अनिल पराजुली
हेटौँडा, वैशाख ११ गते । पूर्व–पश्चिम राजमार्गको हेटौँडा–११, थानाभर्याङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–११, नवलपुरका २४ वर्षीय उमेश तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार तामाङ गम्भीर घाइते हुनुभएको थियो । थानाभर्याङस्थित सीएमसी चुरेहिल हस्पिटल पुर्याउँदा तामाङलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक हेटौँडा–११, नवलपुरका ३६ वर्षीय रोहित भन्ने मान बहादुर रुम्बा घाइते हुनुभएको छ । उहाँको टाउको, बायाँ हात र खुट्टामा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
बुधबार राति करिब १०ः५५ बजे थानाभर्याङबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश २०३–०१३ प ४९२१ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको पोलमा ठोक्किएर अन्दाजी ५० फिट तल खसेर दुर्घटना भएको थियो ।
त्यस्तै हेटौँडा उपमहानगरपालिका–४ निर्माण व्यवसायी सङ्घ नजिकै मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिँदा मोटरसाइकल चालक, पछाडि बस्ने र पैदल यात्रु घाइते हुनुभएको छ ।
हुप्रचौरबाट भैरव रोडतर्फ जाँदै गरेको ना ३४ प ११८१ को मोटरसाइकलले पैदल यात्री हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौर बस्ने ४० वर्षीय सरिता दराईलाई ठक्कर दिएको हो । उहाँको टाउकोमा चोट लागेको छ । दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–६ हातिलेट बस्ने २० वर्षीय नवीन गौतम र पछाडि सवार हेटौँडा उपमहानगरपालिका–१६ हटिया चिसापानी बस्ने २३ वर्षीय प्रबिन दाहाल घाइते हुनुभएको छ ।
गौतमको मुखमा र दाहालको बायाँ खट्टामा चोट लागेको प्रदेश प्रहरीले जानकारी दिएको छ । घाइते तीनै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।