तिलाचन पाण्डे
तम्घास, वैशाख १३ गते । गुल्मीको कालीगण्डकी गाउँपालिकाले वैशाख १४ गतेबाट विद्यालय सञ्चालन नगरे राजीनामा दिन शिक्षकहरूलाई निर्देशन दिएको छ । गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि विद्यालय सञ्चालन गर्न निर्देशन दिँदै विद्यालय सञ्चालन नगरे राजीनामा दिन वा सरुवाको प्रक्रिया अगाडि बढाई जानका लागि निर्देशन दिनुभएको हो ।
शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्रमा भर्ना अभियानमा असर पर्नुका साथै नियमित पठनपाठन गराउने कार्यमा सहयोग गर्न उहाँले आग्रहसमेत गर्नुभएको छ । केही दिन पहिले पनि थापाले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कारण ग्रामीणस्तरका सामुदायिक विद्यालयहरूमा विद्यार्थी सङ्ख्या न्यून हुने र शिक्षकहरूको आन्दोलनका कारण निजीमा जाने भएकाले विद्यालय बन्द हुने अवस्था आउने बताउनुभएको थियो ।
गाउँपालिका भित्र सामुदायिक र संस्थागत गरी ४५ विद्यालय रहेका छन् भने करिब तीन हजार विद्यार्थी सङ्ख्या रहेको शिक्षा शाखाले जनाएको छ ।