गुणबहादुर रोका
सुलीकोट, वैशाख ११ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद परिवार भेटघाट गर्नुभएको छ । बारपाकमा भूकम्प स्मृति दिवस कार्यक्रम मनाउन बारपाक जान लाग्नुभएका प्रचण्डले गोरखा नगरपालिका – १२ का सहिद परिवारसँग भेटघाट गर्दै बलिदानका कारणले आजको राजनीतिक परिवर्तन सम्भव भएको र सहिदहरू देशका साझा सम्पत्तिको रूपमा रहनुभएको बताउनुभयो ।
गोरखा नगरपालिका– १२ दसकिलोमा अत्यधिक मात्रामा बसोवास गर्दै आउनुभएका कुमाल समुदायबाट दस वर्षे जनयुद्धमा नौ जनाले शहादत प्राप्त गरेका थिए । सहिद परिवारलाई भेट गर्नुहुँदै अध्यक्ष प्रचण्डले सहिदहरूले देखाएको बाटोमा निरन्तर रूपमा अघि बढिरहेको धारण व्यक्त गर्नुभयो ।
तत्कालिन माओवादीले सुरु गरेको जनयुद्धमा परी गोरखा नगरपालिका १२ का कुमाल समुदायबाट भिष्म कुमाल, रुद्र कुमाल, सूर्य कुमाल, चक्र कुमाल, कोपिला कुमाल, वीरबहादुर कुमाल, जमुना कुमाल, सीताराम खनाल र कोपिला कुमालले शहादात गर्नु भएको माओवादी केन्द्र जिल्ला इन्चार्ज अमर तमुले जानकारी दिनुभयो ।
सहिद परिवारको छलफलमा सहभागी हुँदै प्रचण्डले पार्टीले सहिद तथा बेपत्ता परिवार घाइते योद्धाहरूको योगदानलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुहुँदै आफुले तेस्रो पटक प्रधानमन्त्री हुदाँ जनयुद्धसहित अहिलेसम्म सबै आन्दोलनका क्रममा सहिद हुनेहरूलाई राष्ट्रिय सहिद घोषण गरी राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदको रूपमा स्थापित गरेको बताउनुभयो ।
प्रचण्डसँग सहिद परिवारको गुनासै गुनासो
गोरखा नगरपालिका– १२ दसकिलोमा रहेको नौ जना सहिदका परिवारले अध्यक्ष प्रचण्डसँग गुनासै गुनासो पोखेका छन् । युद्ध र आन्दोलनमा होमिएका परिवारलाई पार्टीमा रहेका स्थानिय नेतृत्वले बास्ता नगरेको भन्दै गुनासो पोखेका महिला नेत्री कञ्चन कुमालले बताउनुभयो ।
नौ जना सहिद परिवारका सदस्यहरूले आर्थिक अवस्था कमजोर भएकाले एक घर एक रोजगारी गर्न, स्वास्थ्यमा निःशुल्क उपचार र विकास निर्माणमा ध्यान दिन प्रचण्डलाई आग्रह गरेको कुमालको भनाइ छ ।
सहिद परिवारको गुनासोलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले पार्टीमा अलि अलि समस्या भएको तर वर्ग नछाडिएकाले शहीद परिवारको गुनासो सम्बोधन गर्न आफु सधैँ लागिरहने विश्वास व्यक्त गर्नुभयो ।