रमेश विश्वकर्मा
गुल्मी, वैशाख ६ गते । गुल्मीका १६ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । सरकारले राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत देशभर शनिबार र आइतबार दुई दिनसम्म बालबालिकाका लागि भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन गरेको हो ।
दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा छ महिनादेखि पाँच वर्ष उमेरसम्म बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले बताउनुभयो । दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय रहेको यस जिल्लामा १६ हजार ६९९ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
स्वास्थ्य कार्यालय गुल्मीको तथ्याङ्कअनुसार सबैभन्दा बढी रेसुङ्गा नगरपालिकाका दुई हजार २०२ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य राखिएको छ । मुसिकोट नगरपालिकाका एक हजार ९२४ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने बताइएको छ । सबैभन्दा कम कालीगण्डकी गाउँपालिकाका ९९३ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै, मालिकामा एक हजार ३८२, मदानेमा एक हजार ३७३, छत्रकोटमा एक हजार ३२२, गुल्मीदरबारमा एक हजार ३०८, सत्यवतीमा एक हजार २९३, इस्मामा एक हजार २६०, धुर्कोटमा एक हजार २५७, चन्द्रकोटमा एक हजार २५५ र रुरुक्षेत्र गाउँपालिकाका एक हजार १३० बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य राखिएको छ ।
यस जिल्लामा शनिबार ९३ वटै वडामा रहनुभएका ९९७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूले तोकिएका विभिन्न स्थनबाट भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउनु हुने छ । यदि कोहि छुटेको खण्डमा स्वयंसेविकाहरूले आइतबार लक्ष्यित बालबालिकाहरूको घरमै पुगेर भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने जनस्वास्थ्य अधिकृत आचार्यले बताउनुभयो ।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषण जोखिम न्युनीकरण गर्न सरकारले २०५० देखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनसँगै २०५६ देखि जुकाको औषधी खुवाउन थालेको हो । सरकारले प्रत्येक आर्थिक वर्षको कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।
कुनै पनि बालबालिकालाई छुटाउन नहुने भन्दै जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले यसको महत्त्वको प्रचारप्रसारमा व्यापकता दिनुपर्ने बताउनुभयो । भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यक्रममा सकेसम्म आफ्ना बालबालिकालाई बञ्चित गर्न नहुने भन्दै उहाँले १६ महिनासम्म लगाउनुपर्ने नियमित खोप छुटेको भए पाँच वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गर्नुभयो ।