• १५ चैत २०८२, आइतबार

घमिरमा विशेषज्ञ डाक्टरसहितको नि:शुल्क स्वास्थ्य शिविर हुँदै

blog

टोपलाल अर्याल
गुल्मी, चैत १५ गते ।
गुल्मीको घमिरमा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । मालिका गाउँपालिका–७ घमिरमा घमिर खेलकुद तथा साँस्कृतिक युवा क्लबले आगामी चैत २१ गते एक दिन वृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

शिविरमा अर्थोपेडिक तथा प्रत्यारोपण विशेषज्ञ डा. रमेश अर्याल, वरिष्ट कन्सल्टेन्ट फिजिसियन गोल्ड मेडलिस्ट विशेषज्ञ डा. सुमन आचार्य, नाक, कान र घाँटी रोग विशेषज्ञ डा. सन्तोष बस्नेत, सुनिल सुनार र मेडिकल अधिकृतहरू विजय पाण्डे, सन्तोष पाण्डे र आशिष भुर्तेलसहितका डाक्टरबाट बिरामीको स्वास्थ्योपचार हुने क्लवका अध्यक्ष सुमन पन्थीले बताउनुभयो ।

शिविरमा इसिजी, भिडियो एक्सरे र नि:शुल्क औषधी वितरण हुनेछ । निःशुल्क स्वास्थ्य शिविरबाट सेवा लिन पायक पर्ने सवैलाई क्लवले अनुरोध गरेको छ । आर्थिक अभाव र विभिन्न कारणले गाउँमै रोग लुकाएर बस्न बाध्य हुनेहरूका लागि गाउँमै विशेषज्ञ डाक्टरसहितको उपस्थितिमा शिविर आयोजना गरिएको पन्थीले बताउनुभयो ।

शिविर मालिका गाउँपालिका ७ घमिर भानुपोखरा देविस्थान माध्यमिक विद्यालय प्रांगणमा हुनेछ । शिविरका लागि आवश्यक सवै व्यावस्थापकीय तयारी क्लवले गरेको घमिर खेलकुद तथा साँस्कृतिक युवा क्लबका सचिव गोविन्द कार्कीले जानकारी दिनुभयो ।