• २९ वैशाख २०८२, सोमबार

सोती खानेपानी लिफ्टिङ योजना अलपत्र

blog

सोती लिफ्टिङ खानेपानी योजना अन्तर्गत बर्राचौरमा निर्माण गरिएको अलपत्र शाखा पानी ट्याङ्की ।

प्रनिश गिरी

कुश्मा, पर्वत वैशाख ११ गते । पर्वत जिल्लाको दक्षिणी भेगमा पर्ने विहादी गाउँपालिकाको सोती खानेपानी लिफ्टिङ योजना अलपत्र परेको छ । दुर्गम बस्तीका जनतालाई पिउने पानीको सुविधा पुराइने लक्ष्य राखिएको सोती खानेपानी लिफ्टिङ योजना ४ वर्षदेखि अलपत्र छ । 

गण्डकी प्रदेश सरकारको चार करोड लागतको बहुवर्षीय खानेपानी योजनाले तीन सय घरधुरीलाई खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको वडा २ का अध्यक्ष गणेश शर्मा पौडेलले बताउनुभयो । दुई वर्षमा सम्पन्न हुने भनिएको खानेपानीको योजना वर्षौ लाग्दा स्थानीयवासीलाई पिउने पानीको ज्यादै समस्या रहेको वडाध्यक्ष बताउनुहुन्छ । पिउने पानीका लागि गाउँलेहरू टाढाटाढा रहेका कुवा र मुलको पानीमा भरमा पर्नु परेको छ । चैत महिनादेखि यता भएका पानीका स्रोत पनि सुकेपछि पिउने पानी लिन टाढा खोलातिर लाग्नुपर्ने बाध्यता रहेको पौडेलले बताउनुभयो ।

खानेपानी योजना पूरा नहुँदा वडा २ मा रहेका गैरे, सातबिसे, शेरा, ठौवा, बासकोट, कर्मीथर, आरनटोल, उपल्लो बर्राचौर, तल्लो बर्राचौर लगायतका क्षेत्रमा पिउने पानीको हाहाकार छ । शेरा टोल बस्ने कृषक लीलाकुमारी नेपालीले खडेरी बढेसँगै खानेपानीको हाहाकार भएको दुखेसो पोख्नु भएको छ । कृषक नेपालीले भन्नुभयो, "एक गाग्री पिउने पानीका लागि एक घण्टा लगाएर भूपे खोला धाउनु परेको छ । घरमा पालेका ३ वटा बाख्रा, एक घोरेपाडी, भैसी, बङ्गुर, राँगोलाई पानी खुवाउन गार्‍हाे भएको छ । करेसाबारीमा लगाएको तरकारी पानी नपाएर सुकेको अवस्था छ ।"

खानेपानी योजना अन्तर्गत निर्माण गरिएका रिजर्भ ट्याङ्की एक र ६ वटा शाखा ट्याङ्कीहरू लामो समयदेखि प्रयोगविहिन अवस्थामा छन् भने विच्छाइएका पाइप लाइनहरु कच्ची सडक खन्ने क्रममा क्षतविक्षत भएको स्थानीयवासीको भनाइ छ । एक घर एक धारा कार्यक्रम अन्तर्गत गाउँका केही घरधुरीहरूमा धारा निर्माण गरेको पनि वर्षौ भइसकेको छ । निर्माण गरिएको धाराबाट पानी कहिले झर्ने हो भन्ने कुरा भने गाउँलेलाई केही टुङ्गो छैन । 

बर्राचौरका स्वास्थ्य चौकी प्रमुख भूपेन्द्रनाथ पौडेलले खानेपानी ट्याङ्कीलाई इङ्कित गर्दै भन्नुभयो, "स्वास्थ्य चौकीको जग्गामा गाउँलेलाई पिउने पानीको सुविधा हुन्छ भनेर पानी ट्याङ्की निर्माण गर्न दिने सहमति भयो तर ४ वर्ष बितिसक्दा पनि खानेपानी योजना सम्पन्न भएको छैन । पानी ट्याङ्की निर्माण गरिएपछि स्वास्थ्य चौकीलाई जग्गा साँगुरो भएको छ । वर्षौसम्म प्रयोगविहिन रहदा ट्याङ्की मक्किसकेको छ ।"

कालीगण्डकी किनार नजिकै खानेपानी योजनाका लागि १ सय घनमिटरको ट्याङकी निर्माण गरिएको छ भने ५० घनमिटर बराबरका ५ वटा ट्याङकी निर्माण गरी अलपत्र छोडिएका छन् । खानेपानी योजनाको प्रमुख पाइप लाइन र शाखा पाइप लाइन विस्तारको काम पूरा गरिएको छैन । निर्माणको ठेक्का सम्झौता लिएका ठेकेदार गिरिजाप्रसाद तिवारीको खानेपानी योजनाको काम ५० प्रतिशत पूरा गरेको दाबी छ । 

अहिलेसम्म २ करोड बढी रकम खर्च गरिसकेको खानेपानी योजनालाई आर्थिक अभावका कारण पूरा गर्न नसकिएको गुनासो खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोती कुँवरको छ । 

समितिका अध्यक्ष कुँवरले भन्नुभयो, "प्रदेशको खानेपानी मन्त्रालयले  बर्सेनि थोरै थोरै आर्थिक बजेट विनियोजन गर्दछ । थोरै बजेट हुँदा काम सम्पन्न हुन ढिलाई भएर अलपत्र भएको छ । आर्थिक वर्ष २०८१⁄०८२ मा २० लाख रकम मात्रै विनियोजन भएको थियो ।"