गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १५ गते । मुलुकबाट समग्र वस्तुको निर्यात बढिरहेका बेला चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा साढे तीन अर्ब रुपियाँ बराबरको चिया निर्यात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्म तीन अर्ब ५७ करोड ३१ लाख रुपियाँ बराबरको एक लाख ६४ हजार ८५२ केजी चिया निर्यात भएको छ । गत वर्ष सो अवधिमा दुई अर्ब ५४ करोड १८ लाख ६० हजार रुपियाँ बराबरको एक लाख ३० हजार ५१६ केजी निर्यात भएको थियो ।
गत वर्षको तुलनामा एक अर्ब रुपियाँ बराबरको ३४ हजार किलो चिया बढी निर्यात भएको हो । चालु आवभर चार अर्ब ५० करोड रुपियाँको चिया हुने अनुमान गरिएको छ । विभागका अनुसार गत आव २०८०/८१ मा तीन अर्ब ६३ करोड रुपियाँ बराबरको एक करोड ६५ लाख केजी चिया निर्यात भएको थियो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक एवं प्रवक्ता डा. दीपक खनालले अन्तर्राष्ट्रिय बजारमा चियाको माग उच्च हुँदा निर्यातमा उल्लेख्य वृद्धि भएको जानकारी दिनुभयो । “विगतका वर्षमा चियाको निर्यात घट्दै गएको थियो,” उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर उच्च भएको र पहिचान स्थापित भइसकेकाले पनि यस वर्ष चिया निर्यातमा उल्लेख्य वृद्धि भएको हो ।”
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य पर्ने चियाको माग बढ्दै गएको उहाँको भनाइ छ । स्वदेशी चियाको उत्पादन बढाएर बढ्दो व्यापार घाटा कम गर्नुका साथै विदेशी मुद्रा भित्र्याउने प्रयाप्त सम्भावना भएकाले चिया उत्पादन बढाउन स्थानीय सरकारसँग सहकार्य भइरहेको उहाँको भनाइ छ । बोर्डका अनुसार आव २०८०/८१ मा मुलुकभर २० हजार ७६० हेक्टर जमिनमा दुई करोड ७० लाख केजी चिया उत्पादन भएको थियो । नेपालमा १५ हजार २०३ जना चिया कृषक, १७१ वटा टी स्टेट र साना मझौला १२० वटा चिया प्रशोधन केन्द्रमार्फत ६० हजार जनाले रोजगारी पाएका छन् ।
नेपालमा उत्पादित चिया अन्तर्राष्ट्रिय बजारमा निर्यात भइरहेको बेला बाहिरी मुलुकबाट समेत नेपालमा विभिन्न प्रकारका चिया आयात हुने गरेको छ । विभागका अनुसार चालु आवको नौ महिनामा ५६ करोड २७ लाख रुपियाँ बराबरको ७१ हजार ७१४ केजी चिया आयात भएको छ । गत आव २०८०/८१ मा ३७ करोड ८३ लाख रुपियाँ बराबरको ४४ हजार ३१८ केजी चिया आयात भएको छ ।
नेपालमा उत्पादित चिया बेल्जियम, अस्ट्रेलिया, फ्रान्स, जर्मनी, जापान कोरिया, क्यानडा, नेदरल्यान्डलगायतका देशमा निर्यात हुने गरेको छ ।
राष्ट्रिय चिया दिवस आज
सोमबार विभिन्न कार्यक्रम गरी २९ औँ राष्ट्रिय चिया दिवस मनाइने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले वैशाख १५ गते चिया दिवस मनाउन लागेको हो । ‘स्वस्थ्य चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ भन्ने नारासाथ चिया दिवस मनाउन लागिएको हो ।
बोर्डले प्रत्येक वर्ष चिया दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा विभिन्न जिल्लामा उत्पादन भएका चियाहरू चाख्न पाइनुका साथै चिया उत्पादकको सहभागिता रहने बोर्डले जनाएको छ ।