मलाई बादल बनेर
माथि, धेरै माथि उड्न मन छ
किनकि आकाश
शान्त छ, सुनसान ।
न सहरको कोलाहल, न भिड ।
न आँसु, न चीत्कार ।
हावासँग बतासिँदै निस्फिव्रmी उडान भर्न मन छ
आकार बदल्दै ।
मलाई मन बनेर
सीमाहीन कल्पनाको आनन्दमा डुब्न मन छ
मन, नदेखिने मन ।
जसले तिमीलाई मनमनै असीम प्रेम गरूँ,
त्यही प्रेमको आनन्द उठाइरहँदा,
तिमीलाई किञ्चित भेउसम्म नहोस् ।
मलाई चरा बनेर
अनन्त यात्रामा उड्न मन छ
आकाशको निलो रङ ओढेर
बादलको पिङमा मच्चिँदै
भेट्नु छ सपनाहरूलाई ।
मलाई रङ बनेर
तिम्रा मनका क्यानभासमा पोखिन मन छ
तिम्रा हातले समातेका कुचीहरूले
जुन रङ पोत्छन्
तिमी जुन रङ मन पराउँछौ
त्यही रङ हुन मन छ
जब भित्तामा सजाउँछौ
कल्पनाको चित्र,
तब म हरदम नियालिरहन्छु चुपचाप ।
तिमी मुस्कुराउँदा मेरो रङ,
झनै गाढा भएको थाहै पाउन्नौ ।
तर म बादल बनेर उड्न सक्दिनँ
किनकि पाइला पाइलामा तम्तयार छन् हुरीहरू
सपनालाई उडाउन ।
चराहरू पिँजडामा बन्द छन्
रङहरू रङ्गहीन भइसके
मन त यसै पनि
सीमाहीन र अनियन्त्रित रूपमा उडिरहेकै छ
के थाहा म के चाहन्छु ?