• ११ वैशाख २०८२, बिहिबार

अभिभावकविहीन विद्यार्थीलाई विशेष छात्रवृत्ति

शिक्षकलाई सारथि बनाउने अभ्यास

blog

तस्बिर : शशिधर पराजुली मोरङको मिक्लाजुङ गाउँपालिकास्थित मधुमल्लामा अवस्थित भगवती माध्यमिक विद्यालय । यहाँ १२ जना अभिभावक गुमाएका विद्यार्थी अध्ययनरत छन् ।

शशिधर पराजुली 

विराटनगर, वैशाख ११ गते  । अभिभावक गुमाएका विद्यार्थीको पठनपाठनमा असर पुग्न नदिन मोरङको मिक्लाजुङ गाउँपालिकाले विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ । अभिभावक नहुँदा बालबालिकामा पारिवारिक र सामाजिक जिम्मेवारी बढ्दा बिचमै पढाइ छोड्नुपर्ने समस्या आउने र पठनपाठन र सामाजिक व्यवहारमा पनि असर पर्न सक्ने भएकाले गाउँपालिकाले त्यस्ता विद्यार्थीको तथ्याङ्क सङ्कलन गरेर नियमित निगरानीसमेत गर्दै आएको छ । 

गाउँपालिकामा ३८ सामुदायिक विद्यालय छन् । त्यहाँका विद्यालयमा पाँच हजार नौ सय विद्यार्थी अध्ययन गर्छन् । तीमध्ये ८१० जना अभिभावक गुमाएका बालबालिका छन् । यो कुल विद्यार्थी सङ्ख्याको झन्डै १४ प्रतिशत हो । 

आमा वा बुवामध्ये कुनै एक र दुवै अभिभावक नभएका बालबालिकालाई विद्यालयमा विशेष ख्याल गर्न, उनीहरूको पढाइमा थप सहयोग गर्न र अभिभावकको भूमिकासमेत निर्वाह गर्न गाउँपालिकाले सबै विद्यालयलाई निर्देशन दिएको छ । 

त्यस्ता बालबालिकाको अध्ययन र सिकाइ उपलब्धिमा फरक पर्ने भएकाले गाउँपालिकाले त्यस्ता बालबालिका खोजी गरेर उनीहरूलाई प्रोत्साहन गर्ने, विद्यालयमा सहयोग गर्ने, उनीहरूको निगरानी गर्ने र सकेसम्म माया गरेर अभिभावकत्व प्रदान गर्ने गरेको छ । गाउँपालिकाको शिक्षा शाखाले विगत पाँच वर्षदेखि अभिभावक गुमाएका बालबालिकालक्षित गरेर निराश्रित बालबालिकाको उज्यालो भविष्यका लागि शिक्षकलाई नै सारथि बनाउने अभ्यास गरिरहेको अधिकृत काशीनाथ खनालले जानकारी दिनुभयो ।  

गाउँपालिकाले सङ्कलन गरेको तथ्याङ्क अनुसार अभिभावकविहीन बालबालिकाको सङ्ख्या हरेक वर्ष बढ्दै गएको देखिन्छ । २०७६ सालमा ६१० विद्यार्थी अभिभावकविहीन थिए भने २०७७ मा त्यो सङ्ख्या बढेर ७१७ पुग्यो, २०७८ मा ७६८, २०७९ मा ८६१, २०८० मा ७६८ र २०८१ मा ८१० जना अभिभावकविहीन बालबालिका लक्षित वर्गमा परेका छन् । अभिभावक गुमाएकामध्ये सबैभन्दा धेरै सङ्ख्या आमा गुमाएका बालबालिकाको नै रहेको पाइएको छ ।  

यस वर्ष (२०८१ मा) गाउँपालिकाका विद्यालयमा अध्ययनरत ८१० मध्ये १२२ विद्यार्थीका आमा र बाबु दुवै जना छैनन् भने ६८८ जनाले आमा र बाबुमध्ये एक जनालाई गुमाएका छन् । ७९ बालबालिकाको आमाको मृत्यु भएको हो भने बाँकी २९६ बालबालिकाका आमाले छोडेर गएका कारण अभिभावकविहीन बनेका हुन् । 

पालिकामा ३१३ बालबालिकाले दुई अभिभावकमध्ये बुवा गुमाएका छन् । जसमा १२१ बालबालिकाको बुवाको मृत्यु भएको हो भने १९२ जना बुवा बेखबर भई बेपत्ता भएका कारण बालबालिका अभिभावकविहीन छन् । वैदेशिक रोजगारीमा गएर उत्तै बेपत्ता भएका, दोस्रो विवाह गरेर सम्पर्कमा नरहेका बुवाको सङ्ख्या पनि उल्लेख्य देखिएको गाउँपालिकाले जनाएको छ । मिक्लाजुङका ३८ मध्ये २५ सामुदायिक विद्यालयमा अभिभावक गुमाएका विद्यार्थी अध्ययन गरिरहेको पाइएको छ । 

अभिभावक गुमाएका बालबालिकाको रेखदेख, उनीहरूको निगरानी र उनीहरूलाई अध्ययनमा सहयोग पुग्ने काममा गाउँपालिकाले चासोका साथ ध्यान दिएको छ । ती विद्यार्थीलाई गएको शैक्षिक सत्र २०८१ मा पाँच लाख रुपियाँ छात्रवृत्ति रकम प्रदान गरिएको थियो भने विभिन्न अवसरमा उनीहरूलाई सहयोग गरेको शिक्षा शाखाका प्रमुख खनालले जानकारी दिनुभयो । गाउँपालिकाले त्यस्ता विद्यार्थीलाई ध्यान दिन र बढी माया गर्न शिक्षकलाई निर्देशन नै दिएको छ । 

समाजमा बढ्दो सम्बन्धविच्छेदका घटना, छोराछोरी छोडेर बेपत्ता हुने प्रवृत्ति, दोस्रो विवाह गरेर हिँड्ने जस्ता समस्या बढ्दै जाँदा बालबालिकाले अभिभावक गुमाउन परिरहेको कारुणिक अवस्था गाउँपालिकाको अध्ययनबाट उजागर भएको हो । 

मोरङको लेटाङ नगरपालिकाले पनि यसलाई अनुकरण गरेको पाइएको छ । गाउँपालिकाले शिक्षाको सुधारका लागि पूर्वाधार निर्माण, शिक्षण सिकाइमा सुधार गर्नुका साथै विद्यार्थीको अवस्था विश्लेषण गरेर उनीहरूलाई आवश्यक सहयोग र समन्वय गर्ने काम गरिरहेको गाउँपालिकामा उपाध्यक्ष दिनेश पौडेलले बताउनुभयो ।