सक्ने उहाँको भनाइ छ ।

सरकारले गर्भवती, सुत्केरी र किशोरीलाई निःशुल्क वितरण गर्दै आएको छ । साथै  विद्यालय स्वास्थ्यअन्तर्गत विद्यालयमा अध्ययनरत किशोरीलाई निःशुल्क आइरन चक्की वितरर्ण गर्दै आएको छ । 

चिकित्सकका अनुसार शरीरमा हेमोग्लोबिन बनाउन आइरन जरुरत हुन्छ । गर्भावस्थामा, सुत्केरी अवस्थामा हेमोग्लोबिनको मात्रा कमी नहोस् भनेर आइरन चक्की दिने गरिन्छ । सामान्यतया महिलाको १३ ग्रामप्रति डेसिलिटर हेमोग्लोबिन आवश्यक पर्छ ।