• ११ वैशाख २०८२, बिहिबार

सुनसान बन्दै म्याङ्लुङ

blog

तस्बिर :ठाकुर सेनेहाङ तेह्रथुमको सदरमुकाम ऐतिहासिक म्याङ्लुङ बजार ।

ठाकुर सेनेहाङ

तेह्रथुम, वैशाख ११ गते  । तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजारमा पछिल्लो समय चहलपहल घट्दै गएको छ । स्थानीय तहको पुनर्संरचना र प्रशासनिक सेवा प्रवाहमा आएको परिवर्तनपछि म्याङ्लुङ बजार सुनसान जस्तै बन्दै गएको हो ।

सङ्घीय शासनप्रणाली लागु हुनुअघि सरकारी कामकाज, न्यायिक सेवा, स्वास्थ्य, शिक्षा तथा अन्य व्यावसायिक प्रयोजनका लागि जिल्लाबाहिरदेखि मानिस म्याङ्लुङ आउँथे । होटेल, यातायात, खुद्रा पसलदेखि विभिन्न सेवा क्षेत्र उत्तिकै व्यस्त रहन्थे । 

अहिले गाउँ गाउँमै सेवा प्रवाह हुन थालेपछि नागरिकता, जन्मदर्ता, मृत्युदर्ता, जात प्रमाणीकरणलगायत कामका लागि सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । यसले बजारको दैनिक चहलपहलमा प्रत्यक्ष असर पारेको छ । म्याङ्लुङस्थित व्यवसायी पद्मा लिम्बू भन्नुहुन्छ, “पहिले पहिले राम्रो व्यापार हुन्थ्यो । अहिले त पसलमा दिनभर ग्राहक पर्खेर बस्नुपर्ने अवस्था छ ।” 

होटेल व्यवसायमा लामो समयदेखि संलग्न केदार भगत प्रधानाङ्ग भन्नुहुन्छ, “पहिला हप्तामा दुई÷तीन दिन होटेल पूरा भरिन्थ्यो । अहिले त महिनौँसम्म कोठा खाली रहन्छ । घुम्न आउने पनि घटेका छन् ।”

यस्तै मारमा यातायात व्यवसाय पनि परेको छ । म्याङ्लुङदेखि अन्य पालिकातर्फ चल्ने सवारीसाधन पनि सवारी खाली हुने समस्याबाट गुज्रिरहेका छन् । हिले र लालीगुराँस नगरतर्फ गाडी चलाउने चालक रवीन्द्र राई भन्नुहुन्छ “अहिले यात्रु नै छैनन् । गाडी चलाएर तेल खर्च पनि नउठ्ने स्थिति छ ।’’ 

युवा पलायन र बजारको एक्लोपन

स्थानीय युवा रोजगारीको खोजीमा वैदेशिक रोजगारतर्फ लागेका छन् । बाँकी रहेका युवा पनि जिल्लाभित्रै रोजगारीको अवसर नपाएपछि धरान, इटहरी, विराटनगर वा काठमाडौँतर्फ हिँड्दा म्याङ्लुङको सामाजिक र आर्थिक जीवनशैलीमा ठुलो प्रभाव पारेको छ । यद्यपि केही कार्यालय अझै म्याङ्लुङमै व्रिmयाशील छन् । यहाँ जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अदालत, नापी र मालपोत कार्यालय छन् तर यी निकायमा काम गर्ने कर्मचारी पनि प्रायः सेवाग्राहीको न्यून उपस्थितिबाट प्रभावित छन् ।

स्थानीय बुद्धिजीवी विपिन निङ्लेकू भन्नुहुन्छ, “अब म्याङ्लुङले नयाँ सिर्जनात्मक, सांस्कृतिक र पर्यटनसँग जोडिएका कार्यव्रmम ल्याउनु पर्छ । अनि मात्र बजारमा पुनः चहलपहल ल्याउन सकिन्छ ।”

म्याङ्लुङ बजारको पुरानो साख बचाउनका लागि आफू प्रयासरत रहेको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुुम्बाहाङ्फे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “उद्योग, कृषि, पर्यटन र सडकलाई प्राथमिकतामा राखेर काम गरिहेका छौँ ।” नगरपालिकाले स्थानीय कृषि तथा हस्तकला उत्पादनमा जोड, युवालाई व्यवसायमा लगानी, ऐतिहासिक स्थलको संरक्षण, तमोर नदीमा पुल निर्माणलगायतका योजना अगाडि सारेको नगरप्रमुख तुम्बाहाङ्फेको भनाइ छ ।